जिल्लामा सक्रिय देखिने गरेका चार दलबाट गरियो उम्मेदवारी टुङ्गो

no-image

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ माघ ५ गते सोमबार ११:४८

फरक राजनीतिक धरातल, विचार तथा कार्यशैली र अनुभव बोकेर चुनावी प्रतिस्पर्धामा उत्रिएका यी चार दलका चारै जना उम्मेदवारको क्रियाशीलताले लमजुङको चुनावी राजनीति स्थितिलाई थप पेचिलो बनाएको छ । कतिले त्यस स्थितिलाई जीवन्त र अर्थपूर्ण भन्ने टिप्पणी समेत गरेका छन् । जिल्लाबासीको मन जितेर कसले विजय माला पहिरिने हो । त्यो थाहा पाउन अब करिब डेढ महिना प्रतिक्षा गर्नु पर्ने भएको छ ।

रास्वपाबाट ई. धर्म केसी, नेपाली काँग्रेसबाट गमप्रसाद गुरुङ, नेकपा एमाले पृथ्वीसुब्बा गुरुङ तथा नेपाली कम्युनिस्ट पार्टीले हरिजङ तामाङलाई उम्मेदवारी बनाएको सम्बद्ध पार्टी स्रोतबाट खुल्न आएको छ ।

बेसीशहर(लमजुङ)– आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधी सभाको चुनावका लागि भोलि माघ ६ गते मनोनयन गर्दा गर्ने तय भएको छ । लमजुङको राजनीतिमा यसअघि पनि सक्रिय देखिएका ४ दलले आफ्नो उमेद्वारको टुङ्गो लगाएका छन् । ती हुन् राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली काँग्रेस, नेकपा एमाले र नेपाली कम्प्युनिष्ट पार्टीले आ– आफ्ना उमेदवारको टुङ्गो लगाइसकेका छन् ।
नेपाली जनजनमा नयाँ भरोसाका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट ई. धर्म केसीलाई उमेदवारी दिएको छ । अन्य पुराना भनिने दलहरू नेपाली काँग्रेसबाट गमप्रसाद गुरुङ, नेकपा एमाले पृथ्वीसुब्बा गुरुङ तथा नेपाली कम्युनिस्ट पार्टीले हरिजङ तामाङलाई उम्मेदवारी बनाएको सम्बद्ध पार्टी स्रोतबाट खुल्न आएको छ ।
उनीहरूमा रास्वपाबाट ई. केसी दोस्रो पटक एमालेबाट पृथ्वीसुब्बा गुरुङ नबौं पटक तथा नेपाली काँग्रेसका गुरुङ र नेपाली कम्युनिस्ट पार्टीका तामाङ पहिलो पटक जिल्लाबासी बिच निर्वाचनमा जाने तयारीमा देखिनु भएको छ । केसीको सुन्दरबजार नगरपालिका– ६, खत्रीठाँटीमा स्थायी बसोबास रहेको छ । दक्षिण कोरियाको आजु विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातकोत्तर गर्नु भएका केसीले ऊर्जा, जलवायु, परिवर्तन तथा दिगो विकास विज्ञका रूपमा नेपालसहित ४० देशमा काम गरेको अनुभव सँगाल्नु भएका नेता हुनुहुन्छ ।
पार्टीका संस्थापक जिल्ला सभापति तथा केन्द्रीय संगठन विभाग सदस्य रहेका केसीले लमजुङमा चुनाव लड्ने भनी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनको प्रमुख सल्लाहकारको भूमिकाबाट पुसको अन्तिम साता राजिनामा दिएर चुनावी मैदानमा उत्रनु भएको हो ।
नेपाली काँग्रेसका उम्मेदवार गमप्रसाद गुरुङ पार्टीको तल्लो तहदेखि क्रियाशील रहँदै यो स्थानमा आएका नेताका रुपमा परिचित हुनुहुन्छ । जीवनको पूर्वार्धमा शिक्षक भएता पनि उत्तरार्धमा भने सामाजिक व्यक्तित्वका रुपमा समेत उहाँले आफ्नो नाम स्थापित गर्नु भएको छ । क्ब्होलासोथर गाउँपालिका– ८ को घाम्राङ गाउँका स्थायी बासिन्दा उहाँले गाउँमा बसेर अर्गानिक तरकारी तथा जडिबुटीको उद्यमी तथा अगुवा किसानका रुपमा समेत आफ्नो पहिचान बनाउनु भएको छ ।
उता, नेकपा एमालेबाट निवर्तमान सूचना तथा सञ्चार मन्त्री समेत रहनु भएका पृथ्वीसुब्बा गुरुङले आफूलाई राष्ट्रिय रुपमै स्थापित गर्नु भएको छ । २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा गुरुङले ३४ हजार ९ सय ६९ मत ल्याएर विजय हासिल गर्नु भएको हो । गण्डकी प्रदेश सरकारको पूर्वमुख्यमन्त्रीका रूपमा परिचित गुरुङ त्यसअघि केन्द्रीय सरकारको संस्कृति मन्त्री समेत हुनु भएको थियो । संसदीय निर्वाचन सघीय सांसद निर्वाचनमा नवौं पटक प्रतिस्पर्धा गर्दै गर्नु भएका नेता गुरुङ पार्टी भित्र हार्डलाइनरको छवि बनाउन सफल गुरुङ राजनैतिक यात्रामा सचिव, उपमहासचिव हुँदै हाल उपाध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ । सायद यसैले उहाँ एमाले कार्यकर्ता बीच लोकप्रिय मानिनु हुन्छ । उहाँ २०४३ साल(पञ्चायतकाल)देखि लमजुङको राजनीतिमा सक्रिय रहँदै रहेक पटकको ससदीय राजनीतिमा उम्मेदवार बन्दै आउनु भएको छ । निर्वाचन नतिजा भने सफलता र असफलता बराबर जस्तै रहेको छ ।
उता, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार हरिजङ तामाङ चारमध्ये सबैभन्दा कम उमेर ३६ वर्षीयका राजनीतिककर्मी हुनुहुन्छ । उहाँको राजनीतिक विरासतका रुपमा माओवादी पृष्टभूमि रहेको छ । उहाँले तामाङ घेदुङ गण्डकी प्रदेश अध्यक्ष, जनजाति महासंघ जिल्ला समन्वय समितिको अध्यक्ष तथा जिल्ला खेलकुद विकास समितिको कोषाध्यक्ष (२०६८–२०७१) का रूपमा पनि काम गरेको अनुभव छ ।
त्यसो त तामाङ स्थानीय तह निर्वाचन २०७९ मा बेसीशहर नगरपालिकाको उपप्रमुख पदका उम्मेदवारसमेत हुनुहुन्थ्यो । जिल्ला सदरमुकाम स्थित अस्पतालको व्यवस्थापन समितिको अध्यक्ष (२०७९–२०८२) रहेर उहाँले सफलता श्रेय हासिल गर्नु भएको छ । बेसीशहर नगरपालिका– १० को साँधु म्रोंचे स्थायी घर भई हाल बेसीशहरमै बसोबास गर्दै आउनु भएको छ । पार्टी एकीकरणअघि उहाँ माओवादी केन्द्रको प्रदेश कमिटी सदस्य रहनु भएको थियो ।
स्मरणीय छ, २०७९ को निर्वाचनमा तत्कालीन सत्ता गठबन्धन कांग्रेस–माओवादी केन्द्रका उम्मेदवार माओवादी केन्द्रका देवप्रसाद गुरुङले ३१ हजार ७ सय ८१ मत पाउनु भएको थियो ।
फरक राजनीतिक धरातल, विचार तथा कार्यशैली र अनुभव बोकेर चुनावी प्रतिस्पर्धामा उत्रिएका यी चार दलका चारै जना उम्मेदवारको क्रियाशीलताले लमजुङको चुनावी राजनीति स्थितिलाई थप पेचिलो बनाएको छ । कतिले त्यस स्थितिलाई जीवन्त र अर्थपूर्ण भन्ने टिप्पणी समेत गरेका छन् । जिल्लाबासीको मन जितेर कसले विजय माला पहिरिने हो । त्यो थाहा पाउन अब करिब डेढ महिना प्रतिक्षा गर्नु पर्ने भएको छ ।

प्रकाशित मिति २०८२ माघ ५, सोमबार २३:४८ गते
हजुरको प्रतिक्रिया