सांसद केसीद्वारा सर्वोदय सेवाश्रमको आरोग्य ग्राम हातामा बृक्षारोपण सहित व्यायामशालाको शिलान्यास

सांसद केसीद्वारा सर्वोदय सेवाश्रमको आरोग्य ग्राम हातामा बृक्षारोपण सहित व्यायामशालाको शिलान्यास

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ साउन ११ गते मङ्गलबार ०१:३२

आश्रमका सञ्चार संयोजक लक्ष्मीप्रसाद मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार बोलवम मेलाको अन्तिम कार्यक्रम साउनको २५ गते हुने र त्यस दिन डा. योगी विकासानन्दको प्रमुख आतिथ्यता रहने र उहाँबाट जीवन दर्शन सम्बन्धि विशेष प्रवचन हुने कार्यक्रम तय भएको छ ।

सांसद केसीले सर्वोदय सेवाले मानवसेवा, आरोग्यता एवम् आध्यात्मको विकास गरी धार्मिक पर्यटन विस्तारका लागि गरेको प्रयास र त्यसका लागि तय लक्ष्य अवश्य पनि प्राप्त गर्ने छ भन्नुभयो ।

धर्मनाथ धाम(लमजुङ)– लमजुङको राइनास नगरपालिका– ८ स्थित सर्वोदय सेवाश्रम, धर्मनाथ धाममा साउनको दोश्रो सोमबारका दिनको कार्यक्रम सांसद धर्म केसीको प्रमुख आतिथ्यता सम्पन्न भयो । सांसद घर्म केसीद्वारा सर्वोदय सेवाश्रमको हातामा निर्माण गर्न लागिएको आरोग्य ग्राम बृक्षारोपण सहित व्यायामशालाको शिलान्यास साउन ११ गते गरिएको हो ।
प्रमुख अतिथि सांसद धर्म केसीले बोलबमको दोस्रो दिनको उद्घाटन बिरुवा रोपेर साथै सर्वोदय आरोग्य खुला व्यायाम शालाको शिलान्यास गर्नु भयो । त्यसअघि यहाँले धर्मनाथ धाम हातामा निर्मित विभिन्न स्थलको अवलोकनका साथमा यज्ञशालामा पुजा अर्चनासमेत गर्नु भएको थियो । उक्त धामको अवलोकन, व्यायामशाला शिलान्यास र बृक्षारोपण पछि आयोजित कार्यक्रममा सांसद केसीले सर्वोदय सेवाले मानवसेवा, आरोग्यता एवम् आध्यात्मको विकास गरी धार्मिक पर्यटन विस्तारका लागि गरेको प्रयास र त्यसका लागि तय लक्ष्य अवश्य पनि प्राप्त गर्ने छ भन्नुभयो । उहाँले त्यस्तो सर्वहितकारी बृहत कार्यक्रमका लागि आफ्नोतर्फबाट पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता सांसद केसीले व्यक्त गर्नुभयो ।
कार्यक्रम सञ्चालन गर्दै आश्रमका संस्थापक अध्यक्ष कृष्णराज ओलियाले आश्रमको स्थापनाकालीन इतिहास, भावि लक्ष्य, धर्मनाथ धाम हातामा निर्मित नक्षत्र वाटिकाका साथमा सञ्चालन गर्न लागिएको आरोग्य ग्राम र त्यसमा आजै शिलान्यास भएको व्यायम शालाका बारेमा जानकारी दिनु भएको थियो । उहाँले व्यायामशाला छाना सहितको तर चारैतिर खुला भएको हुने, त्यसमा व्यायामका लागि १५ वटा मेसिन रहने, तीमध्ये चारवटा लायन्स क्लबकाट उपलब्ध भइसकेको जानकारी दिनुभयो ।
उक्त व्यायामशालाको छत र ढलानको काम सम्पन्न गर्ने चुनौति रहेको भन्दै उहाँले त्यो हुन सकेमा मेसिन त हामी विभिन्न व्यक्तित्वलाई आनुरोध गरी जडान गर्ने योजनामा छौं ओलियाले सुनाउनु भयो । प्राप्त चार व्यायाम मेसिन करिब साढे दुई लाख रुपैयाँका भएको उल्लेख गर्नुभयो ।
उक्त कार्यक्रममा अतिथीहरू राइनास नगरपालिका– १० का वडाध्यक्ष लक्ष्मण गुरुङ, रास्वपा केन्द्रीय प्रवास समितिका सचिव पदमराज पन्थी, वरिष्ठ पत्रकार एवम् संस्कृतिकर्मी नवराज पहाडी, लक्ष्मीनायारण मन्दिरका पुजारी एवम बाल योगी दिनेश बाबा अधिकारी, सांसद केसीका स्वकीय सचिव निर्मल केसी, सामाजिक कार्यकर्ताद्वय सुरेशबाबु अधिकारी र माधव दवाडी, आश्रमका पदाधिकारीहरू, स्थानीय भक्तजन र आश्रमका बाबा आमाहरूको सहभागिता थियो ।
सो दिन आर्थिक सहयोगबाट ३८ हजार ७५० रुपैयाँ आश्रममा नगद र खाद्यान्न तथा फलफूल आम्दानी भएको आश्रमका सञ्चार संयोजक लक्ष्मीप्रसाद मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार बोलवम मेलाका कार्यक्रम अब साउनको १८ गते र २५ गते हुने जानकारी दिनुभयो । २५ गते डा. योगी विकासानन्दको प्रमुख आतिथ्यता र उहाँको जीवन दर्शन सम्बन्धि विशेष प्रवचन हुने उहाँको भनाइ छ ।
सो अवसरमा आरोग्य ग्राम हातामा सांसद केसीले आँपको विरुवा र रास्वपा नेता पन्थीले अम्बाको विरुवा रोपण गर्नु भएको थियो ।
सर्वोदय सेवाश्रमका जेष्ठ सदस्य हरिप्रसाद धितालको अध्यक्षतामा सो कार्यक्रम भएको थियो । फोटो फिचर सहित ।

प्रकाशित मिति २०८३ श्रावण १२, मंगलवार १३:३२ गते
हजुरको प्रतिक्रिया