
यो बर्ष सरकारले पृथ्वी जयन्तीको अवसरमा बिदा दिने निर्णय गर्यो । गणतन्त्र स्थापनापछि बनेको सरकारले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस खारेज गर्दै सार्वजनिक बिदा दिन छोडेको थियो । ढिलै भएपनि सरकारको यो निर्णयलाई राम्रो मान्नु पर्दछ । बर्षौदेखि मनाउदै आएको राष्ट्रिय एकता दिवस वा पृथ्वी जयन्तीलाई बिर्सन हुदैन । इतिहास शिरोमणी बाबुराम आचार्यको सुझावमा विक्रम सम्बत २०१२ देखि नेपालमा पुष २७ गते राष्ट्रिय एकता दिवसको रुपमा मनाउन थालिएको थियो ।
गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रुपपमा वि.सं.१७७९ पुस २७ गते जन्मिएका पृथ्वीनारायण शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरूलाई एकीकृत गरेर आधुनिक नेपाल निर्माण गरेका हुन । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायणको योगदान स्मरणमा पृथ्वी जयन्ती मनाउन थालिएको थियो । नेपाल एकीकरण गरेकाले पृथ्वीनारायणलाई राष्ट्र निर्माताको उपमा समेत लिने गरिएको छ । तर पनि बेलाबखत पृथ्वीनारायणको आलोचना पनि उत्तिकै हुने गर्दछ । आलोचकहरुले एकल जाति–नश्ल, एकल संस्कृति, एकल धर्म र सम्प्रदायको वर्चस्व स्थापित गरेको भन्दै पृथ्वीनारायणलाई राष्ट्र निर्माता नभएको तर्क समेत गर्ने गर्दछन् । पछिल्लो जनआन्दोलन हुनु भन्दा पहिला पृथ्वी जयन्ती भब्यरुपमा मनाइने प्रचलन थियो । गणतन्त्रको शुरुवातसंगै राजसंस्थाप्रतिको वितृष्णाले केही महत्वपूर्ण प्रचलनहरू सरकारलेनै हटायो । पृथ्वीनारायणका सालिकहरू नेपालका धेरै शहर बजारहरू अनि चोकहरूमा थिए । नेपालीलाई सदैव एकताको शिक्षा दिने प्रायः चोर औँला माथि उठाएर उभिएका स्वरुपमा देखिने पृथ्वीनारायणको सालिक अहिले धेरै ठाउँमा छैन ।
विश्वभरी नै त्यस समयमा स–साना राज्य, शाशक, कबीला अनि समुदायबाट एउटै देशको छानाभित्र सबैलाई ल्याउन यूद्धहरू भएका थिए । चीन, जर्मन अनि ईटाली लगायतका देशहरूको पनि एकताका द्वन्द्व र युद्ध नेपालको भन्दा फरक थिएन । त्यो बेला सामन्तवादी सोचको समय थियो । कानुनको शासन थिएन । मानवीय संवेदनाका आधारमा शासन चल्थ्यो । मौलिक अधिकारको अवधारणाको विकास भइसकेको थिएन । शिक्षा प्रदान गर्ने कुनै संगठित संरचना थिएन । लगभग कबिला अवस्थामा समाज चलेको थियो । मानिसले जाने अनुसार धर्मकर्म र सामुदायिक शिष्टाचारका आधारमा राम्रो–नराम्रो कुरालाई परिभाषित गर्थे । समाजशास्त्र भन्ने कुनै अवधारणा नै थिएन । प्रजातन्त्रको सोच थियो होला तर संरचनाहरूको विकास भइसकेको थिएन । राजनीतिक रुपमा त्यो अत्यन्त अस्थिर समय थियो । उत्तर र दक्षिणतर्फका दुवै शासकसँग जुध्न सक्ने क्षमता थिएन । स्वाभिमानको कमी थियो । दुवैतर्फका छिमेकी राज्य विस्तारमा लागेका थिए । संसारमा साम्राज्यवाद शुरु भइसकेको थियो ।
गोर्खा राज्य आर्थिक रुपमा सम्पन्न नभएको कारणले छिमेकी राज्यहरूसित लड्न सक्ने क्षमता पनि थिएन । तर संसार साम्राज्यवादीहरूको बिस्तारवादको चपेटामा परि सकेको थियो । पृथ्वीनारायण शाहलाई एउटा ठूलो चुनौतीपूर्ण प्रश्न र नेपालको एकीकरण गर्ने महत्वाकाक्षी अवसर पनि थियो । विक्रम संवत १८०० मा राजा पृथ्वीनारायण शाहले नुवाकोटको युद्धमा पराजयको सामना गर्नु प¥यो । त्यपछि पृथ्वीनारायण आवश्यक हातहतियारहरू संकलनार्थ बनारस पुगे । पिता नरभूपालको पुण्य प्राप्त गरुन भनी काशीको यात्रा गरी आफ्नो भारद्वाज गोत्रबाट काश्यप गोत्रमा परिवर्तन गरे । सोही बेलामा तीर्थ गर्न भनी गएका जाजरकोटका राजा हरि शाहसँग उनले राज्य विस्तार गर्दा गोरखा र जाजरकोटले एक अर्कालाई वाधा र कुभलो नचिताउने कुराहरू बारे सन्धि गरे । बनारसको भ्रमण गरेको अवस्थामा विश्वनाथको मन्दिर मुसलमान सम्राट औरंगजेवले भत्काएपछि भग्नावशेषको अवस्थामा नै थियो । त्यसले पृथ्वीनारायण शाह धेरै चिन्तित थिए । उता ब्रिटिस साम्राज्य इष्ट इन्डिया कम्पनीले भारतका विभिन्न राज्यमा सनातन धर्म र संस्कृतिको नास गराएर इसाई धर्म लादन हिन्दुहरूलाई आक्रमण गर्ने, मार्ने, मन्दिर भत्काउने, धम्क्याउने अंग्रेजले अनेकौँ अत्याचारहरू गरेको देखे पछि पृथ्वीनारायणलाई हिमवतखण्ड क्षेत्रलाई जोगाउन र हिन्दुराज्यहरूलाई एकीकरण गर्ने मनसाय भयो ।
नेपालको एकीकरण गर्ने उद्देश्यले पृथ्वीनारायणले बनारसबाट हातहतियार बनाउने कारखानाको निरीक्षण गरी हातहतियार बनाउने र मर्मत गर्ने मुसलमान कालिगड, केही हातहतियार र मुसलमान योद्धाहरू समेत गोर्खामा ल्याएका थिए भन्ने इतिहासमा पढन पाइन्छ । पृथ्वीनारायण शाहले नुवाकोटको पहिलो पराजित पछि दोस्रो पटक वि.स. १८०१मा कालु पाण्डेको सेनापतित्वमा करिब हजार जना फौजले नुवाकोटमाथि हमला गरी नुवाकोटमाथि विजय प्राप्त गरे । नुवाकोट गोरखालीहरूको कब्जामा भएकाले नुवाकोटका सिपाहीहरू भागी वेलकोटमा अड्डा जमाई बसेकाले कालु पाडेको तत्काल हमला नगर्ने सल्लाहलाई उपेक्षा गरी पृथ्वीनारायणले वेलकोटमा हमला गरे । पृथ्वीनारायण को काठमाडौँ उपत्यका र पूर्वी क्षेत्र विजय गर्ने इच्छा रहेकाले आफ्ना प्रवल विरोधी शक्ति लमजुङका राजा रिपुमर्दन शाहसँग विसं १७९९ मा एक मैत्रीपूर्ण सन्धि गरेको पनि इतिहासकारहरूको भनाई छ । उक्त सन्धि अनुसार दुवै राज्यबिच मैत्री सम्बन्ध कायम गर्ने कास्कीको अर्घामाथि कब्जा गर्न सफल भएमा त्यहाँको काठ कास्कीलाई दिने आदि शर्तनामा उल्लेख थियो ।
नेपालको एकीकरण गर्न नुवाकोटलाई जितेर काठमाडौँमा प्रवेश गर्दा चन्द्रागिरि डाँडाबाट नियाल्दा काठमाण्डौको सौन्दर्यताले पृथ्वीनारायणलाई लालायित बनाएको थियो । रणनीतिका कौशल र कुशल नेतृत्व भएका पृथ्वीनारायणले इन्द्रजात्राको दिन काठमाण्डौ माथि विजय हासिल गरे भने कुशल रणनीति लगाएर क्रमशः ललितपुर, भक्तपुर, कीर्तिपुर अनि अन्य भूभागहरू जितेका हुन । पृथ्वी नारायणले भुरे टाकुरे बाइसे चौबिसे राज्य तथा क्षेत्रहरूलाई एकीकरण गरी पुरै नेपालको राजवंशिय राज्यमा रुपान्तरण गरिदिए र आधुनिक नेपालको जग बसालेका थिए । पृथ्वीनारायणले शुरु गरेको एकीकरण अभियान बढदै गएर नेपाल राज्यको सिमाना पूर्वमा टिस्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदीसम्म विस्तार भयो । पछि नेपाल अग्रेज युद्धमा सुगौली सन्धिसम्म यो भूभाग नेपाल अधीनस्थ थियो ।
पृथ्वीनारायणको व्यक्तिगत योग्यता, क्षमता, कार्यकुशलता र चरित्रमाथि नै धेरै तर्कबितर्क, टीकाटिप्पणी र विरोधी पनि गर्नेहरू समाजमा देखिन्छन । कतिपयले पृथ्वीनारायणलाई साम्राज्यवादको नाइके र विस्तारवादी निरकुश शासक भनेका छन भने कतिपयले एकलौटी हिन्दु धर्मलाई जनतामा लादने क्रूर शासक पनि भन्ने गर्दछन् । त्यस्तै जातीय शासनलाई उनले भताभुङ पारेको पनि कतिपयको आरोप छ । उनको पालादेखि नै विभिन्न जनजातिले राज्य गुमाएको पनि भनिएको छ । एकीकरणको लडाइँ बर्बरतापूर्ण थियो भन्ने मान्यता पनि व्यक्त गरेको देखिन्छ । अग्रेजले प्रकाशित गरेका सामग्रीका आधारमा हेर्दा पृथ्वीनारायणले नेपाललाई असली हिन्दुस्तान बनाउन खोजेको आरोप लगाइएको छ । यी सबै आरोपका बारेमा आ–आफ्ना विभिन्न दृष्टिकोण हुन सक्छन । यदि पृथ्वी नारायण शाहको नेपाललाई एकीकरण गर्ने महत्वाकाक्षी अभिलाषा नभएको भए अहिलेको विशाल आधुनिक नेपालको परिकल्पनासम्म हुन सक्ने थिएन ।
पृथ्वीनारायणले नेपाललाई कतै जातीय आडम्बरी र हिन्दु राज्य शासन व्यवस्था बनाउन खोजेको इतिहासले देखाउँदैन । उनले कसैसँग जातीय लडाइँ लडेका पनि थिएनन । राष्ट्र एकीकरणको वृत्तान्तमा आस्था र विश्वासका कुरा राष्ट्र निर्माणमा धेरै महत्वपूर्ण हुन्छन । इतिहासलाई काल्पनिक आधारमा मूल्याङ्कन गर्न खोज्नु हुँदैन । नेपाल र सम्पूर्ण नेपालीहरूका गौरवका प्रतीक नै पृथ्वीनारायण हुन । पृथ्वीनारायणले आधुनिक नेपालको जग बसालेर गए र सानो सानो क्षेत्र जस्तै भिरकोट, कास्की, लमजुङ, गोरखामा राज्य गरिरहेको शाहवंशलाई पुरै नेपालको राजवंशमा रुपान्तरण गरिदिए । पृथ्वीनारायण शाहले वि.सं.१८३१ माघे संक्रान्तिका दिन ५२ वर्षको उमेरमा नुवाकोटको देवीघाटमा देहत्याग गरे पनि नेपाल एकीकरण अभियानमा बुहारी रानी राजेन्द्र लक्ष्मी, छोरा राजकुमार बहादुर शाह लगायतले अगाडी बढाइ रहे । नेपाल एकीकरण अभियानको पुर्णविराम चाँही यिनका पनाती राजा गिर्वाण युद्ध विक्रम शाहका पालमा भएको भएको थियो ।
पृथ्वीनारायण जति वीर थिए त्यति नै उनी वीरहरूको कदर गर्न जान्दथे । राजकीय व्यवहारमा कूटनीति, सरलता र दया उनका विशेषता थिए । तर दया र सरलतालाई उनले कमजोरीका रुपमा कसैलाई उपयोग गर्न दिएनन । इतिहासमा कान्तिपुरका राजा जयप्रकाश मल्लले भारतमा रहेका बेलायती सैनिकहरूसित सैनिक सहयोग मागेको र त्यसै कारण मेजर किनलोकको नेतृत्वमा आएको विदेशी सेनालाई पृथ्वीनारायण शाहले बाटैमा आक्रमण गरी विदेशी प्रभावले मुक्त गरेको भनी लेखिएको छ । तर, पृथ्वीनारायणलाई युरोपले सामरिक स्रोत साधन दिएर सहयोग गरेका थिए । ब्रिटिस कम्पनी सरकारले गोरखाका राजालाई अनुशासनको महत्व सिकाएर युरोपेली व्यापारीमार्फत हातहतियार दिएर सहयोग गरेका हुन् । त्यही हतियारको सहयोगबाट तीन पटकको आक्रमणमा धोका दिएर उनले आधुनिक नेपालको एकीकरण अभियानमा युद्धको अग्रमोर्चाको आफैँ नेतृत्व गरेका राजा पृथ्वीनारायण शाहले नेपाली सेनाभित्र सांगठनिक जग निर्माणका लागि महत्वपूर्ण भूमिका खेलेको अभिलेख पाइन्छ । नेपालमा राष्ट्रिय सुरक्षाको बहस चल्दा पृथ्वीनारायणको नाम जोडिएर आउँछ । पृथ्वीनारायण एक कुशल सैनिक नेतृत्व र सफल शासक थिए भने एउटा दूरदर्शी रणनीतिज्ञ पनि थिए । निश्चय नै एकीकरणको दौरानमा उनले अपनाएका सबै नीति सफल भएनन र केही नीति आंशिक रुपमा मात्र सफल भए । तर पनि उनको अभियान समग्रतामा सफल भयो र उनका कतिपय रणनीतिक कौशल र सुझबुझ अझै पनि नेपालको राष्ट्रिय सुरक्षाका सन्दर्भमा उपयोगी र मार्गदर्शक भएका छन् । एक कुशल रणनीतिज्ञ भएकाले नेपाल एकीकरण कार्यलाई पृथ्वीनारायण शाहले एकाध राज्य जित्ने लडाइँका रुपमा नलिई एउटा समग्र अभियानका रुपमा अघि बढाएका थिए ।
पृथ्वीनारायण द्वारा सञ्चालित सैनिक अभियानको सबैभन्दा उल्लेखनीय पक्ष राष्ट्रिय शक्तिका चार साधनहरु कूटनीति, सूचना, सैनिक र आर्थिक पाटोको समन्वयकारी तथा प्रभावकारी परिचालन थियो । अढाई सय वर्ष लामो शाहवंशीय शासन अन्त्य र गणतान्त्रिक शासनकाल भए पनि नेपाली सेनाले अझै पनि पृथ्वीनारायणप्रति उच्च सम्मान व्यक्त गर्दै आएको छ । इतिहासमा हेर्दा राजा पृथ्वीनारायणको पालाबाटै नेपालको सैनिक रणनीति विकास भएको पाइन्छ । एकीकरणको बेला आफैँले नेतृत्व गरेर सेनाको अभिभावकको भूमिका खेल्दै लडाइँको मोर्चामा रहेका रहनुभयो । पृथ्वीनारायणलाई नेपाली सेनाले आफ्नो पितामह सरह मान्दछ । नेपाली सेनाले पछिल्लो समय पृथ्वीनारायणलाई आफ्नो फौजको संस्थापक र राष्ट्र निर्माता मानेर सैनिक ब्यारेकमा उनको सालिक राख्ने अभियान नै चलाएको छ । देशभरका सैनिक ब्यारेक र सेनाको इतिहास जोडिएका ठाउँमा पृथ्वीनारायणको सालिक बनाइएको छ । श्रीनाथ कम्पनी नेपाली सेनाको सबैभन्दा जेठो पल्टन हो । त्यसपछि श्री कालीबक्स कम्पनी, श्री बर्दवाणी कम्पनी, श्री सबुज कम्पनी, गोरख कम्पनी स्थापना भएको थियो । पछि राजा रणबहादुर शाहको पालामा अर्को नयाँ कम्पनीको नाम पनि गोरख नै जुरेकाले शुरुमा स्थापित पल्टनलाई पुरानो गोरख र पछि नाम जुरेको पल्टनलाई नयाँ गोरख भन्ने नाम राखिएको थियो ।
पृथ्वीनारायणको जन्म नभएको भए आजको नेपाल सम्भव हुन्थेन । एकीकरण आजको अकाटय र चुनौती दिन नसकिने यथार्थ हो । यो नभएको भए नेपाल सम्भवतः कथामा सिमित हुने थियो । प्रजातन्त्रलाई बलियो बनाउने आधार उनले छाडेर गए । अतः उनको जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउनु इतिहास प्रतिको इमानदारी मात्र होइन, शान्त, सुन्दर र समृद्ध नेपालको निर्माणका लागि एउटा बलियो पूर्वाधार पनि हो । उनले निर्माण गरेको राज्य गौरवको विषय हुने तर निर्माता चाहिँ अभिशाप हुने भन्ने हुनै सक्दैन । पृथ्वीनारायणको दिब्य उपदेश उनको राष्ट्रभाव मात्रै पोखिएको छैन सारा जनतालाई राष्ट्रप्रेम जगाएको छ । नेपाल दुई ढुंगाको तरुल जस्तो रहेको भन्दै पृथ्वीनारायण शाहले दक्षिण छिमेकीसँग सतर्क रहन भनेका थिए । यो उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक र मननयोग्य छ । साथै पृथ्वीनारायणले कसैसंग जाइ नलाग्न र जाइ लाग्नेलाई नछोडन पनि उपदेश दिएका छन । भ्रस्टाचारीले न्याय निसाफ बिगार्ने र यिनलाई जस्तोसुकै कारबाही गरे पनि पाप नलाग्ने उनको उपदेशमा उल्लेख छ ।
पृथ्वी जन्म जयन्ती र राष्ट्रिय एकता दिवस कुनै शाह वंशीय परिवारको लागि मनाएको होइन । राजसंस्थालाई जोडेर पृथ्वीनारायण शाहको योगदानलाई भुल्ने र वेवास्ता गर्नु हँदैन । नेपाल एकीकरण गर्ने पृथ्वीनारायण नेपालका राष्ट्रिय विभूति हुन । उनको सम्झनामा नेपाल सरकारले पौष २७ गते लाई पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउने परम्परा पुन सुरु गर्नु पर्दछ । इतिहास भनेको हाम्रो पहिचान हो । हामीले इतिहास बिस्र्यौ भने इतिहासले हामीलाई बिर्सन्छ । त्यसैले इतिहास भनेको नपढी नहुने विषय हो । इतिहास कसैले चाहँदैमा मेटिने विषय पनि होइन । कसैलाई मन परे पनि नपरे पनि राणाकाल वा पञ्चायतकाल थिएन भन्न सकिँदैन ।
(लेखक : स्वतन्त्र पत्रकार संघ नेपालका निवर्तमान राष्ट्रिय अध्यक्ष हुनुहुन्छ । – स.)

प्रकाशित मिति २०७९ पुष २९, शुक्रबार ०५:५१ गते