
नौथर(लमजुङ)– लमजुङमा १६ औं खुल्ला नकआउट फुटबल प्रतियोगिताको पहिलो उपाधि फुटबल क्लब द्वारले हत्याएको छ । जिल्लाको पूर्वी क्षेत्रमा रहेको दोर्दी गाउँपालिका– ८ हिलेबजारमा सो फुटबल प्रतियोगिता हिलेबजार युवा क्लबको आयोजनामा सञ्चालन गरिएको प्रतियोगिताको फागुन २८ गते साँझ समापन भएको हो ।
फाइनल खेल हिलेबजार युवा क्लब र फुटबल क्लब द्वारका बीच भएको थियो । खेल अवधिभर कुनै पनि पक्षबाट गोल हुन सकेन । त्यसपछि १५ मिनेट थप भएको समयमा पनि कुनै पक्षले उपयोग गर्न सकेनन् । त्यसपछि पेनाल्टी सुट आउटका लागि दुवै टिमलाई ६÷६ गोलको मौका दिइएको थियो । त्यसमा ४– ५ गोल अन्तरले फुटबल क्लब द्वार पहिलो भएको हो ।
पहिलो उपाधिका साथमा उक्त क्लबले पुरस्कार राशि नगद १ लाख सहित, ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ । त्यस्तै, दोस्रो भएको हिलेबजार युवा क्लब दोर्दी– ८ ले दोस्रो उपाधिका साथमा पुरस्कार ६० हजार रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक क्लबका उपाध्यक्ष सुजन गुरुङले बताउनु भएको छ । उहाँका अनुसार सेमी फाइनलमा पुगेका अन्य दुई टिम ढोडेकी एकता युवा क्लब र दोर्दी युवा क्लबले १० हजार नगरका साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
पहिलो हुने फुटबल क्लब द्वारले एकका विरुद्ध तीन गोल हासिल गरी फाइनलमा प्रवेश गरेको थियो भने दोस्रो हुने हिले बजार युवा क्लब ०– २ गोल गरी फाइनल चरणमा प्रवेश गर्न सफल भएको हो ।
सो प्रतियोगितामा खेल अवधिभर सात गोल गरेर हिलेबजार युवा क्लबका किरण तामाङ पुरस्कृत भएका छन् । यसैगरी उत्कृष्ठ खेलाडीमा पनि सोही क्लबका एलिस तामाङ पुरस्कृत भएको अयोजक क्लबका सचिव अमर तामाङले बताए । उनीहरू दुवैलाई जनही ५/५ हजार नगद र प्रमाणपत्र प्रदान गरिएको आयोजक हिलेवजार युवा क्लबका अध्यक्ष सागर गुरुङले जानकारी दिनु भयो । उहाँका अनुसार सो प्रतियोगितामा ३५ टिमले भाग लिएका थिए ।
सोही अवसरमा ३२ वर्ष माथिका खेलाडीहरूका बिचमा भेट्रान फुटबल प्रतियोगिता समेत सञ्चालन गरिएको थियो । सो प्रतियोगितामा अयोजक हिलेवजार युवा क्लबको टिम पहिलो भयो भने तमु युवा क्लब खिञ्चाक दोर्दी– ८ दोस्रा भएको थियो । सो प्रतियोगितामा सात टिमले भाग लिएका थिए । पहिलो हुने टिमलाई १५ हजार रुपैयाँ बराबरको बोका पुरस्कार दिइएको थियो भने दोस्रो हुने टिमलाई १२ केजीको कुखुराको मासु चार हजार आठ सय बराबरको पुरस्कार प्रदान गरिएको आयोजक क्लबका उपाध्यक्ष सुजन गुरुङले जानकारी दिनु भयो ।
प्रतियोगिताको समापनमा दोर्दी गाउँपालिकाका उपाध्यक्ष विच्छा घलेले विजेता टिम र खेलाडीलाई पुरस्कार र प्रमाणपत्र वितरण गर्नु भएको थियो । आयोजक हिलेवजार युवा क्लबका अध्यक्ष सागर गुरुङको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रमको सञ्चालन सचिव अमर तामाङले गरेको सो क्लबका उपाध्यक्ष सुजन गुरुङले जानकारी दिनु भयो ।
चैत २५ गतेबाट अर्को प्रतियोगिता हुने ः
यसैबीच, आउँदो चैत १५ गतेबाट खिञ्चोकमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ । सो प्रतियोगितामा पहिलो हुने टिमलाई एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ भने दोस्रो हुने टिमका लागि ८० हजार रुपैयाँ प्रदान गरिने भएको हिलेबजार युवा क्लबका उपाध्यक्ष सुजन गुरुङले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति २०७९ फाल्गुन २९, सोमबार २०:३७ गते