बेसीशहर– लक्ष्मीनारायण सामुदायिक पुस्तकालयको पाँचौ अधिवेशनमा नयाँ कार्यसमितिका लागि अध्यक्ष पदमा दावा गर्नेको संख्या आठ रहेको बताइएको छ । अध्यक्ष पदमा कस्ले बाजी मार्ने हो ? यसै हुन्छ भन्न सकिने अवस्था नरहेको जानकारहरू बताउँछन् । तर भागवण्डामा रमाउने गरेका राजनीतिक दलमध्ये काँग्रेसको पक्कड रहेको उक्त पुस्तकालयमा सो दलले अध्यक्ष छनौट गरिसकेको र त्यो नाम सर्वजनिक हुन मात्र बाँकी रहेको बताउनेको संख्या पनि कम छैन ।
जिल्ला सदरमुकामको झिंगेखोला स्थित लक्ष्मीनारायण सामुदायिक पुस्तकालयको पाँचौंं अधिवेशन सञ्चालन गरिएको हो । अधिवेशनको उदघाटन सत्रमा लमजुङबाट गण्डकी प्रदेश सभामा सदस्य हुनु भएका चार सभासदलाई एउटै मञ्चमा फागुन ९ गते सम्मानित गरिएको छ ।
सम्मानित हुनेहरूमा लमजुङ ‘क’ निर्वाचन क्षेत्रबाट विजयी डा. टकराज गुरुङ, लमजुङ ‘ख’ निर्वाचन क्षेत्रबाट विजयी भेषबहादुर पौडेल तथा समानुपातिकतर्फबाट विजयी टिकाकुमारी बसेल र पार्वती तामाङ हुनुहुन्छ । उहाँहरूलाई सम्मान पत्र, दोसल्ला एवम् टीकाद्वारा सम्मान गरिएको हो । पुस्तकालयका अध्यक्ष नाराइनबहादुर सुयल सहितका पदाधिकारीले उहाँहरूलाई संयुक्त रुपमा सम्मान गर्नु भएको हो ।
नेपाली काँग्रेसको जिल्ला सभापति समेत रहनु भएका डा. टकराज गुरुङ सो अधिवेशनको प्रमुख अतिथि हुनुहुन्थ्यो । उहाँले सो अधिवेशनको उदघाटन गर्दै हिजोआज शिक्षा व्यापार समेत भएको छ, पुस्तकालयले व्यापार गर्दैन, मुनाफा आर्जन गर्दैन तर सबैलाई ज्ञान दिन्छ यसैले पनि यो ज्ञानको मन्दिर हो भन्नुभयो । उहाँले विश्वमान चित्रमा नेपाल कहाँ छ ? भन्ने चिनाउन पनि ज्ञानको ठूलो भूमिका हुने हुन्छ त्यसैले आजको जामानामा कितावी किरो मात्र भएर पुग्दैन, सर्वाङ्गिण ज्ञान र शिक्षाका लागि पुस्तकालय आवश्यक हुन्छ जसको आपूर्ति यो क्षेत्रमा लक्ष्मीनारायण पुस्तकालय गरिरहेको छ भन्नुभयो ।
यसैगरी, नेपाली काँग्रेसका निवर्तमान जिल्ला सभापति एवम् अर्का प्रदेश सभासद भेषबहादुर पौडेलले शिक्षाको अर्थ ज्ञान आर्जन मात्र होइन सीपको विकास समेत हो भन्दै समाजको विकास र सकारात्मक परिवर्तनका लागि पुस्तकालयको अहम् भूमिका हुने बताउनु भयो । उहाँले यो बीचमा उदीपुरको सडकको विकल्प खोज्ने पहल भएको छ, राइनासटार सिंचाई आयोजनाको समस्या समाधान भएको छ यसले विकासका लागि सबै दल एक ठाउँमान हुनुपर्ने सिद्ध भएको उल्लेख गर्नु भयो ।
त्यसैगरी, गण्डकी प्रदेशका समानुपातिक सभासद् टिकाकुमारी बस्यालले आफू प्रदेशको कान्छो सदस्य समेत हुनुका साथै उत्पीडित समुदायको समेत प्रतिनिधि भएको हुँदा आफूले सदैव युवा र उत्पीडित वर्गको हितमा काम गर्नेछु भन्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले यो पुस्तकालयले बालबालिका र महिलाका लागि गरेको कार्यले आफू प्रभावित भएको बतचाउँदै सिकाई केन्द्र सञ्चालन, महिला सदस्यहरूमार्फत सहकारी संस्थाको सञ्चालन, बाल कक्ष आदिको प्रवन्ध गरेर उदाहरीय कार्य गरी महिलालाई विकासका कार्यमा सरिक गराएकोमा पुस्तकालयको प्रशंसा गर्नुभयो ।
उक्त पुस्तकालयको तीन कार्यकाल सदस्य रहनुका साथै पुस्तकालयले स्थापना गरेको सहकारी संस्थाको संस्थापक अध्यक्ष समेत रहेकी अर्का सभासद् पार्वती तामाङले आफूलाई यो स्थानमा पु¥याउने कार्यमा पुस्तकालयको ठूलो भूमिका रहेको र त्यो गुण म आजीवन भुल्ने छैन भन्नुभयो । उहाँले पुस्तकालयको सहयोगका लागि आवश्यक वातावरण तयार गर्न आफू लागि पर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।
सो अवसरमा विभिन्न राजनीतिक दल तथा संघसंस्थाका प्रतिनिधिहरूले समेत शुभकामना व्यक्त गरेका थिए ।
बेसीशहरमा जिल्ला सदरमुकाम सरेकै वर्ष २०२८ सालमा सो पुस्तकालय स्थापना भई केही वर्ष पछि बन्द भएर २०५४ सालमा पुनः स्थपाना गरिएको हो । यतिबेला पुस्तकालयले आफ्नै भवनमा कार्यालय सञ्चालन गरिरहेको सो कार्यालयका कान्ता घिमिरेले बताउनु भयो । उहाँका अनुसार पुस्तकालयमा करिब १० हजार पुस्तकहरू रहेका छन् । पुस्तकालयमा वाचनालय, बाल कक्ष, सिकाई केन्द्र, महिला सदस्यमार्फत बचत तथा ऋण सहकारी संस्था लगायतका गतिविधि सञ्चालन गरिएको छ ।
सो पुस्तकालयमा अक्षयकोष दाता एक जना, संरक्षक सदस्य चार, यशस्कर र कीर्तिमानी सदस्य २/२ जना, विशिष्ट आजीवन सदस्य पाँचजना, वरिष्ठ आजीवन सदस्य ७४ जना र आजीवन सदस्य ४६० जना रहेको पुस्तकालयका महासचिव दीपक अधिकारीले बताउनु भयो । उहाँका अनुसार पुस्तकालयको अधिवेशनका प्रतिनिधिहरू मार्फत १५ जना सदस्यको निर्वाचन हुने र ती सदस्यहरूले आफूमध्येबाट पदाधिकारी चयन गर्ने प्रावधान विधानमा रहेको छ ।
सो पुस्तकालयका अध्यक्ष नाराइनबहादुर सुयलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन उपाध्यक्ष सुशीलचन्द्र अधिकारी र महासचिव दीपक अधिकारीले गर्नु भएको उक्त पुस्तकालयका प्रमुख मधुसुधन अधिकारीले बताउनु भयो ।
गणपुरक संख्या नपुगेका कारण अधिवेशन स्थगित :
लक्ष्मीनारायण सामुदायिक पुस्तकालयको पाँचौ अधिवेशनका क्रममा आज नयाँ नेतृत्व चयनको कार्यतालिका भएता पनि गणपुरक संख्या अपुग भएका कारण सो तालिका प्रभावित भएको छ । केही पुराना सदस्यहरूले आर्थिक पारदर्शीता नभएको गुनासो समेत गरेका थिए । तर पनि लेखा प्रतिवेदन पास गर्न खोजिएकोमा गणपुरक संख्याको प्रश्न उठेपछि स्थगित भएको बताइएको छ । सो सम्बन्धमा पुस्तकालयका महासचिव दिपक अधिकारीसँग सम्पर्क गर्दा उहाँले अधिवेशन हुन केही ढिला भएको हो तर लेखा परीक्षण हरेक वर्ष नभए त संस्था नवीकरण नै हुन्न नि ! त्यो त हल्ला मात्र हो भन्नुभयो ।
२०७३ सालमा गठित वर्तमान समितिलाई छ लाख रुपैयाँको बचत बुझाएको र पुस्कालयको मासिक आम्दानी एक लाख दुई हजार पाँच सय रुपैयाँ हुन्छ, अन्यत्रबाट पनि सहयोग आएकै छ त्यो रकम कता केमा खर्च गरिएको हो ? प्रष्ट हुन जरुरी रहेको यसअघिको समितिको दावी रहेको छ ।
अर्को अधिवेशन १५ दिन पछि गर्ने भनिएको छ ।
अध्यक्षमा आठ जना आकांक्षी :
लक्ष्मीनारायण सामुदायिक पुस्तकालयको पाँचौ अधिवेशनमा नयाँ कार्यसमितिका लागि अध्यक्ष पदमा दावा गर्नेको संख्या आठ रहेको बताइएको छ । त्यस्तो दावी गर्नेमा मर्स्याङदी बहुमुखी क्याम्पसका पूर्वउपप्राध्यापक, इतिहासविद् तथा सो पुस्तकालयका पूर्वकोषाध्यक्ष रमाराज खनिया, वर्तमान अध्यक्ष नारइनबहादुर सुयल, उपाध्यक्ष सुशीलचन्द्र अधिकारी, पूर्वअध्यक्ष द्वय तेजनारायण अधिकारी र नारायण घिमिरेका साथै स्थापनाकालदेखि विभिन्न पदमा बसेर पुस्ताकालयको स्थायित्वमा महत्वपूर्ण भूमिका निभाउँदै आउनु भएकी र यसअघि सोही पुस्तकालयबाट सञ्चालित साकोसको समेत अध्यक्ष भइसक्नु भएकी शोभा थापा एकमात्र महिला दावेदारको रुपमा लगायत दावेदार देखिनु भएको छ । 
राजनीतिक भागवण्डा :
उक्त पुस्तकालयको समितिका लागि जिल्लामा क्रियाशील राजनीतिक दलहरूले सो समितिका लागि भागवण्डा गरिसकेको समेत बुझिन आएको छ । पुस्तकालयमा सदस्य संख्या कम भएका कारणले एमालेलाई तीन सदस्य मात्र र अन्य क्रियाशील दलका १/१ जना र बाँकी संख्या सबै नेपाली काँग्रेसले लिने भएको बताइएको छ । गत प्रतितिधि सभा निर्वाचनमा नौ हजार भन्दा बढी मत पाएर जिल्लाको तेस्रो शक्तिका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि भने को हुने भन्ने टुंगो लाग्न बाँकी रहेको बताइएको छ ।
स्मरणीय छ, यसअघिको निर्वाचनमा नेपाली काँग्रेसकै दुई समूहका बीचमा चुनाव भई वर्तमान सभापतिका प्यानलको जीत भएको थियो । तर उहाँको पालामा पुस्तकालयका खासै गतिविधि अघि बढ्न नसकेको भन्दै वर्तमान समितिका पदाधिकारीबाटै असन्तुष्टि व्यक्त हुँदै आएको स्थिति छ । अध्यक्षको कार्यशैलीबाट रुष्ट भएका समितिका पदाधिकारी तथा सदस्यहरूले पछिल्ला वैठकमा समेत अनुपस्थित भएर अध्यक्ष सुयललाई असहयोग गरेको समेत जानकारीमा आएको छ । यसैले अध्यक्ष पदमा कस्ले बाजी मार्ने हो ? यसै हुन्छ भन्न सकिने अवस्था नरहेको जानकारहरू बताउँछन् ।

प्रकाशित मिति २०७९ फाल्गुन ९, मंगलवार २१:३६ गते