सांसद खगेन्द्र सुनार अडियो प्रकरणमा इन्कारी जवाफ : विषयान्तरको प्रयास त हैन ?

सांसद खगेन्द्र सुनार अडियो प्रकरणमा इन्कारी जवाफ : विषयान्तरको प्रयास त हैन ?

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ कार्तिक ९ गते सोमबार ०६:३३

खासगरी, संसाद सुनारले प्रहरीको उच्च तहमा पनि भ्रष्टाचार हुने गरेको छ र त्यो छानविन हुनुपर्छ भन्ने जिकिर संसदको लेखा समिति लगायतका स्थानमा गर्नु भएपछि यस्तो प्रकरण बाहिर आएको हो । सांसद सुनारमाथि प्रहार गरी प्रहरी नेतृत्वउपर उहाँबाट उठाइएको प्रश्न झिसमिस बनाइने त हैन ? र विषयान्तरको प्रयास त हैन ? भन्ने आशंका बढेको छ ।

विवाद बढेपछि सुनारमाथि अनुसन्धान गर्न पार्टीबाट पत्र प्राप्त भएपछि अनुशासन आयोगले छानबिन समिति गठन गरेको थियो । सो समितिले उक्त प्रकरणमा अनुसन्धानको कार्य गरिरहेको छ ।

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा सांसद खगेन्द्र सुनारले महिला हिंसा, धम्की र शंकास्पद आर्थिक कारोबारसम्बन्धी आरोपमा अनुसन्धानका क्रममा सोधिएको स्पष्टिकरणमा आफूमाथि लागेका आरोप अस्वीकार गर्नु भएको छ । उहाँले पार्टीको छानविन समितिलाई इन्कारी जवाफ कार्तिक ८ गते बुझाउनु भएको हो ।
सांसद सुनारले आफूमाथि उठेका प्रश्नको लिखित रूपमा इन्कारी जवाफ पठाउनु भएको अनुशासन आयोगले गठन गरेको समितिले जानकारी दिएको हो । उहाँले आफ्नो नाममा सार्वजनिक अडियो आफ्नो नभएको र आफूविरुद्ध षड्यन्त्र गरिएको दाबी गर्नु भएको छ ।
अब रास्वपाको अनुशासन आयोगले अडियोको प्राविधिक परीक्षणसहित थप तथ्य र प्रमाण जुटाउने थप अनुसन्धान गर्ने जनाएको छ । विवाद बढेपछि सुनारमाथि अनुसन्धान गर्न पार्टीबाट पत्र प्राप्त भएपछि अनुशासन आयोगले छानबिन समिति गठन गरेको थियो ।
समितिले सुनारलाई पत्र पठाएर सार्वजनिक रूपमा उठेका प्रश्न र उनीमाथि लागेका आरोपबारे लिखित स्पष्टीकरण मागेको थियो। जवाफमा सुनारले आरोप अस्वीकार गर्नु भएको हो । त्यसपछि समितिले अब थप प्रमाण खोज्ने र अनुसन्धानलाई गहिराइमा लैजाने तयारी गरेको जनाएको छ ।
सांसद सुनारले उक्त सामग्री कृत्रिम बुद्धिमत्ता (एआई) लगायतका प्रविधि प्रयोग गरेर तयार पारिएको दाबी गर्नु भएको छ । प्रहरीमा भएको भ्रष्टाचारको मुद्दा उठाएपछि आफूलाई निरन्तर निशाना बनाइएको उनको जिकिर छ । उहाँले सामाजिक सञ्जालमा सार्वजनिक भएका आरोप झुटा भएको र प्रविधिको प्रयोग गरेर आफूविरुद्ध प्रचार गरिएको दाबी गर्नु भएको छ ।
विवाद सार्वजनिक भएपछि रास्वपाका महामन्त्री विपिन आचार्यले विषय संवेदनशील भएकाले अनुसन्धान आवश्यक रहेको भन्दै अनुशासन आयोगलाई छानबिनको जिम्मेवारी दिनु भएको थियो ।
महामन्त्री आचार्यले जारी गरेको विज्ञप्तिमा सञ्चारमाध्यममार्फत सार्वजनिक भएका आरोपमा महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनजस्ता विषयलाई गम्भीर र संवेदनशील रूपमा लिइएको उल्लेख थियो ।
सुनारमाथि छानबिन गर्न अनुशासन आयोगले उपप्रमुख एवं प्रवक्ता हरिचन्द्र भट्टराईको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको छ । समितिमा रामचन्द्र कार्की, सुशीला सिम्खडा, सन्तोष आचार्य, सन्तोष विशुंके र उपेन्द्र नन्दन तिमिल्सिना सदस्य हुनुहुन्छ ।
गत असोज २६ गते जनआस्थाले ‘रास्वपा सांसद खगेन्द्र सुनार अर्को विवादमा पूर्वमन्त्रीलाई मार्ने धम्की, पैसा असुली (अडियो र बैंकिङ कारोबारको विवरणसहित)’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । उक्त समाचारसँगै सार्वजनिक अडियोमा सुनारले एक महिलालाई अश्लील गाली गरेको, पैसा मागेको र मार्ने धम्की दिएको सुनिने दाबी गरिएको थियो ।
समाचारमा सुनारले एक महिलालाई विवाह गर्ने प्रलोभनमा पारी अश्लील भिडियो तथा तस्बिर बनाएर ब्ल्याकमेल गरेको आरोपसमेत उल्लेख गरिएको थियो । यी आरोपमाथि अनुसन्धान भइरहेको छ । सुनारले भने सार्वजनिक अडियो आफ्नो नभएको र आफूविरुद्ध षड्यन्त्र भएको दाबी गर्नु भएको छ । ती आरोपहरू स्वतन्त्र रूपमा पुष्टि हुन सककेका छैनन् ।
समितिले जनआस्थाको कार्यालय पुगेर सुनारको भनिएको अडियोसहितका प्रमाणसमेत बुझेको थियो । अब अडियोको प्राविधिक परीक्षण, अन्य प्रमाणको खोजी र प्राप्त तथ्यहरूको विश्लेषणपछि समितिले आफ्नो रायसहितको प्रतिवेदन केन्द्रीय अनुशासन आयोगलाई बुझाउनेछ ।
अब छानबिनको मुख्य प्रश्न अडियोमा सुनिएको आवाज कसको हो र त्यसको प्रामाणिकता कसरी पुष्टि हुन्छ भन्ने रहेको छ । प्राविधिक परीक्षण, उपलब्ध प्रमाण र थप सोधपुछपछि मात्रै अन्तिम निष्कर्ष आउनेछ ।
प्रतिवेदन प्राप्त भएपछि आयोगले समग्र विषयको अध्ययन गरी निष्कर्ष निकाल्नेछ । त्यसपछि मात्रै सुनारमाथि पार्टीले कस्तो कारबाही गर्ने या नगर्ने टुंगो लाग्नेछ ।
खासगरी, संसाद सुनारले प्रहरीको उच्च तहमा पनि भ्रष्टाचार हुने गरेको छ र त्यो छानविन हुनुपर्छ भन्ने जिकिर संसदको लेखा समिति लगायतका स्थानमा गर्नु भएपछि यस्तो प्रकरण बाहिर आएको हो । सांसद सुनारमाथि प्रहार गरी प्रहरी नेतृत्वउपर उहाँबाट उठाइएको प्रश्न झिसमिस बनाइने त हैन ? भन्ने आशंका बढेको छ । त्यसैले यो विषयान्तरको प्रयास त हैन ? भन्ने प्रश्न समेत उठेको छ ।
सुनारको लिखित इन्कारी र महिलाको अन्तर्वार्तामा व्यक्त विचारका कारण अनुसन्धान थप जटिल बनेको समितिको भनाइ छ । यद्यपि, प्राविधिक परीक्षणसहित आवश्यक प्रक्रिया पूरा गरेर छानबिनलाई छिट्टै टुंग्याउने प्रयास भइरहेको जनाइएको छ । परीक्षणमा लाग्ने समयका कारण अनुसन्धान पूरा हुन केही ढिलाइ हुन सक्ने संयोजक भट्टराईले बताउनु भएको छ ।

प्रकाशित मिति २०८३ कार्तिक १०, सोमबार १८:३३ गते
हजुरको प्रतिक्रिया