
जनकपुर– सञ्चारकर्मी ऋषि धमलालाई पटमूर्ख तथा मेयर साहलाई यस वर्षको उपाधि प्रदान गरिएको छ । यहाँ स्थित जानकी मन्दिरको प्राङ्गणमा होली उत्सवको अवसरमा आयोजित ‘महामूर्ख सम्मेलन’मा धमलालाई फागुन २३ गते पटमूर्ख घोषित गरिएको हो ।
मिथिला नाट्यकला परिषद्ले प्रत्येक वर्ष होली पर्वको अवसरमा महामूर्ख सम्मेलन आयोजना गर्दै आएको छ । सोही क्रममा आयोजकले धमलालाई पटमूर्ख घोषित गर्दै त्यसको उपाधि प्रदान गरेको हो । मिथिलाको कला संस्कृतिलाई संरक्षण एवम् संवर्द्धन गर्ने उद्देश्यले मिनापले प्रत्येक वर्ष होली पर्वको अवसरमा जनकपुरधाममा हास्य व्यङ्ग्य सांस्कृतिक कार्यक्रमसहित महामूर्ख सम्मेलन आयोजना गर्दै आएको छ ।
सो अवसरमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह यस वर्षको ‘महामूर्ख’ घोषित भएका छन् । यसैगरी, सम्मेलनले रत्नेश्वर लाल कर्णलाई डपौरशंख, हरि मण्डललाई वैशाख नन्दन, बिभा ठाकुरलाई गंधपसारैन, अरुणलाल कर्णलाई खबसुरता, संजय झालाई लोढाशंख घोषित गरेको आयोजकको भनाई छ ।
सो अवसरमा रेखा झालाई मनटुटिया, लालबाबु यादवलाई हराशंख, बलराम साहलाई बज्रसोटा, बिरेन्द्र रमणलाई शोटाचंद, किरण झा रश्मीलाई टुनमुसरी र डा. सोनुकुमार साहलाई बज्रकीटलाई पनि पटमूर्खको उपाधि प्रदान गरिएको बताइएको छ ।

प्रकाशित मिति २०७९ फाल्गुन २५, बिहीबार ०९:४१ गते