
मिप्रा(लमजुङ)– स्थानीय कन्यादेवी क्लबको २०औँ वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगितामा सम्पन्न भएको छ । उक्त प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ उपाधि जित्दै छापा टोलीले दोहोरो सफलता रामनवमीको दिन कार्तिक ३ गते हात पारेको छ ।
मर्स्याङ्दी गाउँपालिकाको प्रवद्र्धन तथा वडा नं. ४ को कार्यालयको सह–प्रवद्र्धनमा आयोजित प्रतियोगितामा पुरुषतर्फ २४ र महिलातर्फ चार टोली सहभागी थिए । लमजुङको मर्स्याङ्दी गाउँपालिका– ४, मिप्रा स्थित आफ्नै खेल मैदानमा सञ्चालित २०औँ कन्यादेवी कप–२०८३ अन्तर्गत पुरुष तथा महिला फुटबल प्रतियोगिताको उपाधि अन्नपूर्ण युवा क्लब, छापाले जितेको हो ।
प्रतियोगिताको पुरुषतर्फको फाइनलमा अन्नपूर्ण युवा क्लब, छापाले चन्द्रमा युवा क्लब, थाकनलाई ५–० गोल अन्तरले पराजित गर्दै उपाधि जित्न सफल भएको हो । त्यस्तै, महिलातर्फको फाइनलमा आयोजक कन्यादेवी क्लबलाई ३–० गोल अन्तरले हराउँदै अन्नपूर्ण युवा क्लब, छापा च्याम्पियन बनेको हो ।
पुरुषतर्फको विजेता अन्नपूर्ण युवा क्लब, छापाले नगद एक लाख १५ हजार १५ रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता चन्द्रमा युवा क्लब, थाकनले नगद ७५ हजार ७५ रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
त्यसैगरी, महिलातर्फको विजेता अन्नपूर्ण युवा क्लब, छापाले नगद २० हजार २० रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता आयोजक कन्यादेवी क्लबले नगद १२ हजार १२ रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा पुरुषतर्फ कालिका युवा क्लब, आठखेतका मनोज विक सर्वाधिक गोलकर्ता बनेका छन् । उनले खेल अवधिमा आठ गोल गर्न सफल भएका थिए । आदित खनाल उत्कृष्ट गोलरक्षक घोषित हुँदा अन्नपूर्ण युवा क्लब, छापाका पुष्कर गुरुङ उत्कृष्ट खेलाडी चुनिए । व्यक्तिगत विधातर्फ उत्कृष्ट घोषित पुरुष खेलाडीले जनही दुई हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको सो प्रतियोगिताका खेल संयोजक प्रदीप गुरुङले जानकारी दिनु भयो ।
उहाँका अनुसार महिलातर्फ अन्नपूर्ण युवा क्लब, छापाकी सुष्मा गुरुङ सर्वाधिक गोलकर्ता बनिन् । उनले खेल अवधिभर पाँच गोल गरेकी थिइन् । रोशनी गुरुङ उत्कृष्ट खेलाडी घोषित भइन् । आयोजक कन्यादेवी क्लबकी युविना गुरुङ उत्कृष्ट गोलरक्षक बन्न सफल भए । व्यक्तिगत विधातर्फ उत्कृष्ट घोषित महिला खेलाडीले जनही एक हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
उक्त प्रतियोगिताका विजेता टिम तथा खेलाडीहरूलाई प्रतियोगिताको समापन कार्यक्रमका प्रमुख अतिथि मर्स्याङ्दी गाउँपालिका– ४ का वडाध्यक्ष बलबहादुर गुरुङ, क्लबका अध्यक्ष सुब्बा गुरुङ तथा पूर्वअध्यक्ष राजकुमार गुरुङलगायतले पुरस्कार र प्रमाणपत्र वितरण गर्नु भयो ।
प्रतियोगितालाई निष्पक्ष, मर्यादित र विवादरहित रूपमा सम्पन्न गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै आयोजकले एन्फा (ANFA) रेफ्री निश्चल गुरुङलाई विशेष धन्यवाद दिएको छ । त्यस्तै, खेलहरूको प्रत्यक्ष प्रसारणमार्फत प्रतियोगितालाई दर्शकमाझ पुर्याएको भन्दै लमजुङ स्पोट्र्सका सञ्चालक तथा कमेन्टेटर सुनिल खनालप्रति पनि आभार व्यक्त गरिएको पनि सो प्रतियोगिताका खेल संयोजक प्रदीप गुरुङले बताउनु भयो ।
उहाँका अनुसार प्रतियोगिता सफल बनाउन सहयोग गर्ने विभिन्न संघसंस्था, सहयोगदाता, सहभागी क्लब, खेलाडी, खेलप्रेमी, स्थानीयवासी, स्वयंसेवक तथा शुभेच्छुकप्रति आयोजक कन्यादेवी क्लबले धन्यवाद व्यक्त गरेको छ ।
स्थानीयस्तरमा खेलकुदको विकास, युवा प्रतिभाको पहिचान तथा प्रवद्र्धन, खेल संस्कृतिको विकास र मिप्रा गाउँको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको आयोजक क्लबको भनाइ छ । खेलकुदका माध्यमबाट स्थानीय युवालाई प्रोत्साहित गर्दै मिप्रालाई पर्यटकीय गन्तव्यका रूपमा चिनाउने अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने क्लबको प्रतिबद्धता रहेको खेल संयोजक प्रदिप गुरुङले बताउनुभयो ।
उहाँका अनुसार ‘खेलको विकासमा युवाहरूको सहभागिता, पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता, पर्यटकीय गाउँ मिप्रा जाऔँ, फुटबल प्रतियोगितामा रमाऔँ ।’ भन्ने मूल नाराका साथ आयोजना गरिएको थियो ।


प्रकाशित मिति २०८३ कार्तिक ५, बुधबार ०७:५९ गते