काठमाडौं– मुलुकभर मत गणना जारी रहेको छ । फागुन २३ गते विहान ५ः३० बजेसम्म घोषित परिणाम अनुसार २३ स्थानको नतिजा घोषणा घोषणा भएको छ भने १४२ स्थानमा गणना जारी रहेको छ । काठमाडौंको १० वटै सिटमा रास्वपाको क्लिन सिप गर्न सफल भएको छ ।
घोषित २३ स्थानमध्ये १६ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को जीत भएको छ । दोस्रो स्थानमा नेपाली काँग्रेस चार भने तेस्रो स्थानमा नेपाली कम्युनिष्ट पार्टी २ रहेको छ । एमाले चौथो स्थानमा दरिने लक्षण देखिएको छ । उसले एक सिट जितेको छ ।
एमालेको पहिलो जित बाँके निर्वाचन क्षेत्र नम्बर– २ मा भएको हो । सो क्षेत्रमा नेकपा एमालेका मोहम्मद इस्तियाक राई विजयी हुनु भएको हो । आफ्ना निकट प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विवेक कुमार श्रेष्ठलाई ५ हजार ९४६ मतान्तरले हराउँदै उहाँ विजयी हुनु भएको हो । निर्वाचन अधिकृत दीपककुमार दाहालका अनुसार राईले २४ हजार ६२८ मत तथा रास्वपाका श्रेष्ठले १८ हजार ६८२ मत प्राप्त गर्नु भएको छ ।
रास्वपाले जितेका १६ क्षेत्र : काठमाडौंका १० वटै सिट क्लिन सिप
काठमाडौं– १ मा रास्वपा उम्मेदवार रञ्जु दर्शना विजयी भएर रास्वपाको खाता खोल्नु भएको हो । उहाँले १५ हजार ४५५ मत प्राप्त गर्दा निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत ल्याउनु भएको छ ।
काठमाडौं– ९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डिपी अर्याल २९ हजार ६३३ मतान्तरले विजयी हुनु भएको हो । उहाँले ३५ हजार ९३ मत प्राप्त गर्नु भएको छ भने उहाँका निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नानुमैया बास्तोलाले ५ हजार ४६० मत प्राप्त गर्नु भएको छ ।
काठमाडौं– ५ मा रास्वपाका सस्मित पोखरेल ३० हजार ७३७ मतका साथ विजयी हुनु भएको छ । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रदीप पौडेलले ९ हजार १५९ मत प्राप्त गर्नु भएको छ ।
काठमाडौं– ६ मा रास्वपाका उम्मेदवार शिशिर खनाल २७ हजार ७१९ मत प्राप्त गर्दै विजयी हुनु भएको छ । उहाँ यसअघि पनि यही निर्वाचन क्षेत्रबाट विजयी हुनु भएको छ ।
काठमाडौं– ७ मा रास्वपाका गणेश पराजुली २७ हजार ८०५ मतसहित विजयी हुनु भएको छ । उहाँका निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईं ३ हजार ९८२ मत ल्याएर दोस्रो स्थानमा रहनु भयो ।
काठमाडौं– ८ मा रास्वपाका उम्मेदवार विराजभक्त श्रेष्ठ २४ हजार ५९२ मत ल्याउनु भएको छ । यहाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार सुमन सायमीले ३ हजार २१७ मत प्राप्त गर्नु भएको छ ।
काठमाडौं– १० मा रास्वपा उम्मेदवार प्रदीप विष्ट ३७ हजार ४६९ मत पाएर विजयी हुनु भएको छ ।
काठमाडौं जिल्लाका १० वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार निर्वाचित हुने भएका छन् ।
काठमाडौं २ मा रास्वपा उम्मेदवार सुनिल केसी निर्वाचित हुने निश्चितजस्तै छ ।
काठमाडौं– ३ मा राजुनाथ पाण्डे, काठमाडौं– ४ मा पुकार बम, काठमाडौं– ५ मा सस्मित पोखरेल, ६ मा शिशिर खनाल निर्वाचित हुनु भएको हो ।
काठमाडौं ७ मा गणेश पराजुली, ८ मा विराजभक्त श्रेष्ठ निर्वाचित भएका छन् । काठमाडौं ९ मा डोलप्रसाद अर्याल र १० मा प्रदिप विष्ट निर्वाचित भएका छन् ।
उता, धनुषा– ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झा ४३ हजार ९८८ मत ल्याएर विजयी हुनु भएको छ । मोरङ– ४ मा रास्वपाका सन्तोष राजवंशी ४० हजार ८३३ मत प्राप्त गरेर विजयी हुनु भएको छ । उहाँका निकट प्रतिस्पर्धी कांग्रेसका गुरूराज घिमिरेले १२ हजार ८१८ मत मात्रै प्राप्त गर्नु भएको छ ।
यसैगरी, कास्की– ३ मा रास्वपाकी बिना गुरूङ निर्वाचित हुनु भएको छ । गुरूङले ३७ हजार ७५० मत ल्याएर निर्वाचित हुनु भएको निर्वाचन कार्यालय कास्कीले जनाएको छ । सो कार्यालयका अनुसार उहाँका निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरूङले १२ हजार ७८० मत ल्याउनु भएको छ ।
कास्की– २ मा रास्वपा उम्मेदवार उत्तमप्रसाद पौडेल २४ हजार ४१८ मतान्तरका साथ विजयी हुनु भएको हो । उहाँले ३१ हजार ९११ मत प्राप्त गर्नु भएको छ । उहाँका निकट प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रश्मी आचार्यले ७४९३ मत प्राप्त गर्नु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
कांग्रेस ४ क्षेत्रमा विजयी :
१) रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य विजयी भएका छन् । उहाँले १० हजार ६५६ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकट प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वसन्त भट्टले ५५७१ मत ल्याउनु भएको छ ।
२) मनाङमा नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरूङले २ हजार ४१५ मत पाई विजयी हुनुहुन्छ भने निकट प्रतिस्पर्धी नेकपाकी यशोदा सुवेदी गुरुङले ४५४ मत पाउनु भएको छ ।
३) मुस्ताङमा कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली ३ हजार ३०७ मतका साथ विजयी हुनुभयो भने उहाँका निकट प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार इन्द्रधारा डाडु विष्टले १ हजार ८०६ मत र रास्वपाका अधितीयचन्द्र थकालीले ७५९ मत ल्याउनु भएको छ ।
४) दैलेख– १ मा नेपाली कांग्रेसकी बास्ना थापा १२ हजार ३७२ मत ल्याएर निर्वाचित हुनु भएको छ । उहाँका निकट प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का रविन्द्रराज शर्माले ११ हजार ७९६ मत प्राप्त गर्नु भएको छ ।
’प्रचण्ड’ विजयी :
यसैगरी, नेकपाले रूकुममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ विजयी हुनु भएको छ । उहाँ १० हजार २४० मतसहित विजयी हुनु भएको हो ।
यसैगरी, कालिकोटमा नेकपाका महेन्द्रबहादुर शाही ९८६ मतान्तरले विजयी हुनु भएको छ । शाहीले ११ हजार ३३८ मत प्राप्त गर्नु भएको भने उहाँका निकट प्रतिस्पर्धी नेकपा एमालेका नगीन्द्र शाहीले १० हजार ३५२ मत प्राप्त गर्नु भएको छ ।
हालसम्म घोषित नतिजाले रास्वपाले दुई तिहाई बहुमत ल्याउने संभावना बढेको छ ।
प्रकाशित मिति २०८२ फाल्गुन २३, शनिबार ०६:४१ गते