सुन्दरबजार(लमजुङ)– लमजुङको सुन्दरबजारस्थित लमजुङ क्याम्पसको स्वर्ण जयन्ती समारोह २०८२ मा विविध कार्यक्रम भएको छ । प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले कार्यक्रमका साथमा उहाँले ‘लमजुङ क्याम्पस संवाद २०८२ : स्वर्ण जयन्ती विशेषांक’को विमोचनका साथै क्याम्पस परिसरमा ‘स्वर्ण स्तम्भ’को अनावरण चैत २७ गते गर्नुभएको हो ।
प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका मन्त्री डा. गुरुङले लमजुङ क्याम्पसले विगत पाँच दशकदेखि जिल्लाको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको स्मरण गर्नु भयो । उहाँले शिक्षा समाज परिवर्तनको प्रमुख आधार भएको उल्लेख गर्दै लमजुङ क्याम्पसले यही आधारलाई मजबुत बनाउँदै आएको बताउनु भयो । आगामी दिनमा पनि यस्ता शैक्षिक संस्थाहरूमा प्रदेश सरकारको साथ र सहयोग रहने, गुणस्तरीय शिक्षाका लागि पूर्वाधार, प्रविधि र दक्ष जनशक्तिमा लगानी गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रमको अध्यक्ष समेत रहेका सो क्याम्पसका प्रमुख डा. रामकुमार श्रेष्ठले क्याम्पसको स्थापना कालदेखि अहिलेसम्मको यात्राको आरोहअवरोहको स्मरण गर्नु भएको थियो । उहाँले भन्नुभयो, ‘सीमित स्रोत र साधनबाट सुरु भएको यो क्याम्पस आज हजारौं विद्यार्थीको भविष्य निर्माण गर्ने केन्द्र बनेको छ ।’ हामीले विगतका उपलब्धिहरूलाई आधार बनाएर अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्ने र देशका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने प्रतिबद्धताका साथ अघि बढेका छौं उहाँले भन्नुभयो । क्याम्पसको समग्र विकासका लागि सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको पनि उहाँले स्मरण गर्नु भइको थियो ।
उपप्राध्यापक डा. महेश जैसीले स्वागत मन्तव्य व्यक्त गर्दै क्याम्पसको यस क्षेत्रमा शैक्षिक, सामाजिक र सांस्कृतिक योगदानका बारेमा प्रकाश पार्नु भएको थियो । शुभकामना सहित आफ्ना विचार तथा मन्तव्य व्यक्त गर्नुहुनेहरूमा आईएएएसका पूर्व डीन प्रा. सरोजराज मिश्र, सहप्राध्यापक नरेन्द्र बहादुर सिंह, लेखा शाखा प्रमुख भोजराज अधिकारी हुनुहुन्थ्यो ।
त्यसैगरी विद्यार्थी प्रतिनिधि शौरभ उप्रेतीले क्याम्पसले प्रदान गरेको अवसरप्रति कृतज्ञता व्यक्त गर्नु भएको थियो । कर्मचारी संघका सभापति भोजराज अधिकारीले क्याम्पसको प्रगतिको श्रेय सम्पूर्ण कर्मचारी, प्राध्यापक र व्यवस्थापन पक्ष रहेको बताउनुभयो । उहाँले ‘सहकार्य र समर्पणले मात्र संस्थालाई सफल बनाउँछ’ भन्ने उल्लेख गर्नुभयो । सो कार्यक्रममा प्राध्यापक संघका सभापति नरेन्द्र बहादुर सिंहले गुणस्तरीय शिक्षाका लागि ‘अनुसन्धान र नवप्रवर्तन’मा जोड दिनुपर्ने बेला आएको र त्यस्तो कार्यको थालनी गर्न ढिला गर्न नहुने उदाहरण सहित जोड दिनु भएको थियो ।
पूर्व विद्यार्थी रामबहादुर रानाले क्याम्पससँग जोडिएका आफ्ना अनुभव स्मरण गर्दै “यो क्याम्पसले हामीलाई केवल शिक्षा मात्र होइन, समाजप्रतिको जिम्मेवारीको बोध र सेवाका कार्यसमेत सिकाएको बताउनु भयो ।
क्याम्पस व्यवस्थापन समितिका सदस्य एवम् सुन्दरबजार नगरपालिका– ७ का वडाध्यक्ष जयराम रेग्मीले क्याम्पसको विकासमा स्थानीय तहको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले भने, ‘स्थानीय सरकार सधैं शिक्षा क्षेत्रको सुदृढीकरणमा अग्रसर छ ।’
सो अवसरमा ‘लमजुङ संवाद’ नामक पुस्तकको विमोचन गरिएको थियो, जसमा क्याम्पसको ५० वर्षको गौरवमय इतिहास, उपलब्धि र अनुभवहरू समेटिएको छ । साथै क्याम्पस परिसरमा निर्माण गरिएको स्वर्ण स्तम्भको अनावरण गरिएको थियो ।
क्याम्पस प्रमुख रामकुमार श्रेष्ठको अध्यक्षतामा आयोजित समारोहको सञ्चालन सन्तोष अर्यालले गर्नु भएको थियो । उहाँले कार्यक्रम सञ्चालन गर्ने क्रममा क्याम्पस स्थापना तथा शैक्षिक विकासमा योगदान पुर्याउने व्यक्तिहरूको नाम समेत उल्लेख गर्नुभएको थियो ।
स्वर्ण जयन्तीको पावन अवसरमा योगदानकर्ताहरूलाई सम्मान गर्न अर्को कार्यक्रमको आयोजना गर्ने क्याम्पसले जनाएको छ ।
कार्यक्रममा सुन्दरबजार नगरपालिका– ६ का वडा अध्यक्ष दिनेश बाबु कोइराला स्थानीय जनप्रतिनिधिहरू, क्याम्पसका प्राध्यापक कर्मचारीहरू, विद्यार्थीहरूले भाग लिएका थिए ।
प्रकाशित मिति २०८२ चैत्र २९, आईतवार १०:३३ गते