पर्यटन प्रवर्धन गर्न दोर्दीमा एक वडा, एक रात, एक छाक कार्यक्रम सुरु

पर्यटन प्रवर्धन गर्न दोर्दीमा एक वडा, एक रात, एक छाक कार्यक्रम सुरु

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ साउन २३ गते शुक्रबार ०९:३०

यी होमस्टेमा करिब २ सय २५ बढी पर्यटकलाई राख्न सकिने गरी होमस्टेको व्यवस्थापन गरिएको गाउँपालिका रोजगार संयोजक धर्मराज गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार ती गाउँहरूका करिब ५० घरहरूमा होमस्टे सञ्चालन गरिएको छ ।

गाउँपालिकाले वडा नं. ८ को खिन्चोक गाउँबाट एक वडा, एक रात, एक छाक कार्यक्रम सुरुवात गरेको हो ।

नौथर(लमजुङ)– लमजुङको दोर्दी गाउँपालिका पर्यटन प्रवर्धनका लागि जुटेको छ । त्यसका लागि पालिकाले ‘एक वडा, एक रात, एक छाक’ कार्यक्रम सुरु गरेको छ । दोर्दी गाउँपालिका– ८ को खिन्चोक गाउँबाट ‘एक वडा, एक रात, एक छाक’ कार्यक्रम सुरुवात गरेको हो ।
गाउँपालिकाका वडाहरूमा रहेका गाउँलाई पर्यटकीय गाउँ बनाउने उद्देश्यले उक्त कार्यक्रम ल्याएको गाउँपालिकाले जनाएको छ । सो प्रयोजनका लागि आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रममार्फत गाउँपालिकाले चालु आर्थिक वर्षबाट उक्त कार्यक्रम ल्याएको गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताउनु भयो । उहाँका अनुसार उक्त कार्यक्रमका लागि गाउँपालिकाले पर्यटन प्रवद्र्धन कार्यक्रम अन्तरगत बजेट व्यवस्थापन गरेको छ ।
उहाँले भन्नुभयो, ‘गाउँपालिकाले वडा नं. ८ को खिन्चोक गाउँबाट एक वडा, एक रात, एक छाक कार्यक्रम सुरुवात गरेको छ ।’ गाउँपालिकाले होमस्टे प्रवद्र्धनका लागि अन्तरक्रिया कार्यक्रमसहित खिन्चोकबाट एक वडा, एक रात, एक छाक कार्यक्रमको सुरुवात गरेको गाउँपालिका अध्यक्ष अधिकारीले जानकारी दिनु भयो ।
उक्त कार्यक्रम अन्तरगत गाउँपालिकाले कार्यपालिकाको घुम्ती बैठक राख्ने, सामाजिक संघसंस्थाहरूलाई होमस्टे गाउँमा बैठक राख्न तथा घुम्न उत्प्रेरित गर्ने, आन्तरिक तथा बाह्य पर्यटक प्रवर्धनका कार्यक्रमहरू सञ्चालन गर्नेलगायत कार्यक्रम राखिएका गाउँपालिका अध्यक्ष अधिकारीले उल्लेख गर्नुभयो ।
खिन्चोक गाउँमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष अधिकारीले गाउँपालिकामा शुन्य विन्दूबाट पर्यटन प्रवद्र्धनका कार्यक्रमहरू सुरु गरिएको र यसमा गाउँका सबै स्थानीयले सकरात्मक सहयोग गर्न आग्रह गर्नुभयो । उक्त कार्यक्रममा जनै पूर्णिमा मेलाका लागि ऐतिहासिक एवम् पर्यटकीय मेमे पोखरी जाने पर्यटकहरूलाई यात्रा सफलताको शुभकामना ज्ञापन गरिएको थियो ।
पालिका भित्र होमस्टे सञ्चालन सुरु गरिएका वडाहरूमा चालु आर्थिक वर्षबाट एक वडा, एक रात, एक छाक कार्यक्रम लागू हुने गाउँपालिका उपाध्यक्ष विच्छबहादुर घलेले जानकारी दिए । उनका अनुसार दोर्दी गाउँपालिका– २ को सल्लाबोट, वडानं– ३ को श्रीमञ्ज्याङ लामागाउँ, वडानं– ६ को ताँजे, वडानं– ७ को लप्सीबोट दैलुङ, वडानं– ८ को टाप गाउँ र खिन्चोक गाउँ र वडानं– ९ को माझगाउँ गरी कुल सात वटा होमस्टेहरू दर्ता गरी सञ्चालनमा आएका छन् ।
गाउँपालिकाका उपाध्यक्ष घलेले दोर्दी गाउँपालिकाले कृषि, पर्यटन र जलविद्युतका माध्ययमबाट समृद्ध बनाउन सकिने भएकाले कृषि र पर्यटनतर्फ लाग्नुपर्ने बताउनु भयो । उहाँले हिजो परम्परागत रुपमा आफूलाई मात्रै पुग्ने गरी कृषि पेशा अंगाल्दै आएकोमा अव व्यावसायिक हुनुपर्नेमा जोड दिनु भएको थियो ।
यी होमस्टेमा करिब २ सय २५ बढी पर्यटकलाई राख्न सकिने गरी होमस्टेको व्यवस्थापन गरिएको गाउँपालिका रोजगार संयोजक धर्मराज गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार ती गाउँहरूका करिब ५० घरहरूमा होमस्टे सञ्चालन गरिएको छ ।
एक वडा, एक रात, एक छाक कार्यक्रम अन्तरगत होमस्टे गाउँमा होमस्टे सञ्चालन र व्यवस्थापन सम्बन्धी अन्तरक्रिया, आवश्यक भौतिक पूर्वाधार, पाहुनाको स्वागत सत्कार, अर्गानिक खानपान, सरसफाईलगायतका आवश्यक कार्यकाबारेमा छलफल समेत गर्ने र नीति तय गर्र्ने भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले बताउनु भयो । उहाँका अनुसार होमस्टेलाई थप व्यवस्थित, आवश्यक पूर्वाधार, सञ्चालन, तालिम, व्यवस्थापनलगायतमा गाउँपालिका सदैव तयार छ ।
कार्यक्रममा वडाअध्यक्ष नारान घले, ग्रामीण पर्यटन प्रवद्र्धन समिति, बन्सारका अध्यक्ष कन्यालाल घले, अध्यक्ष सिंहबहादुर घले, होमस्टे सञ्चालक तमाया घलेलगायतले होमस्टे सञ्चालनका लागि आवश्यक पूर्वाधारको विकास गर्नुपर्नेमा जोड दिएका थिए ।
सहभागीलाई खिन्चोक बेंसीस्थित शितल आमा समूहका अध्यक्ष मनदेवी घलेको नेतृत्वमा र खिन्चोक गाउँस्थित दोर्दी आमा समूह अध्यक्ष काशीमाया घलेको नेतृत्वमा कार्यक्रमका सहभागीहरूलाई स्वागत सम्मान गरिएको थियो । कार्यक्रममा वडा नं. ९ का वडाअध्यक्ष आशिष तामाङ, कार्यपालिका सदस्य अम्बिका मरहट्ठा, लेखा अधिकृत ताराचन्द्र ढकाल, प्रशासकीय अधिकृत ससबहादुर पुन, गाउँपालिका र वडाका जनप्रतिनिधि, कर्मचारी, आमा समूह, युवा क्लव, बुद्धिजीवीसहित स्थानीयको सहभागिता थियो । कार्यक्रमको सञ्चालन गाउँपालिका रोजगार संयोजक धर्मराज गुरुङले गर्नुभएको थियो ।

प्रकाशित मिति २०८२ श्रावण २३, शुक्रबार ०९:३० गते
हजुरको प्रतिक्रिया