तीन दिने लैङ्गिक तथा अपाङ्गता क्षमता अभिबृद्धि प्रशिक्षणको समापन

तीन दिने लैङ्गिक तथा अपाङ्गता क्षमता अभिबृद्धि प्रशिक्षणको समापन

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ साउन ३१ गते शनिवार ०८:१८

सरकारको लगाम जनताको हातमा छ र हुनुपर्छ भन्ने लोकतान्त्रिक मूल्यमान्यताका जोड दिदै हामीले हाम्रो सहयोगी को हो ? ढुल्मुले को छ ? र विपक्षी को हो ? भन्ने प्रष्ट पहिचान गरेर अघि बढ्न सक्नु पर्छ प्रशिक्षक शर्माले भन्नुभयो ।

लैङ्गिकता र अपाङ्गताका समस्या एवम् चुनौतिहरूको पहिचान गरी पैरवी गर्नु पर्नेमा प्रशिक्षक शर्माको जोड थियो ।

बेसीशहर– लमजुङमा लैङ्गिक तथा अपाङ्गता क्षमता अभिबृद्धि सम्बन्धि यहाँ सञ्चालित तीन दिने प्रशिक्षणको समापन गरिएको छ । आरसिडिसी लमजुङको आयोजना तथा अपाङ्ग संरक्षण समाजको संयोजन तथा वल्डभिजन नेपालको आर्थिक सहयोगमा सो प्रशिक्षणको साउन ३१ गते समापन गरिएको हो ।
लैङ्गिक तथा अपाङ्गताका बारेमा सचेतना जागृत गर्दै पालिका र विद्यालयस्तरमा त्यसको पैरवी गर्ने, गराउने उद्देश्यले आयोजना गरिएको सो प्रशिक्षणमा वल्डभिजन नेपालका लैङ्गिकता, अपाङ्गता तथा सामाजिक समावेशीकरणको प्रमुख आरती शर्माले प्रमुख प्रशिक्षकको भूमिका निभाउनु भएको थियो ।
उहाँले लैंगिकता सम्बन्धि ऐन, अन्तरारष्ट्रिय महासन्धि, मानवअधिकारमुखी विकास कस्तो हुन्छ ? जनवकालत र पैरवी के कसरी गर्ने, पैरवीको पद्दति, प्रक्रिया र चरणहरूका साथ अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धि ऐन– २०७४ र त्यसको संशोधन २०७५ मा केन्द्रीत रहेर प्रशिक्षण दिनु भएको तालिमको संयोजनकर्ता अपाङ्ग अभियानकर्मी एवम् अपाङ्ग संरक्षण समाज लमजुङका अध्यक्ष चन्द्रकान्त पौडेलले बताउनु भयो । उहाँका अनुसार तीन दिनको बसाई अतिनै उत्साहजनक, ज्ञानवद्र्धन एवम् उपलब्धिमूलक रह्यो ।
सो अवसरमा लैंगिकता र अपाङ्गताका समस्या एवम् चुनौतिहरूको पहिचान गरी पैरवी गर्नु पर्नेमा प्रशिक्षक शर्माको जोड थियो । उहाँका अनुसार कहिलेकाहीँ मुद्दाको पहिचान हुन नसक्दा अलमलमा पर्ने अवस्था पनि आउन सक्छ । त्यसैले अभियानकर्मीहरूले त्यस्तो अन्योललाई चिर्न सक्नु पर्छ उहाँले उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘पैरवीका मुख्य तीन टुल्स छन्, ती हुन्– बनेको नीति समयानुकुल परिमार्जन तथा नयाँ नीति निर्माण गर्ने, त्यसको कार्यान्वयन पक्ष र कुनै अव्यवहारिक छ भने त्यसको खारेजी हो ।’ यसमा पैरवीकर्ताहरू प्रष्ट हुन जरुरी छ उहाँले जोड दिनुभयो ।
उहाँले सरकारको लगाम जनताको हातमा छ र हुनुपर्छ भन्ने लोकतान्त्रिक मूल्यमान्यताका जोड दिदै हामीले हाम्रो सहयोगी को हो ? ढुल्मुले को छ ? र विपक्षी को हो ? भन्ने प्रष्ट पहिचान गरेर अघि बढ्न सक्नु पर्छ भन्नुभयो ।
सो अवसरमा सहभागी काशीराज गुरुङले तीन दिने सिकाईको अनुभव राख्दै धेरै कुरा बुझ्ने मौका मिल्यो, अधिकार मागेर पाइन्न भन्ने पनि थप बुझ्न पाइयो, हामीले पैरवीको क्षेत्रमा के कसरी काम गर्नु पर्नेरहेछ भन्ने पनि जान्ने बुझ्ने मौका मिल्यो । कार्यक्रम अति राम्रो छ, यस्ता कार्यक्रमहरू बेलाबखतमा भइरह्यो भने हामीलाई काम गर्न थप सहज हुनेछ उहाँले भन्नुभयो ।
त्यस्तै महिला सहभागी सिर्जना रिमालले कार्यक्रममा बस्दा समय गएको पत्तै भएन, कतिपय कार्यक्रममा निद्रा लाग्थ्यो, यो तीन दिनमा त्यस्तो पनि भएन, राम्रो रह्यो, फेरि फेरि पनि यस्ता कार्यक्रम भइरहुन् भन्नुभयो ।
वल्डभिजनका जिल्ला संयोजक शुक्र गुरुङले व्यवस्थापन गर्नु भएको सो अभिमुखिकरणको आरसिडिसीका वाल स्पोन्सरसिप पत्राचार अधिकृत सुनिता तामाङले सञ्चालन गर्नु भएको थियो ।
सो प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रममा १९ सहभागी रहेकामध्ये सात जना महिला रहेको अपाङ्ग संरक्षण समाजका सचिव सिताराम बसेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति २०८२ श्रावण ३१, शनिबार २०:१८ गते
हजुरको प्रतिक्रिया