राष्ट्रिय स्वतन्त्र पार्टीले अब नियमित रुपमा सार्वजनिक सुनुवाई गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले अब नियमित रुपमा सार्वजनिक सुनुवाई गर्ने

अन्तरङ्ग न्युज

@antaranganews

२०८० साउन २८ गते आईतबार १२:२२

राजनीति गर्न चाहनेहरूले व्यक्तिगत जीवनबाट माथि उठ्नु पर्छ, जनताका बीचमा गरेका बाचा बिर्सिएमा उनीहरूले हामीलाई पनि बिर्सनेछन्, त्यसैले के गर्नु पर्छ आफै ठम्याउनुस् र कर्मक्षेत्रमा डट्नुस्, उपलब्धी अवश्य पनि हात लाग्ने छ सांसद तोसिमाले भन्नुभयो ।

पालिकास्तरका समितिले पनि अनिवार्य अडिट गर्नुपर्ने

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले अब नियमित रुपमा सार्वजनिक सुनुवाई गर्ने घोषणा गरेको छ । सो दलको गण्डकी प्रदेशस्तरीय दुई दिने प्रशिक्षणको अन्तिम दिन महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकालले आउँदो भदौ १० गतेबाट सो कार्य चितवनबाट सुरु हुने साउन २७ गते बताउनु भएको हो ।
रास्वपाका सभापति रवि लामिछानेले सो कार्यको थालनी आफ्नै निर्वाचन क्षेत्र चितवन– २ बाट गर्नु हुने जानकारी दिनुभयो । पार्टीले सञ्चालनमा ल्याएको एम्बुलेन्स सेवा तथा ब्ल्यू बसका बारेमा धेरै प्रश्न उठेको हुँदा त्यसको जवाफ पार्टी सभापति आफैले सोही स्थानबाट दिने उहाँले जानाकारी दिनु भयो । एम्बुलेन्स सेवा तथा ब्ल्यू बसको सो अभियानलाई परीक्षणका रुपमा त्यहाँ सुरु गरिएको र सफल भएमा अन्य निर्वाचन क्षेत्रमा पनि विस्तार गरिने उल्लेख गर्नु भयो । उहाँले भन्नेभयो, ‘त्यसपछि हरेक ३÷४ महिनको अन्तरमा निरन्तर सार्वजनिक सुनुवाई गर्ने पार्टीको निर्णय छ ।’
सो प्रशिक्षणमा सहभागी भएका कार्यकर्ताहरूको प्रश्नको जवाफ दिदै रास्वपाका महामन्त्री ढकालले आर्थिक पारदर्शीता सबैभन्दा महत्वपूर्ण विषय भएको हुँदा लेखा परीक्षण कार्य केन्द्रमा मात्र हैन, प्रदेश, जिल्ला र पालिकास्तरमा पनि अनिवार्य रुपमा गर्नु पर्छ उहाँले निर्देशन दिदै भन्नुभयो । उहाँका अनुसार निकट भविष्यमै पार्टीको नीति घोषणा हुने र त्यसको मस्यौदा अन्तिम भइरहेको जानकारी दिदै पार्टीको प्यान नंबर समेत रास्वपाले लिए पछि भरखर, भरखर अन्य दलहरूले लिन थालेको जानकारी दिनुभयो । उहाँले अन्य पार्टी विस्तार तर रास्वपा भने निर्माणको चरणमा रहेको उल्लेख गर्दै हामीलाई पार्टी निर्माणको बेलामा ठूलो आर्थिक व्ययभार पर्ने भएको हुँदा सदस्यता शुल्क केही महंगो(एक हजार) जस्तो भएको हो तर पैसा हुँदै नभएमा विपन्नका लागि पनि सदस्यता निःशुल्क दिने प्रावधान छ, त्यसका केही सर्तको पालना गर्नु पर्ने हुन्छ त्यो गर्नु होला, रास्वपाको सदस्यता लिनबाट कोही बञ्चित हुनुहुने छैन उहाँले प्रष्ट्याउनु भयो ।
सबै पार्टी झुण्ड हुन् र हाम्रो पनि त्यही हो भन्दै तर हामी हाम्रो पार्टीलाई नीति, अनुशासन र प्रशिक्षणद्वारा परिस्कृत गर्ने तयारीमा जुटिरहेको छ उहाँले उल्लेख गर्नुभयो ।
सो अवसरमा बचत सहकारीहरूले मानिसलाई धेरै व्याज दिने प्रलोभनमा फसाउँदै टाट पल्टाउने काम गरेको भन्दै आक्रोश व्यक्त गरिएको थियो ।
उहाँले दृढ संकल्पका साथ भन्नुभयो, ‘हामी पार्टीका हर गतिविधिलाई आम नागरिक र कार्यकर्ताले शिर ठाडो हुने गरी काम गर्नेछौं ।’
त्यसअघि केन्द्रीय सदस्य मेघ आलेले पार्टीमा टिमको महत्व किन छ ? र त्यसको परिचालन कसरी गर्ने, भ्रष्टाचार लगायतका विसंगतिले आक्रान्त देशलाई के कसरी मुक्त गर्न सकिन्छ ? भन्ने बारेमा प्रयोगात्मक अभ्यास गराउनु भएको थियो ।
यसैगरी, पूर्वशिक्षा मन्त्री समेत रहनु भएका सांसद शिशिर खनालले पछिल्लो दुई दशक अवधिको शिक्षाको बारेमा समीक्षात्मक तथ्यांक प्रस्तुत गर्नु भएको थियो । उहाँले संघ र प्रदेश सरकारको बजेटको तुलनात्मक विश्लेषण गर्दै विकास भनेको सकड, ढल र खानेपानी मात्र हो भन्ने छ, संविधानले प्रदत्त गरेको सहकारिता, सहकार्य र समन्वयको सिद्धान्तलाई आत्मसात गरी अघि बढ्नु पर्छ तर पुराना दलहरू त्यसका लागि खासै तयार देखिदैनन् भन्नुभयो ।
सो अवसरमा ‘समृद्धिको रोडम्याप र अर्थ राजनीति’ विषयमा आफ्नो प्रस्तुतिकरण राख्नु हुँदै सांसद डा. स्वर्णिम वाग्लेले तथ्यका आधारमा अफवाह चिर्ने काम गर्नु पर्छ भन्नुभयो । उहाँले सुसंस्कारयुक्त राजनीति र विकास रास्वपाको सपना हो भन्नुभयो । विकासका तीन आधार छन् त्यसमै आधारित रहेर अघि बढ्नु पर्छ उहाँले भन्नुभयो । उहाँले अति कमविकसित राष्ट्रबाट विकासशील राष्ट्रको दाजोमा पुग्ने, देशले त्यो जमर्को गरिहेको छ । सन् २०३० को दिगो विकास लक्ष्यलाई मिट गर्ने, त्यसका लागि अब सात वर्ष बाँकी छ र चुनौति छ भन्दै उहाँले त्यसका १७ ठूला उद्देश्य, १६९ उपलक्ष्य र ३५० वटा सूचक रहेको उल्लेख गर्नु भयो ।
यसैगरी तेस्रो, विकासको बहुआयामिक गन्तव्यमा पुग्नु हो भन्दै सांसद वाग्लेले सुशासनका पाटाहरू दर्विला नहुँदासम्म विकास कोरा सपनामात्र हुने ठोकुवा गर्नु भयो । १६० वर्ष अघि अमेरिका र अर्जेन्टिना समान हैसियतमा थिए, आज तपाईले देख्नु भएको छ यी दुई देश कुन कहाँ छन् ? भन्दै नेपालबाट वर्षेनी चारलाख मानिस बाहिरिन बाध्य हुनुपर्ने स्थिति छ । त्यो जनशक्तिलाई रोक्ने र बाहिरिएको २२ लाख जनशक्तिलाई स्वदेश फिर्ता गर्ने लक्ष्यका लागि काम गर्नु पर्ने बेला आएको छ उहाँले भन्नुभयो ।
एमसिसि बारेमा :
उहाँले एमसिसि बारेमा आफ्नो धारणा राख्दै भन्नुभयो, ‘संसदमा एमसिसिको प्रस्तावक एमाले हो र त्यसमा काँग्रेस र माओवादीले ताली पिटेका हुन् । जुन समयमा रास्वपा सदनमै थिएन, त्यस्तो कलंकको टीका हामी किन बोक्ने ?’ भन्दै उल्टै प्रश्न गर्नु भयो ।
यसैगरी, उद्योग वाणिज्यका बारेमा प्रकाश पर्नु हुँदै सांसद गणेश पराजुलीले नेपाली उद्योगको वर्तमान अवस्था र पार्टीको उद्योग विभागको भूमिका विषय बारेमा विविध जानकारी दिनुभएको थियो । उहाँले वर्तमान अवस्थामा गार्हस्थ उत्पादनमा ५.५ प्रतिशत मात्र योगदान रहेको छ । यो स्तरलाई कम्तिमा २०– २५ प्रतिशत पुर्याउनु पर्छ भन्ने पार्टीको धारणा रहेको उल्लेख गर्दै त्यसका लागि उत्पादन र निर्यात बढाउने कार्यमा लाग्नु पर्छ भन्नेमा जोड दिनुभयो ।
सांसद तोसिमा कार्कीले ‘जनप्रतिनिधि र नागरिकसँगको सम्बन्ध’ विषयमा प्रकाश पार्नु भएको थियो । उहाँले नेता हुनेले गाली सुन्न सक्नु पर्छ भन्नुभयो । उहाँले पछिल्ला दिनमा गुनासा कम हुन थालेको भन्दै समस्या समाधान भएर हो कि ? आशा कम भएर हो ? त्यो अनुसन्धान गर्नु पर्ने बेला आएको छ भन्नुभयो । आफूभन्दा माथि देश र जनतालाई राख्नै पर्छ भन्दै उहाँले राजनीति गर्न चाहनेहरूले व्यक्तिगत जीवनबाट माथि उठ्नु पर्छ भन्नुभयो । उहाँले जनताका बीचमा गरेका बाचा बिर्सिएमा उनीहरूले हामीलाई पनि बिर्सनेछन्, त्यसैले के गर्नु पर्छ आफै ठम्याउनुस् र कर्मक्षेत्रमा डट्नुस्, उपलब्धी अवश्य पनि हात लाग्ने छ भन्नुभयो ।
समापन कार्यक्रममा पार्टी सभापति रवि लामिछाने आउने कार्यतालिका थियो तर उहाँ मौसम खराब भई प्लेन नचलेका कारणले आउन सक्नु भएन । त्यसैले महामन्त्रीको मन्तव्यसँगै प्रशिषण समापन भएको थियो । सो प्रशिक्षण रास्वपाका गण्डकी प्रदेशका सभापति राजन गौतमको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मिति २०८० श्रावण २८, आईतवार १२:२२ गते
हजुरको प्रतिक्रिया