काठमाडौं– नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको आठ सदस्यीय सरकारमा तीन उपप्रधानमन्त्री बनेका छन् । पुस ११ गते घोषित सरकारमा नेकपा माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका गरी तीनजना उपप्रधानमन्त्री बनेका हुन् । शपथ ग्रहण अघि बसेको सत्ता गठबन्धनको बैठकले त्यस्तो निर्णय गरेको थियो ।

नवनियुक्त प्रधानमन्त्री प्रचण्ड दौरा सुरूवाल लगाएर शपथ लिन राष्ट्रपति निवास शितल निवासमा पुग्नु भएको थियो । उहाँ पहिलो पटक यसरी दौरा सुरूवालमा देखिनु भएको हो । सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई शपथ लिँदा दौरा सुरूवाल लगाउन आग्रह गर्नु भएको बताइएको छ । मन्त्री परिषद्मा उपप्रधानमन्त्री एवं अर्थमन्त्रीको जिम्मेवारी विष्णु पौडेललाई प्राप्त भएको छ । उहाँले यसअघि पनि अर्थमन्त्रीको जिम्मेवारी सम्हाली सक्नु भएको छ । अन्य उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको रूपमा नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री एवं गृहमन्त्रीमा रवि लामिछाने रहनु भएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठ माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष हुनुका साथै यसअघि पनि परराष्ट्रमन्त्री र गृह मन्त्रालयको जिम्मेवारीमा हुनुहुन्थ्यो । यसैगरी, अर्का उपप्रधान एवं गृहमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएका लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति हुनुहुन्छ । त्यस्तै, मन्त्रीहरूमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्रकुमार राई र अब्दुल खान हुनुहुन्छ तर उहाँहरुको मन्त्रालय तोकिएको छैन । खान सिके राउत नेतृत्वको जनमत पार्टीका उपाध्यक्ष हुनुहुन्छ । अन्य तीन मन्त्रीहरू नेकपा एमालेका हुनुहुन्छ । प्रचण्डलाई संविधानको धारा ७६(२) बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको थियो । प्रचण्ड नेपालको ४४ औं प्रधानमन्त्रीमा नियुक्त हुनु भएको हो । स्मरणयीछ, यसभन्दा अघि २ पटक प्रधानमन्त्रीको शपथ लिँदा प्रचण्डले भादगाउँले टोपीसहित कोट–पेन्टमा देखिनु भएको थियो ।