मतदाता नामावली संकलनका लागि पाँच दिन थप भयो म्याद : चुनावका लागि ४ अर्ब ९६ करोड बजेटको स्वीकृति

मतदाता नामावली संकलनका लागि पाँच दिन थप भयो म्याद : चुनावका लागि ४ अर्ब ९६ करोड बजेटको स्वीकृति

एजेन्सी

@antaranganews

२०८२ कार्तिक २८ गते शुक्रबार ०९:०१

आयोगका अनुसार एउटा मतदान केन्द्रमा कम्तीमा १४ जना कर्मचारी आवश्यक पर्दछ । आयोगले एक हजार मतदाता बराबर एउटा मतदान केन्द्र व्यवस्था गर्दै आएको छ । मतगणनाका लागि पनि आयोगले नै कर्मचारी व्यवस्थापन गर्ने गर्दछ ।

निर्वाचन आयोगको तर्फबाट ७ अर्ब ८० करोड रूपैयाँको बजेट माग गरिएकोमा ४ अर्ब ९६ करोड रूपैयाँ मात्रै स्वीकृत गरिएको बताइएको हो ।

काठमाडौं– निर्वाचन आयोगले मतदाता नामावली संकलनका लागि ५ दिन म्याद थप गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीसँगको छलफल पछि मतदाता नामावली संकलनको म्याद कार्तिक २८ गते ५ दिन थप गरिएको हो ।
प्रधानमन्त्री, गृहमन्त्रीका साथै सरोकारवालाले मतदाता नामावली दर्ता गर्ने समय थप्न सुझाव दिइरहनु भएको आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताउनु भयो । उहाँका अनुसार मतदाता नामावली दर्ता गर्नेहरूको चाप पनि कायमै रहेको अवस्थामा ५ दिन म्याद थप गरेका हौं ।
यसअघि सरकारले कार्तिक ३० गतेसम्म मतदाता नामावली दर्ताको समय तोकेको थियो । म्याद थपिएसँगै अब मंसिर ५ गतेसम्म मतदाता नामावली दर्ता गर्न सकिने भएको छ । नाम दर्ता गर्न सर्वसाधारणमा उत्साह देखिएको हुँदा म्याद थप गरिएको हो ।
चुनावका लागि ४ अर्ब ९६ करोड बजेटको स्वीकृति :
यसैबीच, फागुन २१ गतेका लागि घोषणा भएको चुनावका लागि अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई ४ अर्ब ९६ करोड रूपैयाँ बजेट दिने निर्णय गरेको छ । निर्वाचन आयोगको तर्फबाट ७ अर्ब ८० करोड रूपैयाँको बजेट माग गरिएकोमा ४ अर्ब ९६ करोड रूपैयाँ मात्रै स्वीकृत गरिएको बताइएको हो ।
स्रोतका अुनसार पछि थप आवश्रुयकता पर्यो भने फेरि छलफल गरिने छ । अघिल्लो निर्वाचनमा भएको खर्चलाई आधार मानेर मन्त्रालयले यो बजेट निकासा गर्न स्वीकृत दिएको अर्थले जनाएको छ । फागुन २१ गते प्रतिनिधि सभाको मात्रै निर्वाचन हुने भएकाले पनि मन्त्रालयले अघिल्लो चुनावहरूको तुलनामा कम बजेट निकासा गर्ने भएको हो ।
आयोगका एक आयुक्तका अनुसार २०७९ सालको निर्वाचनमा माग गरेको बजेट खर्च नभएपछि ३ अर्ब रूपैयाँ फिर्ता गरिएको थियो ।
अर्थमन्त्री रामेश्वर खनालले यसअघि नै निर्वाचन आयोगका आयुक्तहरूसँगको छलफलमा मितव्ययी भएर खर्च गर्न आग्रह गर्नु भएको थियो । सबभन्दा बढी खर्च निर्वाचनमा खटिने कर्मचारीमा हुने आयोगले जनाएको छ । आयोगले निर्वाचन व्यवस्थाका लागि खरिद गर्नुपर्ने सामान र कर्मचारी परिचालनमा हुने खर्च आंकलन गरेर बजेट माग गर्ने गरेको बताएको छ । आयोगका अनुसार एउटा मतदान केन्द्रमा कम्तीमा १४ जना कर्मचारी आवश्यक पर्दछ ।
आयोगले एक हजार मतदाता बराबर एउटा मतदान केन्द्र व्यवस्था गर्दै आएको छ । मतगणनाका लागि पनि आयोगले नै कर्मचारी व्यवस्थापन गर्ने गर्दछ ।
आयोगले फागुन २१ गते निर्वाचन गराउन हिमाली क्षेत्रमा कठिनाइ हुनसक्ने आकलन गरेको छ । त्यस्ता ठाउँमा मौसम खुलेका बेला कर्मचारी पठाउने गरी हेलिकप्टर व्यवस्था गर्ने आयोगको तयारी गरेको जनाएको छ ।

प्रकाशित मिति २०८२ कार्तिक २८, शुक्रबार २१:०१ गते
हजुरको प्रतिक्रिया