क्व्होलासोंथार गाउँपालिकाले सुरु गर्यो विद्युतीय हाजिरी

क्व्होलासोंथार गाउँपालिकाले सुरु गर्यो विद्युतीय हाजिरी

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ चैत १८ गते शनिवार ०१:०३



विद्युतीय हाजिरी मेशिन गाउँपालिकासहित सवै कार्यालय प्रमुखको कार्याकक्षमा जडान गरिएको अधिकृत गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार तत्काल गाउँपालिका कार्यालयमा मात्रै करिब ४० जनाले सो हाजिरी उपयोग गर्नेछन् ।

नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सूचना प्रविधि विभागसँग सहकार्यमा गाउँपालिकामा विद्युतीय हाजिरीको व्यवस्था

मालिङ(लमजुङ)– लमजुङको क्व्होलासोंथार गाउँपालिका र गाउँपालिका मातहातका सवै शाखा तथा वडा कार्यालयहरूमा विद्युतीय हाजिरी सुरु गरिएको छ । चैत १७ गतेबाट सो सेवा सुरु भएको हो ।
कर्मचारीलाई कार्यालयको कामप्रति जिम्मेवार र जवाफदेही बनाउन गाउँपालिकाले पालिका कार्यालय, वडा कार्यालय र स्वास्थ्य संस्थाहरू तथा शाखाहरूमा विद्युतीय हाजिरी जडान गरेको सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत त्रिलोकचन्द्र गुरुङले बताउनु भयो । उहाँका अनुसार गाउँपालिका कार्यालय, वडा नं. १ देखि ९ सम्मका सबै वडा कार्यालय, स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाई र आधारभूत स्वास्थ्य सेवा केन्द्रमा विद्युतीय हाजिरी मेशिन जडान गरिएको बताउनुभयो । तत्कालका लागि पालिकाको शाखाका कर्मचारीहरूले पालिकाकै कार्यालय रहेको मेसिनमा हाजिर गर्ने छन् ।
विद्युतीय हाजिरी मेशिन गाउँपालिकासहित सवै कार्यालय प्रमुखको कार्याकक्षमा जडान गरिएको अधिकृत गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार तत्काल गाउँपालिका कार्यालयमा मात्रै करिब ४० जनाले सो हाजिरी उपयोग गर्नेछन् ।
हाजिरी रजिष्टरमा हाजिर गर्दा कर्मचारी कुनबेला कार्यालयमा आए नगएकोबारे सही जानकारी हुन नसक्ने भएको हुँदा कार्यालयमा पूरै समय समेत बसेर काम गर्ने वातावरण तय गर्न विद्युतीय हाजिरी मेशिन जडान गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार कार्यालयमा विद्युतीय हाजिरीको व्यवस्था भएपछि अघिपछि हाजिर गर्ने कार्यको अन्त्य हुने र अनुगमन कार्यमा पनि सहजता हुने आंकलन छ ।
अहिले सुरुको समय भएकाले विद्युतीय मेशिनसंगै कागजी रजिष्टरमा पनि हाजिर गर्न लगाइएको उहाँको भनाइ छ ।
पालिका कार्यालय, वडा कार्यालय र स्वास्थ्य संस्था गरी १७ वटा विद्युतीय मेशिन ३ लाख ७० हजार रुपैयाँ खरिद गरेर जडान गरिएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत अनिल पौडेलले बताउनुभयो । उहाँका अनुसार यही चैत १ गतेबाट विद्युतीय हाजिरी मेशिन परीक्षण सञ्चालनमा ल्याइएको हो ।
चालु आर्थिक वर्ष २०७९÷८० को वार्षीक नीति तथा कार्यक्रम अनुसार गाउँपालिका कार्यालय, वडा कार्यालय र स्वास्थ्य संस्थामा विद्युतीय हाजिरीको व्यवस्था गरिएको सो गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले बताउनुभयो । उहाँका अनुसार नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सूचना प्रविधि विभागसँग सहकार्यमा गाउँपालिकामा विद्युतीय हाजिरीको व्यवस्था गरिएको हो । उहाँले भन्नुभयो, ‘विद्युतीय हाजिरी मेशिन जडान भएपछि कर्मचारी समयमै कार्यालय पुग्ने, नागरिकलाई चुस्ता सेवा दिने र सुशासन कायम हुने थप विश्वास जागृत भएको छ ।’

प्रकाशित मिति २०७९ चैत्र १८, शनिबार १३:०३ गते
हजुरको प्रतिक्रिया