काठमाडौं– निर्वाचन आयोगले मनाङको प्रदेश निर्वाचन कार्यक्रमको मनोनयन दर्तालगायतका निर्वाचन कार्यसूचि सार्वजनिक गरेको छ । मनाङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. २ मा सम्वत् आउँदो कार्तिक १७ गतेका लागि उपनिर्वाचनका क्रममा मतदात हुने मिति तय गरिएको छ भने असोज २१ गते मनोनयन दर्ता हुने सूचना भदौ १७ गते जारी गरेको हो ।
सो सूचनामा भनिएको छ आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रम अनुसार २०८२ असोज २१ गते बिहान १० बजेदेखि बेलुका १७ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ । सोही दिन बेलुका १७ बजेदेखि १९ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ ।
उल्लिखित सूचीमा रहेका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि असोज २२ गते बिहान १० बजेदेखि दिउँसो १५ बजेसम्म हुनेछ । सोही दिनको दिउँसो १५ बजेदेखि असोज २३ गते बेलुका १७ बजेसम्ममा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गरी असोज २३ गते बेलुका १७ बजेदेखि १९ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गरिने सूचनामा उल्लेख छ ।
आयोगका प्रवक्ता एवम् सहसचिव नारायणप्रसाद भट्टराईले जारी गर्नु भएको सूचनामा २०८२ असोज २४ गते बिहान १० बजेदेखि दिउँसो १३ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भनिएको छ । यसैगरी, सोही दिन दिउँसो १३ बजेदेखि १५ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो १५ बजेदेखि १८ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको छ । निर्वाचन कार्यक्रम अनुसार मिति २०८२ कार्तिक १७ गते बिहान ७ बजेदेखि बेलुका १७ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएको व्यक्ति उम्मेदवार हुन नपाउने कानूनी व्यवस्था रहेको व्यहोरा समेत सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ आयोगका प्रवक्ता भट्टराईले जानकारी दिनु भएको छ ।
सो निर्वाचन क्षेत्रमा राजीव गुरुङ उर्फ दीपक मनाङे कर्तव्य ज्यान मुद्दामा जेल गएपछि पद निलम्बन भएसँगै सो स्थानमा पद रिक्त भएको हो । दीपक मनाङेले छ वर्षसम्म निर्वाचन लड्न नपाउने भएका छन् ।
प्रकाशित मिति २०८२ भाद्र १९, बिहीबार ०६:४१ गते