ग्रामीण पर्यटकीय गन्तव्य स्थल बन्दै दाम्राङ पोखरी : त्यसलाई सुसज्जीत बनाउन जुट्यो दोर्दी गाउँपालिका

ग्रामीण पर्यटकीय गन्तव्य स्थल बन्दै दाम्राङ पोखरी : त्यसलाई सुसज्जीत बनाउन जुट्यो दोर्दी गाउँपालिका

नवराज पहाडी

@antaranganews

२०७९ माघ ३ गते मङ्गलबार ११:४५

दाम्राङ पोखरी जानका लागि सोही ठाउँसम्म कच्ची सकड निर्माण गरिसकिएको छ । दुई वर्षदेखि सो क्षेत्रमा जिपहरू चल्दै आएका छन् अध्यक्ष अधिकारीले बताउनु भयो । उहाँका अनुसार गाउँपालिका कार्यालय रहेको नौथरसम्म गाडीको पर्याप्त सुविधा छ, ठूला बस पनि आउँछन् । त्यसपछि इच्छुकहरू पैदल जान सक्छन् । हिड्न नसक्नेहरूका लागि गाडीको समेत सुविधा छ ।

चालु आवमा गाउँपालिकाबाट २६ लाख बजेट विनियोजन

नौथर(लमजुङ)– ग्रामीण पर्यटकीय गन्तव्यको पर्याय बन्दै आएको लमजुङमा नयाँ नयाँ पर्यटकीय गन्तव्य स्थलको खोजी र ती क्षेत्रमा पूर्वाधार तयारीका कार्य पनि अघि बढिरहेका छन् । यसरी ग्रामीण पर्यटनको प्रचुर सम्भावना बोकेको पूर्वाधार तयार हुँदै गरेको एक थलो हो– दाम्राङ पोखरी । जिल्लाको पूर्वीक्षेत्रमा रहेको त्यस थलोलाई सुसज्जीत बनाउन यतिबेला दोर्दी गाउँपालिका योजनावद्ध रुपमा जुटेको छ । उक्त स्थलमा पूर्वाधारका कार्य गर्नका लागि चालु आवको बजेटमा २६ लाख रुपैयाको बजेट बिनियोजन गरी गाउँपालिका त्यस कार्यमा जुटेकोे हो ।
दोर्दी गाउँपालिका कार्यालयदेखि करिब ६ घण्टाको पैदल दुरीमा वडानंं– ४ र ६ को सीमा क्षेत्रमा रहेको छ– दाम्राङ पोखरी । समुद्र सतहबाट एक हजार नौ सय ३५ मिटरको उचाईमा दाम्राङ पोखरी रहेको छ । उक्त पोखरीको संरक्षण, प्रवर्द्धन र प्रचारका लागि केही वर्ष अघिदेखि आवाज उठाउँदै आउनु भएका ग्रामीण पर्यटनकर्मी युवराज अधिकारी गत स्थानीय निर्वाचनमा उक्त गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनु भएको छ । त्यसपछि उक्त ठाउँले काँचुली फेर्ने स्वर्ण अवसर प्राप्त गरेको अनुभव गरिएको हो ।
यतिबेला गाउँपालिकाले सञ्चालन गर्ने प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत दाम्राङ पोखरीको वरिपरी ढुंगा विच्छ्याउने काम भइरहेको गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताउनु भयो । उहाँका अनुसार पोखरीको वरीपरीको भागमा छ मिटरदेखि १० मिटरसम्म, ठाउँको अनुकुलता हेरेर ढुंगा विच्छ्याउने काम भइरहेको छ । उहाँले भन्नुभयो, ‘यो काम हामीले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मार्फत गराएका छौं ।’ आधाभन्दा बढीजसो काम सकिएको छ । यो महिना भित्र पुरा गर्ने योजनाका साथ काम भइरहेको उहाँले जानकारी दिनु भयो ।
दाम्राङ पोखरी ७३ मिटर लम्बाई र ६४ मिटर चौडाई क्षेत्रफलमा फैलिएर रहेको छ । अधिकारीले भन्नुहुन्छ, ‘पोखरीको आसपासमा त्यसैलाई फोकस गरेर चारवटा पिक्निक स्थल निर्माण भइरहेको छ । चार वटै स्थानमा शौचालयको निर्माण कार्य पुरा भएको छ ।’ खानेपानीको धारा पहिल्यै ल्याइएको हो त्यसलाई व्यवस्थित गर्न बाँकी छ, त्यो काम पनि तत्कालै गर्दैछौं अध्यक्ष अधिकारीले जानकारी दिनु भयो ।
दाम्राङ पोखरी क्षेत्र भेडीगोठका लागि निकै चर्चित छ । ऐले पनि सो क्षेत्रमा आठवटा भेडीगोठहरू रहेका छन्, हामी भेडाको साथमा पर्यटकका लागि रमाउने र भेडाकै मासु खाने गरी यहाँ पर्यटकीय गन्तव्यको रुपमा यस ठाउँको विकास गर्न चाहन्छौं दोर्दी गाउँपलिकाका अध्यक्ष युवराज अधिकारीले आफ्नो योजना सुनाउनु भयो । उहाँका अनुसार त्यसका लागि यो वर्ष गाउँपालिकाबाट २६ लाख रुपैयाँको बजेट छुट्याएका छौं र काम हुँदैछ । बाँकी काम आउँदा वर्षहरूमा निरन्तरता दिइने छ ।
उहिल्यै एक जना दामे नामका भेडी गोठाला उक्त पोखरीमा डुबेर मरेछन् । गुरुङ भाषामा पोखरीलाई ‘रा’ भनिन्छ । ‘दामे’ भन्ने गोठाले डुबेर ‘रा’ पोखरीमा मरेको हुँदा दामेरा भन्दा भन्दै अपभ्रम्स भई दाम्राङ पोखरी भएको भन्ने किंबदन्ती रहेको छ । त्यस्तै, उहिल्यै त्यो ठाउँमा ठूलो बस्ती र खेती हुने गर्दथ्यो । तामाङ भाषामा ‘म्राङ’ भनेको खेत र ‘तामरे’ भन्ने हिमाली क्षेत्रमा हुने एक जातको धानको नाम हो । त्यही पोखरीको पानीले त्यो धान खेतमा सिंचाई गरिने भएकोले ‘तामरे’ धान हुने ‘म्राङ’ अर्थात खेत भन्दा भन्दै पछि दाम्राङ नाम रहन गएको भन्ने पनि बुढापाकाको भनाई छ । तामरे धान सो पोखरी क्षेत्रकै छिमेकमा रहेका सिमे ताँजेको लेकमा पनि हुने गर्दथ्यो, हिजोआज त्यो धान कम फल्ने भएको कारणले र गाउँगाउँमा तयारी चामल नै पुग्न थालेको हुँदा पछिल्ला वर्षमा भने त्यो धान खेती हुन छाडेको सो गाउँपालिकाका उपाध्यक्ष विच्छबहादुर घलेले बताउनु भयो ।
उहाँका अनुसार दाम्राङ पोखरी क्षेत्रमा हिउँदे याममा गुराँस लगायतका विभिन्न जातका फूलको मनमोहक दृश्य पनि उत्तिकै हेर्न लायकको हुन्छ । उहाँले भन्नुभयो, ‘त्यो पोखरी क्षेत्रबाट देखिने हिमशृंखलाहरूमा लमजुङका लमजुङ हिमाल, हिमाल चुली, बौद्ध हिमाल, हर्क पिग लगायत छन् । त्यस्तै, कास्की पोखरातर्फका मनासलु, अन्नपूर्ण, माछापुच्छ्रे आदि देख्न सकिने घलेको भनाई छ ।
दाम्राङ पोखरी भएको स्थान दोर्दी गाउँपालिका– ४ को नौथर र वडानं ६ को ढोडेनीको सीमा क्षेत्रमा पर्दछ । वडानं– ५ को पाचोक गाउँ पनि त्यो पोखरी नजिकै पर्दछ । यसरी तीन वडाको संगम क्षेत्रको रुपमा समेत रहेको हुँदा ती तीनवटै वडाका वस्तीहरूमा ग्रमीण पर्यटनको विस्तार गर्न सकिने गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी बताउनु हुन्छ ।
उहाँका अनुसार पोखरीको करिब १५ मिनेटको दुरीमा एउटा ८०– ८२ मिटर लम्बाई भएको गुफा पनि छ, जसमा एकतिरबाट छिरेर अर्कोतिर निस्कन सकिन्छ । उहाँले भन्नुभयो, ‘त्यसबाहेक गोरु जुरेडाँडा जसलाई कसैकसैले गोरु गढी पनि भन्ने गरेका छन् ।’ त्यस्तै, पुराना राजाहरूले बनाएका गढीहरू घले गढी, खोलाल गढी र पाण्डे गढी नामका ऐतिहासिक गढीसमेत हेर्न सकिन्छ ।
त्यो स्थलका लागि ९ दिनको ट्रेकिङ मार्गको निर्माण गर्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष अधिकारीले सुनाउनु भयो । उहाँका अनुसार दाम्राङ पोखरीबाट दुधपोखरी हुँदै पाँच दिनको पैदल यात्रामा गोरखा पनि पुग्छ सकिन्छ । उहाँले थप भन्नुभयो, ‘यो स्थानबाट तिब्बतको लार्के निस्कनका लागि पनि छोटो मार्ग छ भन्ने सुनिएको छ, आउँदो हिउँदमा गाउँपालिकातर्फबाट त्यसको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।’
त्यस्तै पूर्वी लमजुङको बहुचर्चित लिपेलेक जान पनि यहीबाट सुविधा हुन्छ । यो ठाउँमा रक्त चन्दनको पिरामीड आकारका रुखहरूले पनि मानिसहरूलाई लोभ्याउने गरी आएको अधिकारीले उल्लेख गर्नु भयो । ‘मैले यो ठाउँलाई ग्रामीण पर्यटकीय गन्तव्य बनाउने सम्भावना र सपना ६÷७ वर्ष अघिदेखि देखेको हुँ ।’ अध्यक्ष अधिकारीले दृढोक्तिका साथ भन्नुभयो, ‘अब त्यो सपनालाई सार्थक रुप दिने दिन आएको छ, मेरो कार्यकालमा यो कार्य अवश्य पनि पुरा हुन्छ, गाउँपालिकाले त्यो काम गर्छ ।’
दाम्राङ पोखरी जानका लागि सोही ठाउँसम्म कच्ची सकड निर्माण गरिसकिएको छ । दुई वर्षदेखि सो क्षेत्रमा जिपहरू चल्दै आएका छन् अध्यक्ष अधिकारीले बताउनु भयो । उहाँका अनुसार गाउँपालिका कार्यालय रहेको नौथरसम्म गाडीको पर्याप्त सुविधा छ, ठूला बस पनि आउँछन् । त्यसपछि इच्छुकहरू पैदल जान सक्छन् । हिड्न नसक्नेहरूका लागि गाडीको समेत सुविधा छ ।

प्रकाशित मिति २०७९ माघ ३, मंगलवार ११:४५ गते
हजुरको प्रतिक्रिया