सुनसरी घटना : ‘सरकारले न्याय दिन्छ, दोषीमाथि कडा कारबाही हुन्छ’ : प्रधानमन्त्री बालेन

सुनसरी घटना : ‘सरकारले न्याय दिन्छ, दोषीमाथि कडा कारबाही हुन्छ’ : प्रधानमन्त्री बालेन

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ साउन १२ गते बुधबार ०१:३१

प्रधानमन्त्रीले सुरक्षा निकायको गोलीबाट नागरिकको ज्यान गएको विषयलाई सामान्य रूपमा लिन नसकिने स्पष्ट पार्दै घटनाको सुरुदेखि नै अनुसन्धान प्रक्रिया अघि बढिसकेको र तथ्यका आधारमा कानुनी कारबाही हुने विश्वास दिलाउनुभएको छ ।

प्रधानमन्त्री कार्यालयले नेपाली समाजले सदियौँदेखि कायम राखेको धार्मिक सहिष्णुता, एकता र सद्भावमा खलल पुग्ने गतिविधिमा नलाग्न, भ्रामक सूचना नफैलाउन र उच्च संयमता अपनाउन सरकारले सबै पक्षलाई आग्रह गरेको छ ।

काठमाडौं– सुनसरीमा भएको दुःखद घटनापछि प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत आफ्नो भावुक धारणा सार्वजनिक गर्दै पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री शाहले मृतकका परिवार, घाइते तथा प्रभावित सबैलाई न्याय, क्षतिपूर्ति र राहत उपलब्ध गराउन सरकारले आफ्नो सम्पूर्ण शक्ति लगाउने बताउँदै नागरिकलाई संयमित रहन, उत्तेजना र प्रतिशोधको भावनाभन्दा शान्ति, कानुनी प्रक्रिया र सामाजिक सद्भावलाई प्राथमिकता दिन आग्रह गर्नुभएको छ ।
उहाँले घटनाले आफू प्रधानमन्त्रीका रूपमा मात्र नभई एक नागरिकका रूपमा पनि अत्यन्त दुःखी भएको उल्लेख गर्दै मृतकप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
प्रधानमन्त्री शाहले समाजमा यस्ता घटनाले भय, त्रास र असुरक्षाको भावना बढाएको उल्लेख गर्दै सरकारले घटनालाई अत्यन्त गम्भीर रूपमा लिएको बताउनुभएको छ । दोषी जोसुकै भए पनि कानुनबमोजिम कारबाही हुने र पीडित परिवारले न्यायको अनुभूति गर्ने गरी सरकारले आवश्यक सबै कदम चाल्ने उहाँको प्रतिबद्धता छ ।
उहाँले सुरक्षा निकायको गोलीबाट नागरिकको ज्यान गएको विषयलाई सामान्य रूपमा लिन नसकिने स्पष्ट पार्दै घटनाको सुरुदेखि नै अनुसन्धान प्रक्रिया अघि बढिसकेको र तथ्यका आधारमा कानुनी कारबाही हुने विश्वास दिलाउनुभएको छ । सरकार सम्पूर्ण घटनाक्रमको गम्भीर समीक्षा गरिरहेको र भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक नीतिगत तथा प्रशासनिक निर्णयहरू गरिने पनि प्रधानमन्त्री शाहले उल्लेख गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय गम्भिर :
यसैबीच, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सुनसरीको देवानगन्जमा भएको घटना र त्यसपछि पूर्वी नेपालका केही जिल्लामा उत्पन्न परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रधानमन्त्री कार्यालयले घटनामा घाइते भएकाहरूको निःशुल्क उपचारको प्रबन्ध मिलाइएको भन्दै घटनाको सत्यतथ्य छानबिन गरी आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने उपायसहित सात दिनभित्र प्रतिवेदन बुझाउन गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको छ र समितिले काम पनि सुरु गरिसकेको छ ।
सरकारले कुनै पनि समस्या वा विवादको समाधान हिंसा र मुठभेडबाट नहुने स्पष्ट पारेको उल्लेख छ । पीडित पक्षलाई उचित क्षतिपूर्ति र दोषीलाई कडा कानुनी कारबाही गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरिएको छ ।
प्रधानमन्त्री कार्यालयले नेपाली समाजले सदियौँदेखि कायम राखेको धार्मिक सहिष्णुता, एकता र सद्भावमा खलल पुग्ने गतिविधिमा नलाग्न, भ्रामक सूचना नफैलाउन र उच्च संयमता अपनाउन सरकारले सबै पक्षलाई आग्रह गरेको छ ।

प्रकाशित मिति २०८३ श्रावण १३, बुधबार १३:३१ गते
हजुरको प्रतिक्रिया