कांग्रेसले स्थानीय निर्वाचनका लागि उम्मेदवारहरूको प्रारम्भिक प्रक्रिया पुस–माघभित्रै टुंग्याउछ : सभापति थापा

कांग्रेसले स्थानीय निर्वाचनका लागि उम्मेदवारहरूको प्रारम्भिक प्रक्रिया पुस–माघभित्रै टुंग्याउछ : सभापति थापा

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ कार्तिक ९ गते सोमबार ०५:२६

थापाले भन्नुभयो, ‘यो पटक हामी पहिलाको जस्तो निर्वाचनका बेलामा दुई दिन अगाडि, पाँच दिन अगाडि, दुई घण्टा अगाडि टिकट लिने, टिकट बाँड्ने, टिकट खोस्ने, यताबाट लिने, उताबाट दिने, यी केही पनि कुराहरू हुँदैन, उम्मेदवारहरूको प्रारम्भिक काम पुस–माघमा टुंग्याउँछौं ।’

पार्टीले गुमाएको विश्वास पुनःस्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्नेमा नेपाली कांग्रेसका सभापति थापाको जोड थियो ।

स्याङ्जा– नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोटको प्रारम्भिक प्रक्रिया पुस–माघभित्रै टुंग्याउने बताउनु भएको छ । उहाँले मंसिरलाई जागरण अभियान र संगठन सुदृढीकरणको समय बनाउने तथा पुस र माघमा चुनाव केन्द्रित गतिविधि गर्ने योजना यहाँको पुतलीबजारमा आज आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा कार्तिक ९ गते सुनाउनु भएको हो ।
उहाँले निर्वाचनको मुखमा टिकट वितरण गर्ने पुरानो प्रवृत्ति अन्त्य गर्दै तल्लो तहका कार्यकर्ताको मतदानबाट उम्मेदवारको प्रारम्भिक सूची तयार गरिने बताउनु भएको हो । थापाले तल्लो तहका कार्यकर्ताको ‘डिजिटल’ मतदानबाट प्रारम्भिक सूची बनाइने र त्यसपछि विभिन्न तहबाट अन्तिम उम्मेदवार तय गरिने जानकारी दिनु भयो ।
विगतका निर्वाचनको स्मरण गर्दै थापाले भन्नुभयो, ‘यो पटक हामी पहिलाको जस्तो निर्वाचनका बेलामा दुई दिन अगाडि, पाँच दिन अगाडि, दुई घण्टा अगाडि टिकट लिने, टिकट बाँड्ने, टिकट खोस्ने, यताबाट लिने, उताबाट दिने, यी केही पनि कुराहरू हुँदैन, उम्मेदवारहरूको प्रारम्भिक काम पुस–माघमा टुंग्याउँछौं ।’
‘डिजिटल’ मतदानबाट उम्मेदवारको प्रारम्भिक सूची तयार गरिने, त्यो सूची तयार गरेपछि विभिन्न तह बसेर फाइनल उम्मेदवार बनाउने छौं सभापति थापाले भन्नुभयो । उहाँका अनुसार उम्मेदवार बनाउने कार्य हामीले दुई–तीन महिना अगाडि टुंग्याउनुपर्छ ।’
सम्पन्न १५औं महाधिवेशनलाई पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाका रूपमा लिनुपर्ने, जिम्मेवारी पाउने वा नपाउने विषयलाई हारजितका रूपमा बुझ्न नहुने उल्लेख गर्दै पार्टीभित्र सबैको समान हैसियत रहेकाले एकताबद्ध भएर अघि बढ्नुपर्ने उहाँको कथन थियो । पार्टीभित्रको प्रतिस्पर्धा सकिएकाले अब कांग्रेस एकढिक्का भएर बाहिर हेर्नुपर्ने सभापति थापाको जोड थियो । उहाँले भन्नुभयो, ‘हामीले गुमाएको मत होइन, विश्वास हो । विश्वासलाई पुनःस्थापित गरेपछि मत विश्वासलाई पछ्याउँदै आउँछ, विश्वास भएको बेलामा मत आफैँ आउँछ, विश्वास गुमायो भने मत आफैँ गुम्छ ।’ त्यसैले पार्टीले गुमाएको विश्वास पुनःस्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्नेमा नेपाली कांग्रेसका सभापति थापाको जोड थियो ।
सभापति थापाले मंसिर महिनालाई पार्टीको जागरण अभियानका रूपमा अघि बढाउने योजना सुनाउँदै भन्नुभयो, ‘केन्द्रीय कार्यसमितिको आगामी बैठकबाट कार्यक्रम तय गरी कार्यकर्तामाझ पुग्ने र पार्टीभित्रको सम्बन्धलाई थप सुदृढ बनाइने छ ।’

प्रकाशित मिति २०८३ कार्तिक १०, सोमबार १७:२६ गते
हजुरको प्रतिक्रिया