
वीरेन्द्रनगर(सुर्खेत)– कश्यप गोत्रीय अधिकारी वंशको पुर्ख्यौली थलो यहाँ कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक र कर्णाली भेला ऐतिहासिक निर्णय गर्दै भव्य रुपमा सम्पन्न भएको छ । दुई दिवसीय उक्त कार्यक्रम पुस ९ गते सम्पन्न भएको हो । पहिलो दिन पूर्ण बैठक र दोस्रो दिन कर्णाली भेला कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान सुर्खेत शाखाको आतिथ्यतामा गरिएको हो । भेलालाई सम्बोधन गर्दै कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानका अध्यक्ष नरेन्द्रकुमार अधिकारीले पुर्ख्यौली थलोमा ऐतिहासिक कार्यक्रम पहिलो पटक आयोजना गर्न सकेकोमा प्रतिष्ठानका कर्णाली प्रदेश संयोजक एवम् केन्द्रीय उपाध्यक्ष, आतिथ्य शाखाका अध्यक्ष सहित सबै सहभागीलाई बधाई दिनु भयो ।
उहाँले केन्द्रीय समितिले अर्जुन दृष्टिका साथ वंशावलीको दोस्रो संस्करण प्रकाशन अन्तिम चरणमा पुगेको, त्यसमा पहिलो संस्करणका त्रुटी सच्याउनुका साथै छुट भएका वन्धुहरुको विवरण समावेश गरिने र त्यसपछि थप भएका नयाँ वंशजहरुको विवरण समेत समावेश गरिने भएको जानकारी दिनुभयो । यसअघि महिलाको विवरण नराखिएकोमा यो संस्करणमा त्यो विवरण समेत समावेश गरी वंशावली ऐतिहासिक दस्तावेजका रुपमा त्यसको प्रशासन हुने भएको हुँदा यो कार्य सबै वन्धुहरुका लागि गौरव बोध हुनेछ उहाँले प्रष्ट्याउनुभयो । यस्तो अर्को दस्तावेज फेरि फेरि प्रकाशन गर्न कठिन हुने भएको हुँदा यो दस्तावेज अधिकारीहरुका हरेक घरमा राखिनु आवश्यक छ अध्यक्ष अधिकारीले भन्नुभयो । यसैले पनि यस दस्तावेजमा आफ्नो कुलवंशको विवरण नछुटाउन, त्रुटी भएको छ भने समयमै सच्याउनेतर्फ ध्यान दिन आग्रह गर्दछु भन्दै उहाँले यसअघि यो वंशावली आजका दिनसम्म विमोचन गरी सक्ने तालिका थियो, तर हामीले विवरण पठाउन गत असारलाई अन्तिम भनेका थियौं तर भदौ, असोज, कार्तिक मंसिर १५ गर्दै म्याद थप गरिएको स्मरण गराउनु भयो ।
उहाँले जोडदार रुपमा भन्नुभयो, बैठकमा सहभागी सबै बन्धुहरुको समय थप्ने आग्रहलाई ध्यानमा राखेर यो पुस मसान्तसम्मका लागि म्याद थप गरेका छौं, यो मितिमा पनि विवरण नदिने बन्धुहरुको हातमा पछुतोभन्दा बढी केही नरहने र पछि गुनासो गर्नुको अर्थ नहुने पनि उल्लेख गर्नु भयो । प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष भीमप्रसाद अधिकारीले शुरुका दिनमा हामीलाई वंशावली प्रकाशनका लागि प्रेस खर्चले पिरोलेको छ, त्यसैले यसअघि निर्णय भएको प्रति केन्द्रीय पदाधिकारी तथा सदस्यलाई जिल्लाबाट दुईलाई रुपैयाँ संकलनको निर्णयलाई जसरी पनि पुरा गरी पठाउनै पर्ने स्थिति छ । केही उपाय नभएमा अहिले सापटीको रुपमा जिल्ला समितिले पठाउने र पछि त्यो रकम वंशावली विक्री गरी पूर्ति गर्ने गरी काम गर्नका लागि पनि अनुरोध गर्दछु, आफ्नो जिम्मेवारी र दायित्वबाट कुनै पनि बन्धुहरु पछि पर्नु हुने छैन भन्ने विश्वास गरेका छौं, यसमा बहानाबाजी गर्ने काम नगरौं उहाँले जोडदिदै भन्नुभयो ।
प्रतिष्ठानका महासचिव चिरञ्जीवी अधिकारीले सञ्चालन गर्नु भएको सो बैठकमा कर्णाली प्रदेशका संयोजक एवम् उपाध्यक्ष हेमराज अधिकारीले स्वागत मन्तव्य राख्नु भएको थियो । सम्पन्न बैठकमा सबै पदाधिकारीहरु तथा सदस्यहरुले आआफ्ना धारणा राख्नु भएको थियो । केही सदस्यहरुले वंशावली प्रकाशनका लागि एक लाखका दरले अग्रिम शुल्क केन्द्रीय समितिमा बुझाउने कार्यसमेत त्यस अवसरमा गर्नु भएको थियो । उक्त अवसरमा प्रतिष्ठानको कर्णाली प्रदेश स्तरीय समितिको घोषणा गर्दै नवनिर्वाचित समितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
सो बैठकले कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानको केन्द्रीय समितिको चौथो पूर्ण बैठक बागमती प्रदेशको काठमाडौंमा गर्ने निर्णय गरिएको उक्त प्रतिष्ठानका केन्द्रीय सदस्य सीताराम अधिकारीले बताउनु भएको छ ।
वीरेन्द्रनगर उपमहानगरपालिका– ८ को मेनबजार स्थित फूलबारी होटलको सभाहलमा सञ्चालन गरिएको सो कार्यक्रमको भोलिपल्ट कर्णाली प्रदेशका सबै जिल्लास्तरको भेला भएको थियो । भेलामा सबै जिल्ला शाखा समिति घोषणा गरी सम्बन्धित पदाधिकारीहरु तथा सदस्यहरुलाई प्रमाणपत्र वितरणको कार्य गरिएको थियो । सो कार्यक्रमको आयोजना प्रतिष्ठानको कर्णाली प्रदेश समितिले गरेको थियो । सो समितिले केन्द्रीय अध्यक्षलाई दोसल्लाबाट सम्मानका साथ विदाई गरेको थियो ।
प्रकाशित मिति २०७९ पुष ११, सोमबार २०:०० गते