
सुन्दरबजार(लमजुङ)– सुन्दरबजार नगरपालिका ७ का भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा विरतण गर्न जग्गाको कित्ता निर्धारण गरिएको छ । राष्ट्रिय भूमि आयोग, जिल्ला समिति लमजुङले सुन्दरबजार नगरपालिका– ७ मा एक कार्यक्रमका बीच साउन ४ गते कित्ता निर्धारण गरेको हो ।
सो अवसरमा वडाध्यक्ष रेग्मीले यो राम्रो काम भएकोले अब छिटो भन्दा छिटो भूमिहीनहरूका नाममा पूर्जा बनाएर आयोगले ल्याउने छ भन्नेमा आफू विश्वस्त रहेको बताउनु भयो । आफ्नो वडाबाट प्रक्रिया पुरा गरी पालिकामा सिफारिस गरी पठाएको ६ महिना पछि मात्र कित्ता निर्धारण गर्ने काम सम्पन्न गर्न आफूहरू सफल भएको भन्दै खुशी व्यक्त गर्नु भयो । भुमिहीनहरूलाई निर्धक्क भएर त्यहाँ जान र त्यहाँ बत्ति, पानीदेखि अन्य कुराहरू उपलब्ध गराउन वडा सधै सकरात्मक रहने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
सो अवसरमा राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष दामोदर अधिकारीले भुमिहीनहरूलाई अब तपाईहरू भूमिहीन नभएको र छिट्टै पुर्जा पाउने कुरामा विश्वस्त गराउनु भयो । ढिलै भएपनि कित्ता निर्धारण गर्ने चरण पार गर्यौं अब हामी केही दिनमा नै फिल्डबुक चढाई श्रेस्ता कायम गरी पूर्जा बनाउनको लागि बोलाउने छौं । उहाँले भन्नुभयो, ‘जिल्लामा पहिलो पटक सुन्दरबजार नगरपालिकामा सुकुम्बासीका लागि लालपूर्जा वितरण कार्यको तयारी गरिएको हो ।’ अन्य पालिकामा पनि यो काम अघि बढिरहेको छ तर सुन्दरबजारमा जिल्लामै पहिलोपटक लालपूर्जा वितरण कार्य हुँदैछ उहाँले बताउनु भयो ।
सुन्दरबजार नगरपालिका– ७ मा आयोगले अन्तिम नामावलि निकालेको १८ जना मध्ये १५ जनालाई गोला प्रथाबाट कित्ता छान्न लगाईएको थियो । आयोगले दिन नमिल्ने भनेको÷नकरात्मक जमिन आवाद कमोत गरेकाहरूको लागि सुन्दरबजार नगरपालिका– ७ टुनीपाटोमा ४ आना २ पैसा का २५ वटा कित्ताका जमिन बनाएकोलाई नै सम्बन्धित वडालाई प्राथमिकतामा राखेर गोला तान्न लगाईएको पालिकाका सेवा केन्द्र प्रमुख विवेककुमार पण्डितले जानकारी दिनु भयो । उहाका अनुसार धेरै भूमिहीनहरू गाउँ पञ्चायतको नाममा रहेको जमिन आवाद कमोत गरेका छन् । गाउँ पञ्चायतको जग्गा, पौवा, बाटो तथा डेरामा बसेका भुमिहीनहरूलाई कित्ता निर्धारण गरिएको हो । सु.न.पा. ७ का २ जनालाई सहकाले २ जनालाई सुकुम्बासी बस्तिमै जग्गा व्यवस्थापन गरिएको छ ।
सुन्दरबजार– ६ का २ जनालाई पनि त्यही टुनीपाटोमा व्यवस्थापन गरिने भएको छ । सुन्दरबजार– ९ का १७ जना मध्ये केहीलाई पिपलपाटा र केहीलाई टुनिपाटोमा नै व्यवस्थापन गर्ने गरी तयारी थालिएको ले आउँदो साउन ९ गते गोला प्रथा मार्फत उनीहरूको कित्ता निर्धारण गरिने छ । सुन्दरबजार– ४, ३ र ११ का भूमिहीनहरूका लागि संम्बन्धित वडामा नै जग्गा व्यवस्थापन गरिने आयोगका कम्प्युटर अपरेटर बिराट न्यौपानेले बताउनु भयो । उहाँका अनुसार सुन्दरबजार नगरपालिकामा भूमिहीन दलित ८ र भूमिहीन सुकुम्बासी ३६ गरी ४४ जनाको नाम आयोगले सिफारिस गरेको छ ।
उहाँले भन्नुभयो, ‘केही थप अध्ययन गर्नु पर्ने भनि पालिकाले प्रतिबेदन पठाएका भुमिहीनहरुका बारेमा आयोगले अध्ययन गरिरहेकोले छिट्टै सूचना प्रकाशन गरी जानकारी गराउने छ ।’
कित्ता छनौट कार्यक्रममा आयोगका अध्यक्ष दामोदर अधिकारिको उपस्थितिमा सो वडाका वडाध्यक्ष जयराम रेग्मी, पालिकाका प्रशासन शाखा प्रमुख तथा आयोगको सेवा केन्द्र प्रमुख विवेककुमार पण्डित, सूचना प्रविधि प्रमुख सुजन मिश्र, पालिकाका अमिन सुसन न्यौपाने, कार्यपालिका सदस्य बिलबहादुर घर्ती, वडा सदस्यहरू मुरली कुमाल, बुद्धिमाया बि.क., सबिना सापकोटा आदिको रोहबरमा गोला प्रथा मार्फत कित्ता निर्धारण गरिएको हो ।

प्रकाशित मिति २०८० श्रावण ५, शुक्रबार १२:३५ गते