जिल्लामा सर्वाधिक पुरस्कार राशिको स्मार्ट भिलेज आमन्त्रित छैटौं गोल्ड कप फुटवल प्रतियोगिता– २०८० को तयारी

जिल्लामा सर्वाधिक पुरस्कार राशिको स्मार्ट भिलेज आमन्त्रित छैटौं गोल्ड कप फुटवल प्रतियोगिता– २०८० को तयारी

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ चैत ५ गते आईतबार ०६:२१

बेसीशहरबाट जम्मा २४ किमि दुरीमा रहेको घलेगाउँ जानका लागि कुनै दिन छ घण्टासम्म पैदल यात्रा गर्नु पर्दथ्यो भने अहिले बसबाट डेढ घण्टामै पुग्न सकिन्छ । लमजुङको सदरमुका बेसीशहर संघीय राजधानी काठमाडौंबाट १७२ किमि दुरीमा रहेको छ भने गण्डकी प्रदेशको राजधानी पोखराबाट ११० किमि दुरीमा रहेको छ । मध्यपहाडी लोकमार्ग सुचारु भएपछि भने यो दुरी झनै छोटिने भएको छ ।

खेलाडीहरूलाई खाना र वासको निःशुल्क व्यवस्थापन

बेसीशहर– लमजुङमा जिल्लामै सर्वाधिक पुरस्कार राशिको स्मार्ट भिलेज आमन्त्रित छैटौं गोल्ड कप फुटवल प्रतियोगिता– २०८० को तयारी थालिएको छ । सो प्रतियोगितामा सहभागी हुने खेलाडीलाई खाना र वासको निःशुल्क व्यवस्था गरिएको आयोजकले पत्रकार सम्मेलन गरी चैत ३ गते बताएको हो ।
लमजुङको क्ब्होलासोंथार गाउँपालिका– ३ स्थित स्मार्ट भिलेज घलेगाउँमा नयाँवर्षको शुभ अवसरमा नयाँवर्ष अर्थात आउँदो बैशाख १ गतेदेखि स्मार्ट भिलेज आमन्त्रित छैटौं गोल्ड कप फुटवल प्रतियोगिता– २०८० सञ्चालन गरिने भएको हो । पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँले यहाँ पत्रकार सम्मेलनको आयोजना त्यस्तो जानकारी दिएको हो ।

यसअघि खुला फुटवल प्रतियोगिता आयोजना गर्दै आएका घलेगाउँबासीले पहिलोपटक आमन्त्रित फुटवल प्रतियोगिता आयोजना गर्न लागेका हुन् । प्रतियोगितामा ‘ए’ डिभिजन खेलाडीले फुटवल खेल्ने र पहिलो हुने टिमका लागि ५ लाख ५५५ रुपैयाँको पुरस्कार राखिएको पत्रकारहरूलाई आयोजक पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँका अध्यक्ष प्रेम घलेले बताउनु भयो । उहाँका अनुसार सो प्रतियोगितामा जम्मा १० टिमले भाग लिनेमा जिल्ला भित्रका ४ वटा टीम आमन्त्रित गरिएको छ । घलेले भन्नुभयो, ‘यो प्रतियोगितामा ‘ए’ डिभिजनमा खेल्ने फुटवल खेलाडी सहभागी हुने छन् ।’ घलेगाउँस्थित नाइन ‘ए’ साइजको स्वर्गभूमि रंगाशालामा हुने प्रतियोगितामा आमन्त्रण गरिएका खेलाडीलाई खाना र वासको निःशुल्क व्यवस्था समेत गरिएको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्ति वाचन गर्र्दै अध्यक्ष घलेले बताउनु भयो ।
जिल्लामा सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिता :
अध्यक्ष घलेका अनुसार पहिलोपटक आयोजना गर्न लागिएको आमन्त्रित स्मार्ट भिलेज गोल्ड कप फुटवल प्रतियोगितामा पहिलो हुने टिमलाई नगद ५ लाख ५ सय ५५ रुपैयाँ, गोल्ड कप र मेडल पुरस्कार राखिएको बताएको छ । दोस्रो हुने टिमलाई नगद ३ लाख ३ सय ५५ रुपैयाँ, कप र मेडल राखिएको छ । यति ठूलो धनराशीको पुरस्कार राखेर समुद्री सतहदेखि २ हजार १ सय मिटर उचाइको ग्रामीण भेगमा आयोजना गरिने फुटवल प्रतियोगिता सम्भवतः नेपालमै पहिलो हुनसकने उहाँले दावी छ ।
लमजुङ जिल्लामा यसअघिसम्म सदरमुकाम बेसीशहर स्थित त्रिवेणी युवा क्लवले पहिलो पुरस्कार ५ लाख रुपैयाँ राखेर प्रतियोगिता सञ्चालन गरिआएको थियो । घलेगाउँमा आयोजित आमन्त्रित गोल्ड कप फुटवल प्रतियोगिता जिल्लाको हालसम्मकै सवैभन्दा ठूलो पुरस्कार राशीको फुटवल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई नगद १०÷१० हजार रुपैयाँ र मेडल प्रदान गरिने आयोजकको भनाइ छ । आयोजकका अनुसार यो कार्यक्रम सम्पन्न गर्न ३० लाख ८० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
सो प्रतियोगिताको पहिलो पुरस्कारको प्रायोजन आयोजक पर्यटन समिति आफैंले गर्ने र दोस्रो पुरस्कारको प्रायोजन क्व्होलासोंथर गाउँपालिका– ३ ले गर्ने सोही वडाका अध्यक्ष आसबीर गुरुङले जानकारी दिएका छन् ।
घलेगाउँमा आयोजना हुने आमन्त्रित फुुटवल प्रतियोगितामा भाग लिने क्लवहरुको नाम समेत पत्रकार भेटघाटका अवसरमा सार्वजनिक गरिएको छ । सो प्रतियोगितामा जिल्ला बाहिरका छ टीमहरूमा कास्की ११, नेपाल भानु युनाइटेड तनहुँ, समाजकल्याण खेलकुद केन्द्र काठमाडौं, सशस्त्र प्रहरी क्लव (एपीएफ) काठमाडौं, गोरखा ब्वयज बुटवल र (रड्स) रामपुर चितवन छन् । लमजुङका क्लवमा लालीगुराँस युवा क्लव भुजुङ, त्रिवेणी युवा क्लव बेंसीशहर, बुद्ध युथ क्लव भोटेओडार र बेंसीशहर युथ सोसाइटी शेरा रहेका छन् । यसैगरी, जिल्ला भित्रका आमन्त्रित क्लबहरूमा बेसीशहरका त्रिवेणी युवा क्लव र बेसीशहर युथ सोसाइटी छन् भने अन्यमा लालीगुराँस युवाक्लब भुजुङ र बुद्ध युथ क्लब भोटेओडार रहेका छन् ।
खेलाडीलाई खाना र वासको निःशुल्क व्यवस्था :
नाइन ‘ए’ साइडको स्वर्गभूमि रंगाशालामा हुने प्रतियोगितामा आमन्त्रण गरिएका खेलाडीलाई खाना र वासको निःशुल्क व्यवस्थापन गरिएको स्मार्ट भिलेज घलेगाउँ व्यवस्थापन समितिका सचिव उमलबहादुर विकले बताउनु भयो । उहाँका अनुसार बैशाख १ गते नेकपा एमाले उपमहासचिव एवम् प्रतिनिधि सभा सदस्य पृथ्वीसुब्बा गुरुङले फुटवल प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम छ । यसैगरी सो कार्यक्रममा संविधान सभा सदस्य जमीन्द्रमान घले, क्व्होलासोंथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङलगायत अतिथि रहनु हुनेछ । उक्त फुटवल प्रतियोगिताको उद्घाटनका अवसरमा शित्तल गुरुङ, रेजिना परियार साथै अन्य कलाकारहरूको सांगीतिक प्रस्तुति हुनेछ ।
पत्रकार भेटघाटका प्रमुख अतिथि क्व्होलासोंथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले ग्रामीण भेगमा आयोजना हुने सर्वाधिक राशीको फुटवल प्रतियोगिताले पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने दावी गर्नु भयो । उहाँले घलेगाउँमा आफैंमा एउटा ब्राण्ड रहेको र खेलकुदले यसलाई थप उचाई दिनेमा विश्वास व्यक्त गर्नु भयो ।
सो अवसरमा पत्रकारहरूले राखेका जिज्ञासाका बारेमा पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँका अध्यक्ष प्रेम घले र क्ब्होलासोंथार गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङले जवाफ दिनु भएको थियो ।
सो पत्रकार भेटघाट कार्यक्रममा क्व्होलासोंथार गाउँपालिका– ३ का अध्यक्ष आसबीर गुरुङ, सोही गाउँपालिकाका प्रशासकीय अधिकृत त्रिलोकचन्द्र गुरुङ, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष परमेश्वर अधिकारी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योगबहादुर गुरुङ, पत्रकार महासंघका संस्थापक अध्यक्ष एवम् वरिष्ठ पत्रकार नवराज पहाडीलगायका पत्रकारहरू, त्रिवेणी युवा क्लवका अध्यक्ष विनोद गुरुङ, निवर्तमान अध्यक्ष सिजन श्रेष्ठ, तिजे उत्तरकन्या स्पोर्टस् क्लवका निर्देशक नवराज घले, फुटवल प्रतियोगिताका संयोजक गंगा घले, क्व्होलासोंथार गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष नौराज गुरुङ, कन्याज्योति युवा क्लवका अध्यक्ष कालु गुरुङ लगायतको सहभागिता रहेको थियो । सो पत्रकार सम्मेलनको सञ्चालन पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँ व्यवस्थापन समितिका सचिव उमलबहादुर विकले गर्नु भएको थियो । उक्त प्रतियोगिता सात दिनसम्म सञ्चालन हुने आयोजकको भनाई छ ।
घलेगाँउमा पर्यटन विकास संक्षिप्तमा :
ग्रामीण पर्यटनको अवधारणा अनुसार गाउँको जीवनस्तर उठाउन सकिन्छ भन्ने विश्वासका आधारमा यसको प्रचारप्रसारका लागि २०५७ सालको बैशाख २३ गते पहिलो घलेगाउँ महोत्सवको आयोजना गरिएको थियो । त्यसैगरी, २०५८ को चैत २७ र २८ गते घलेगाउँ कला महोत्सवको आयोजना गरिएको थियो । २०६४ सालमा दक्षिण एशियाकै ग्रामीण पर्यटकीय नमूना गाउँ (सार्क भिलेज) घोषणा गरिएको हो । कुल १३० घर रहेको घले गाउँका ४२ घरमा होमस्टे सञ्चालनमा रहेको छ । यतिबेला घलेगाउँले चार सय पाहुना राख्न सक्ने क्षमताको विकास गरेको जानकारीमा आएको छ । २०७६ मंसिर १७ गते घलेगाँउलाई स्मार्ट भिलेज धोषणा गरिएको थियो भने २०७९ बैशाख २ गते घलेगाँउलाई सुखी गाँउ घोषणा गरिएको हो । घलेगाँउ सतहदेखि २१०० मिटर उचाइमा रहेको छ ।

बेसीशहरबाट २४ किमि दुरी :
बेसीशहरबाट जम्मा २४ किमि दुरीमा रहेको घलेगाउँ जानका लागि कुनै दिन छ घण्टासम्म पैदल यात्रा गर्नु पर्दथ्यो भने अहिले बसबाट डेढ घण्टामै पुग्न सकिन्छ । लमजुङको सदरमुका बेसीशहर संघीय राजधानी काठमाडौंबाट १७२ किमि दुरीमा रहेको छ भने गण्डकी प्रदेशको राजधानी पोखराबाट ११० किमि दुरीमा रहेको छ । मध्यपहाडी लोकमार्ग सुचारु भएपछि भने यो दुरी झनै छोटिने भएको छ ।

प्रकाशित मिति २०७९ चैत्र ५, आईतवार १८:२१ गते
हजुरको प्रतिक्रिया