
चामे(मनाङ)– हिमाल पारीको जिल्ला मनाङमा प्रथम जिल्लास्तरीय अन्तर गाउँपालिका रनिङ कप फुटवल प्रतियोगिता सञ्चालन गरिएको छ । चामे गाउँपालिका– १ स्थित तिमाङको खेल मैदानमा भएको उक्त प्रतियोगिताको उपाधि नासों गाउँपालिकाले बैशाख २४ गते हात पारेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) मनाङको आयोजनामा भएको सो प्रतियोगिताको फाइनल खेल सदरमुकाम स्थित चामे गाउँपालिका र नासों गाउँपालिका बीच प्रतिस्पर्धा भएको थियो । २– ३ गोल गर्दै नासों गाउँपालिकाले पालिका रनिङ कपको उपाधि हात पारेको आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) मनाङका अध्यक्ष यज्ञ घलले बताउनु भयो । उहाँका अनुसार फाइनल खेलमा नासोंका मिथुन गुरुङ म्यान अफ दि म्याच घोषित भएका छन् । सो प्रतियोगितामा जिल्लामा रहेका चार गाउँपालिकाका एक एक टिमले भाग लिएका थिए ।
प्रतियोगिताको विजेता टिम नासों गाउँपालिकाले एक लाख रुपैयाँ नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । उपविजेता चामे गाउँपालिकाको टिमले पुरस्कार स्वरुप ६० हजार रुपैया ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिएको आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) मनाङका अध्यक्ष घलले बताउनु भयो । उहाँका अनुसार प्रतियोगितामा नासोङ गाउँपालिकाका मिथुन गुरुङले सर्वाधिक गोलकर्ता, अर्जुन गुरुङ उत्कृष्ट गोलकिपर र चामे गाउँपालिकाका विवेक वरामले उत्कृष्ट खेलाडीको उपाधि हासिल गरेका छन् । घलेले भन्नुभयो, ‘उनीहरू तीनै जनालाई नगद पाँच÷पाँच हजार मेडल र प्रमाणपत्र पुरस्कार दिइएको छ ।’ यसैगरी, प्रतियोगितामा नार्फाभूमि गाउँपालिको टिमले अनुशासित टिमको उपाधी सहित नगद १५ हजार पुरस्कार र प्रमाण पत्र पाएको छ ।
प्रतियोगितामा मनाङ जिल्लाका चार गाउँपालिका चामे, नासों, मनाङ ङिस्याङ र नार्पाभूमिको सहभागिता रहेको थियो । सम्पन्न प्रतियोगिता सञ्चालनका लागि विभिन्न व्यक्ति तथा क्षेत्रबाट सहयोग प्राप्त भएको एन्फा मनाङले जनाएको छ ।
प्रतियोगिताको समापनका अवसरमा जिल्ला समन्वय समितिका प्रमुख चिन घले, चामे गाउँपालिकाका अध्यक्ष लाकेन्द्र घले, सहायक प्रजिअ शिसिर घिमिरे, इन्द्रदल गुल्मका गुल्मपति दिलिप आङदम्बे, सशस्त्र प्रहरी बल ३२ गुल्मका गुल्म पति दुर्गाबहादुर थापा, नेपाल प्रहरीका प्रहरी निरीक्षक विजयराज तिमिल्सिनालगायतले विजेता खेलाडीलाई संयुक्त रुपमा पुरस्कार र प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
एन्फाका जिल्ला अध्यक्ष घलेको अध्यक्षतामा भएको समापन कार्यक्रममा उहाँले जिल्लाबासी सबैको साथ र सहयोगबाट मनाङमा पहिलो पटक अन्तरपालिका रनिङ कप सफलतापूर्वक सम्पन्न गर्न सकेको भन्दै सहयोगी सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नु भएको थियो । उहाँले भौगोलिक विकटता तथा विभिन्न समस्याहरूको बावजुत पनि युवाहरूलाई खेलप्रति आर्कषित गर्न र स्थानीय खेलाडी उत्पादनको लागि प्रतियोगिताको आयोजना गरिएको उल्लेख गर्नु भयो ।

प्रकाशित मिति २०८० बैशाख २६, मंगलवार २०:२२ गते