बेसीशहर– लमजुङको जिल्ला सदरमुकाम स्थित बेसीशहर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा सेवाका लागि आउनु भएका सुमन अधिकारीलाई दुराडाँडा– बेसीशहर समाजले स्वागत गरेको छ । स्थानीय अथर््ली आमाविको सभाहलमा आयोजिक कार्यक्रमका बीच उहाँलाई समाजका पदाधिकारी तथा सदस्यहरूले भदौ १४ गते स्वागत सत्कार गरेका हुन् ।
प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारीलाई समाजका अध्यक्ष हरिप्रसाद अधिकारी, सचिव विनोद न्यौपाने, सदस्य रमाराज खनिया, वरिष्ठ पत्रकार नवराज पहाडी, अर्थ्ली आमाविका प्रिन्सिपल उद्धव घिमिरे, सहायक प्रिन्सिपल रञ्जिता अधिकारी, सल्लाहकार लक्ष्मीप्रसाद तिमिल्सिना, पूर्वपशुचिकित्सक नारायण कुसुमलगायतले प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारीलाई खदा, टीका, फूलसहितस्वागत सत्कार गर्ने काम गरेका थिए । कार्यक्रमका सबै सहभागीले उहाँलाई स्वागत गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए ।
परिचयात्मक कार्यक्रमसहित स्वागत ग्रहणपछि प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारीले खुशी व्यक्त गर्दै उहाँले लमजुङमा आएको छ दिनमात्र भयो, कार्यालयमा काम गरेको त चार दिनमात्र भयो भन्नुभयो । म विहान ७ बजेदेखि बेलुका ८ बजेसम्म अफिसकै काममा व्यस्त छु, यो छोटो बसाईमा पनि कार्यालयको धेरै कुरा बुझ्ने अवसर पाएँ उहाँले भन्नुभयो ।
उमेरका हिसावले कान्छो अधिकृत अधिकारीले मनाङमा दुई वर्ष, नवलपरासी, डोल्पा तथा काठमार्डौं महानगरपालिकामा समेत काम गरेको अनुभव सँगाली सक्नु भएको छ । उहाँले आन्तरिक प्रशासनलाई चुस्त बनाउन सक्दा लिजा मूल्यांकलनमा आफ्नो पालामा काठमाडौं महानगरपालिका पुरस्कृत भएको समेत स्मरण गर्दै बेसीशहर नगरपालिकामा केही नीतिगत र केही व्यवहारगत कुरामा सुधार गर्नु पर्ने स्थिति देखेको उल्लेख गर्नु भयो । उहाँले भन्नुभयो, ‘मलाई जिम्मेवारी बोध बढी छ, त्यसै अनुसार अघि बढ्ने हो ।’
उहाँले नगरपालिकामा जनप्रतिनिधिको टिम र कर्मचारी टिमसँग बसेर अनुभव आदानप्रदानका काम समेत गरिसकेको उल्लेख गर्दै सबै सकारात्मक नै पाएको छु भन्नुभयो । उहाँले नगरपालिकाको आफ्नो भवन नभएको कुरा अघि नै आइसकेको छ, फोहर व्यवस्थापन नदी किनारमा वातवरणरीय हिसावले अनुपयुक्त हो कि ? भन्ने लागेको छ भन्ने उल्लेख गर्नुभयो । समग्रमा नगरको शिक्षा, स्वास्थ्य, कृषि, पशु, पर्यटन लगायतका सबै क्षेत्रमा सकारात्मक रुपमा अघि बढ्ने सोच रहेको जानकारी दिँदै रचनात्मक सहयोगका लागि उहाँले आग्रह गर्नुभएको थियो ।
करिब २० मिनेटको आफ्नो सम्बोधन क्रममा उहाँले जिल्लाबासी भएर जिल्लामै आएर त्यो पनि सदरमुकामको नगरपालिकामा काम गर्ने मौका पाउनु मेरो लागि अवसर र चुनौती दुवैका रुपमा लिएको छु अधिकारीले भन्नुभयो ।
शक्ति राजनीति मात्र होइन भन्दै लमजुङ शिक्षाको मुहान हुनुका साथै यो क्षेत्रमा अग्रस्थानमा हुँदाहुँदै पनि निजामति क्षेत्रमा जिल्लाको न्यून पहुँच समग्र जिल्लाकै लागि चुनौतीका रुपमा आफूले लिएको र यो क्षेत्रमा युवालाई के कसरी आकर्षण गर्न सकिन्छ भन्नेतर्फ आफ्नो ध्यान गएको छ यस क्षेत्रका केही गर्नु पर्छ उहाँले भन्नुभयो । जिल्लामा औंलामा गणना गर्न सकिने सहसचिव हुनु भनेको लमजुङ जस्तो जिल्लाका लागि लाजमर्दो स्थिति हो, त्यसमा पनि विभिन्न दल(सत्ता, प्रतिपक्ष)का विभिन्न रुचि र स्वार्थ छन्– ती सबैलाई सन्तुलन मिलाएर अघि बढ्नु पर्ने स्थितिको गाम्भिर्यताप्रति आफू जानकार रहेको अधिकारीले उल्लेख गर्नु भयो ।
उहाँले दृढतापूर्वक भन्नुभयो, ‘यतिबेला सरकारप्रति जनताको नैराश्यता बढी छ, घृणा गर्ने, गालीगलौज गर्ने प्रवृत्ती बढ्दो छ, त्यसमा कमी ल्याउने र सकारात्मक सन्देश दिने प्रयास म गर्ने छु ।’ असल नियतकासाथ काम गरौं त्यसो भयो भने परिणाम पनि असल आउने छ, रचनात्मक सुझावको यहाँहरूबाट अपेक्षा गर्दछु उहाँले भन्नुभयो ।
कार्यक्रमकोसमेत अध्यक्षता गर्नु भएका समाजका अध्यक्ष हरिप्रसाद अधिकारीले धन्यवाद ज्ञापन गर्दै चिनजान गर्न र नाता नवीकरण गर्न सहज होस् भन्ने उद्देश्यले कार्यक्रम राखिएको बताउनु भयो । बेसीशहर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा सुमन अधिकारीलाई पाउनु दुराडाँडाको गौरवको विषय हो भन्दै दुराडाँडाको इज्जत र मर्यादा बढाउने गरी काम गर्ने प्रेरणा मिलोस् भन्ने समाजको चाहना छ उहाँले उल्लेख गर्नु भयो ।
त्यसअघि समाजका सचिव विनोद न्यौपानेले अधिकृत अधिकारीको चिनारी दिदै समाजका गतिविधिमा जानकारी दिनु भएको थियो । अधिकारीले खरिदारबाट नोकरी सुरु गरेर पनि नासु हुँदै ३१ वर्षको उमेरमा उपसचिव हुन सक्नु हामी सबैका लागि गौरवको विषय हो न्यौपानेले भन्नुभयो । कार्यक्रम सञ्चालन गर्दै न्यौपानेले कार्यक्रमको औचित्यमा समेत प्रकाश पार्नु भएको थियो ।
सो अवसरमा समाजका कोषाध्यक्ष रञ्जिता अधिकारीले जनविकास माविमा हालै प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नु भएका दीपक खनियालाई समेत समाजकोतर्फबाट विशेष बधाईका साथ स्वागत गर्दै उहाँको कार्यकालको सफलताको कामना गर्नु भएको थियो ।
प्रकाशित मिति २०८२ भाद्र १४, शनिबार १२:१४ गते