
सुन्दरबजार(लमजुङ)– जिल्लाको दोस्रो व्यापारिक नाका यहाँ नवौं सुन्दरबजार महोत्सव चलिरहेको छ । त्यसमा अकर्षण थपेको छ– केराका परिकारले ।
उक्त महोत्सवको आज फागुन २५ गते आठौं दिन हो । ११ दिवसीय उक्त महोत्सव फागुन १८ गते शुरु भएको हो भने २८ गते समापन गर्ने कार्यक्रम रहेको छ । महोत्सवमा परम्परागत रुपमा गरिने कार्यक्रमहरू प्रायः सबै गरिएका छन् । त्यसमा थप आकर्षकको रुपमा रहेको छ– केराको ममः सहितका परिकार ।
ती परिकार बिक्रीका लागि आयोजकको अनुरोधमा चितवन केरा उत्पादन संघले प्रवन्ध गरेको हो । रत्ननगर चितवन निवासी सो संघका सदस्य अक्कल श्रेष्ठ आफ्नो आठ जनाको टोली सुन्दरबजारमा आएको बताउनु हुन्छ । उहाँका अनुसार व्यापार ठीकठीकै चलेको छ । उनले भने, ‘अस्ति विदाको दिनमा ४५ हजार रुपैयाँको विक्री भएको थियो । अन्य दिनमा २०– २५ हजार रुपैयाँको विक्री हुने गरिआएको उनले सुनाए ।
केरा परिकारमा ममः सबैभन्दा बढी विक्री हुनेगरेको श्रेष्ठले सुनाउनु भयो । उनका अनुसार ममःका अतिरिक्त तरकारी, चिप्स÷पकौडा÷अचार तथा बुंगाको अचारका परिकार समेत बनाइएको छ । ती सबैको विक्री मूल्य प्रति प्लेट एक सय रुपैयाँ हो । तर पनि ममः बढी बिक्री हुँदै आएको छ ।
महोत्सवमा केराका परिकार बाहेक अन्य विभिन्न प्रकारका १४८ वटा स्टल रहेका छन् । तीमध्ये ४५ वटा खाजा, खानाका रहेको आयोजकको भनाई छ ।
महोत्सवका अवसरमा यो वर्ष सुन्दरबजार नगरपालिकास्तरीय माविस्तरीय नृत्य प्रतियोगिता सञ्चालन गरिएको छ । त्यस्तै, खुल्ला दोहोरी प्रतियोगिता, खुल्ला एक नृत्य प्रतियोगिता, अन्तर विद्यालय विज्ञान प्रदर्शन प्रतियोगिताका साथमा कृषि मेला प्रदर्शनी समेत गरिएको नवौं सुन्दरबजार महोत्सव मूल आयोजक समितिका सचिव खेम गुरुङले बताउनु भएको छ । उहाँका अनुसार प्रतियोगिताको पहिलो आधा चरण सकिएका छन् ।
उहाँले भन्नुभयो, ‘माविस्तरीय नृत्य प्रतियोगितामा १० टिमले भाग लिएका छन् । त्यस्तै, खुल्ला दोहोरी प्रतियोगितातर्फ १२ टिमले भाग लिएका छन् । यसैगरी, खुल्ला एकल लोक नृत्य प्रतियोगितामा पनि १० टिमले नै नाम दर्ता गरेको अवस्था छ ।
अन्तर विद्यालय विज्ञान प्रदर्शन प्रतियोगिता फागुन २३ गतेबाट शुरु भएको छ । कृषि मेलाको नतिजा घोषणा भइसकेको नवौं सुन्दरबजार महोत्सव मूल आयोजक समितिका अध्यक्ष एवम् आयोजक लमजुङ उद्योग वाणिज्य संघ सुन्दरबजार इकाईका अध्यक्ष डण्डबहादुर सुनारले बताउनु भएको छ । उहाँका अनुसार कृषि प्रदर्शनीका लागि सुन्दरबजार नगरपालिकाको कृषि शाखाका प्राविधिक मायानाथ अधिकारीले संयोजन गर्नु भएको थियो ।
त्यस बाहेक स्थानीय र राष्ट्रिय कलाकारहरूका सांगीतिक प्रस्तुतिहरू रहेका छन् । जसमा नृत्य र गायनलाई प्राथमिकता दिइएको गुरुङको भनाई छ ।
आर्थिक मन्दीका कारणले विगत वर्षका जस्तो महोत्सवमा बढी आकर्षण देखिन सकेको छैन । आयोजकले समेत खर्चमा मितव्ययिता अपनाएका कारण बजार क्षेत्रलाई सजाउने, कार्यक्रम स्थलमा गेटमा ब्यानर सहितको सजावट समेत चुस्त हुन नसकेको सहभागीले बताएका छन् ।
तर पनि महोत्सव भने पछि स्वतः उत्पन्न हुने उमङ्ग, हर्ष उल्लासमा भने कमी देखिदैन । आयोजकबाट यो पटक मञ्चको स्थल परिवर्तन गरेका पाइयो । त्यो पनि अलिक नमिलेको(घामले बढी सेक्ने) देखिएको सहभागीहरूको प्रतिक्रिया छ ।

प्रकाशित मिति २०७९ फाल्गुन २३, मंगलवार १७:१४ गते