
बेसीशहर– आज बडादशैंको मुख्य दिन अर्थात दुर्गापक्षको विजया दशमी । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवम् समृद्धिको प्रतीक जमराका साथमा फुलेको पातिको फूल समेत कार्तिक ४ गते लगाएर मनाइँदै छ ।
बडादशैँका अवसरमा बनाइएको दशैं घर वा पूजाकोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाउने प्रचलन छ ।
टीका प्रसाद ग्रहण गर्न शु्भ साइत आज बिहान १०ः२६ बजे उत्तम साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । सो समितिका अनुसार आज बिहान ८ बजेर ४९ मिनेटको शुभ साइतमा विधिपूर्वक देवी बिसर्जन गरिन्छ । त्यसैगरी, टीका लगाउनका लागि बिहान १० बजेर २६ मिनेटको समय उत्तम साइतका रूपमा रहेको छ । टीका लगाइदिने व्यक्ति पूर्वतर्फ र टीका लगाइमाग्ने व्यक्ति पश्चिमतर्फ फर्किनुपर्ने समितिले जनाएको छ । विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने मान्यता समेत छ ।
त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ । यसैले आजको दिनलाई विजयको प्रतीकका रूपमा पनि लिइन्छ । आज हजुरबुबा, हजुरआमा, बा, आमा, गुरु पुरोहित, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरूबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।
विजयादशमीमा टीका लगाइदिँदा यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ–
आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।
शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायण ।।
नेपाली अर्थ द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो आयु होस्, अयोध्याका राजा दशरथको जस्तो श्री होस्, दशरथका छोरा रामको जस्तो शत्रु नाश होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वायुको जस्तो गति होस्, दुर्योधनको जस्तो मान होस्, भीष्मको जस्तो शुरता होस्, बलरामको जस्तो बल होस्, कुन्तीका छोरा कर्णको जस्तो दानशीलता होस्, विदुरको जस्तो ज्ञान विज्ञान होस्, नारायणको जस्तो कीर्ति होस् भन्न आशीर्वाद दिने प्रचलन छ ।
महिला तथा छोरीहरू वा छोरी मान्छेका लागि दुर्गा देवीको स्वरूप मानेर निम्न मन्त्रद्वारा आशीर्वाद दिने गरिन्छ ।
जयन्ती, मङ्गला, काली, भद्रकाली, कपालिनी ।
दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा, स्वधा नमोऽस्तुते ।।
बडादशैंको महत्व :
असत्यमाथि सत्यको जीत हुन्छ भन्ने मनो–सामाजिक सन्देश बोकेको यो महान चाडको आफ्नै विशिष्ट महत्व छ । धार्मिक, सामाजिक, आर्थिक, सांस्कृतिक जुनसुकै कोणबाट बडादशैंको महिमा बुझ्न सकिन्छ ।
वास्तवमा, यी तीन कुरा अर्थात् शक्ति, विद्या र धन हाम्रो जीवनका लागि महत्वपूर्ण हुन्छन् । वर्षदिनमा आफन्त, इष्टमित्रबीच सौहाद्रपूर्ण सम्बन्ध स्थापित गर्ने मेलो हो यो । दशैंले ठूलाबडा, मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने सिकाउँछ । यतिबेला दुर्गा पूजा गरिन्छ । दुर्गा शक्तिकी प्रतिक । हामीकहाँ तिहारमा लक्ष्मी अर्थात् धनकी देवी, सरस्वती पूजा अर्थात् विद्याकी देवी र दशैंमा दुर्गाको पूजा गरिन्छ ।
विजयादशमीको धार्मिक तथा पौराणिक पक्षलाई मार्कण्डेय पुराणअन्तर्गत ‘देवीमाहात्म्य’मा विशेष रूपमा वर्णन उल्लेख छ । जहाँ चण्डीपाठ, देवीको महिमा, दानवी शक्तिविरुद्धको सङ्घर्ष र धर्मको रक्षासम्बन्धी प्रसङ्ग तथा देवी दुर्गाको विजयको स्मरण छ । नवरात्रभर गरिएका धार्मिक साधनाको समापन गर्दै घरका ज्येष्ठ सदस्यहरूसँग टीका र जमरा लगाई आशीर्वाद लिने परम्परा यसै वस्तुगत तथ्यमा आधारित छ ।
बडादसैँमा लगाइने रातो टीकालाई शक्ति, विजय, सौभाग्य र मङ्गलको प्रतीक मानिन्छ । जमराले उर्वरता, जीवनशक्ति र समृद्धिको सङ्केत गर्दछ । यस दिन जलले अभिषेक गरी भगवतीलाई चढाइएको रातो तथा सेतो वस्त्रलाई प्रसादको रूपमा घाँटीमा लगाउने परम्परासमेत रहेको छ ।
बडादशैंको विधि :
नेपालीहरूको ठूलो चाड हो बडादशैं । माता दुर्गाको उपासना र पूजा अर्चना गरी यो पर्व मनाउने गरिन्छ । घटस्थापनादेखि सुरु हुने दशैं कोजाग्रत पूणिर्माका दिनमा समापन हुन्छ । घटस्थापनादेखि पहिलो नौ दिनसम्म नवरात्री पूजा गरिन्छ ।
दशमी अर्थात् विजयादशमीको दिन आफन्त, इष्टमित्र भेला भएर दुर्गा पूजा गर्ने । मान्यजन तथा आफूभन्दा ठूलाबाट टीका थाप्ने, आशिर्वाद लिने गरिन्छ ।
बडादशैंको टीका :
बडादशैंमा मान्यजनबाट आशीर्वाद लिन निधारमा टीका थाप्ने गरिन्छ । रातो र सेतो अक्षताको टीका लगाउने चलन छ । टीकालाई चेतनासँग जोडेर पनि हेर्ने गरिन्छ । साथै, रातो र सेतो शान्ति एवम् समृद्धिका प्रतीक हुन् । यसले मस्तिष्क, मन र बिचारलाई शुद्ध तुल्याउने गर्दछ ।
बडादशैंको जमरा :
बडादशैंमा टीका लगाइदिने र जमरा राखिदिने चलन छ । जमरा घटस्थापनाको दिन राखिन्छ । यसको आफ्नै विधि छ । कतिवय स्थानमा फुलेको पातिको फूल समेत जमरासँगै राखेर लगाइदिने गरिन्छ । त्यसले पनि शोभा बढाउने काम पनि गर्दछ ।
पाति यस्तो वनस्पति हो, जो मुन्टो चुडेर वा आधा ढाडमा काटेर पानी चिस्यान भएको स्थानमा सार्ने काम गर्यो भने सहजै त्यो सर्छ अर्थात फैलन्छ । आफ्ना सन्तान तथा अनुजहरू पनि पातिझैं फैलिन सकुन भन्ने सन्देश पनि त्यसमा रहेको हुन्छ भन्ने अग्रज व्यक्तित्वहरूले सुनाउने गर्नु हु्न्छ ।
जमरा दुई प्रकारले राख्ने प्रचलन छ । यौटा घटस्थापनाका दिनमा स्थापना गरेको घट(घडा)को स्थानमा राखिएको र अर्को खोपा वा अध्याँरो कुनामा राखिएको । शास्त्रीय मत अनुसार घटसँगै राखेको जमरा लगाउनु अति उत्तम मानिन्छ ।
अँध्यारो स्थान, जहाँ सूर्यको प्रकाश आउँदैन, त्यहाँ शुद्ध माटोमा जौ छरेर जमरा उमारिन्छ । धर्मशास्त्रहरुले यसलाई समृद्धिको प्रतीक मानिएका छन् । खासमा भन्ने हो भने जमरा पौष्टिक खाद्यपदार्थ हो । यसमा कार्बोहाइड्रेड, प्रोटिन र भिटामिनहरू पाइन्छ । जमरा वा यसको रस निकै स्वास्थ्य वर्द्धक मानिन्छ ।
बडादशैंको पिङ :
मान्यता के छ भने बडादशैंमा एक पटक भए पनि जमिन छाड्नुपर्छ भन्ने मान्यता रहेको छ । यही मान्यतालाई शिरोधर गर्दै गाउँ छिमेकमा पिङ थाप्ने र त्यसमा बसेर मच्चिने गरिन्छ । यसले बडादशैंमा रमाउने बहाना दिएको छ । सबै भेला भएर पिङमा मच्चिँदा रमाइलो हुन्छ । पिङ खेल्नेहरू सबै खुशी हुने गर्दछन् ।
यसैगरी बडादशैंमा चङ्गा पनि उडाने काम गरिन्छ । किनभने, यतिबेला आकाश खुला हुन्छ । न झरी, न जाडो । सन्तुलित मौसममा चङ्गा उडाउनुको मज्जा(आनन्द) नै छुटै हुन्छ । त्यसो त खेतीबालीका लागि हामीलाई पानी पुग्यो भन्ने सन्देश भगवान इन्द्र कहाँ पुर्याउन चङ्गा उडाइन्छ भन्ने धार्मिक मान्यता छ ।
तर अहिले धार्मिक महत्व भन्दा पनि चङ्गा मनोरञ्जनका लागि उडाउने भन्ने मानसिकता बन्दै छ र यो मनोरञ्जनको साधन बनेको छ ।

प्रकाशित मिति २०८३ कार्तिक ५, बुधबार ०७:०७ गते