अस्पतालबाट गायब पारिएकी शिशु फेला : डाक्टरले बेचेको प्रहरीको दावी

अस्पतालबाट गायब पारिएकी शिशु फेला : डाक्टरले बेचेको प्रहरीको दावी

अन्तरङ्ग न्युज

@antaranganews

२०८० भदौ ५ गते मङ्गलबार ०७:५९

राई र ती युवतीबीचको सम्बन्धबाट गर्भ बसेपछि प्रेमिका भनिएकी युवतीलाई राईले विराटनगर ल्याएका थिए । उनले अस्पतालमा आफ्नो नाम मानबहादुर तामाङ र युवतीको फूलकुमारी तामाङ लेखाएको पाइएको छ । ठेगाना भोजपुर नलेखी सुनसरीको रामधुनी– ११ जनाइएको थियो ।

छोरी बिक्रीमा बाबुसमेत संलग्न

विराटनगर– यहाँ स्थित ग्रीनक्रस अस्पतालबाट गायब पारिएका शिशु चिकित्सक डा तपेश्वरलाल कर्णले नै बेचेको खुलासा भएको छ । मोरङ प्रहरीले शिशु फेला पारेपछि यो तथ्य भदौ ५ गते खुलेको हो ।
मोरङको कहटरी– २ की दिलमाया राजवंशीलाई डा. कर्णले शिशु दिएको खुलेको प्रहरी भनाइ छ । प्रहरीका अनुसार नवजात शिशुलाई मोरङ कटहरीका एक निःसन्तान दम्पतीले किनेको खुलेको छ । कति पैसा लिएर दिएको भन्ने अनुसन्धानमै रहेको छ ।’
मोरङको कटहरी गाउँपालिका– २ की दिलमाया राजवंशीले शिशु खरिद गरेको पाइएको प्रहरीले जनाएको छ । अविवाहित महिलाले जन्माएको शिशु बिक्री गरेको खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताउनु भयो । उहाँका अनुसार शिशु बिक्रीमा प्रसूति गराउने र उपचारमा संलग्न चिकित्सक र शिशुको बाबु नै रहेको प्रहरीको भनाइ छ । प्रहरीले शिशुकी आमाको प्रेमी र चिकित्सकलाई भदौ १ गते पक्रउ गरेको हो । प्रसूति गराउने चिकित्सक प्रहरीले पक्राउ गर्ने भएपछि बिरामी भएको बाहना गर्दै अस्पतालमा भर्ना भएका थिए ।
ग्रिनक्रस अस्पतालका अध्यक्ष कृष्ण खवासले दिएको जानकारी अनुसार ९५० ग्रामको शिशु जन्मिएको थियो ।
‘हामीले शिशु फेला पारेका छौं, आजदेखि अनुसन्धान सुरू भएको छ ।’ मोरङ प्रहरीका डिएसपी रञ्जन दाहालले भन्नुभयो । उहाँका अनुसार उहाँका अनुसार प्रहरीले घटनामा अन्यको समेत संलग्नताबारे अनुसन्धान गरिरहेको छ ।
उहाँले भन्नुभयो, ‘पक्राउ परेका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा कर्ण कोशी अस्पतालका पूर्व प्रमुख (मेडिकल सुपरिटेन्डेन्ट) हुन् भने २७ वर्षे शिशुका बाबु राई भोजपुर हतुवागढी गाउँपालिका–४ का बासिन्दा हुन् ।’
सामान्यरूपमा छोरीको जन्म भए पनि आफूलाई नदिई गायब बनाइएको विवरणसहित युवतीले प्रहरीमा उजुरी दिएकी थिइन् । त्यसपछि प्रहरीले अनुसन्धान थालेको थियो । राई र ती युवतीबीचको सम्बन्धबाट गर्भ बसेपछि प्रेमिका भनिएकी युवतीलाई राईले विराटनगर ल्याएका थिए । उनले अस्पतालमा आफ्नो नाम मानबहादुर तामाङ र युवतीको फूलकुमारी तामाङ लेखाएको पाइएको छ । ठेगाना भोजपुर नलेखी सुनसरीको रामधुनी– ११ जनाइएको थियो ।
घट्ना विवरण :
गत असार १३ मा सुनसरी रामधुनी नगरपालिकाकी फूलकुमारी तामाङ (नाम परिवर्तन) लाई प्रसूति व्यथाले सतायो। अविवाहित उनले त्यो कुरा आफ्ना प्रेमी गोविन्द राईलाई सुनाइन् । गोविन्दले उनलाई विराटनगरस्थित ग्रीनक्रस अस्पतालमा पु¥याए ।
उनलाई अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. तपेश्वरलाल कर्णले चेकजाँच गरे । र, व्यथा अझै बढ्ने औषधि दिए । त्यसको केहीबेरपछि उनले नर्मल रूपमा छोरी जन्माइन् । भोलिपल्ट अर्थात् असार १४ मा अस्पतालले उनलाई डिस्चार्ज गर्यो । जब अस्पतालले घर जाने अनुमति दियो, फूलकुमारीको साथमा शिशु थिइनन् ।
उनले बच्चा खै भनेर सोधिन् । उनका प्रेमी गोविन्दले बच्चा अस्पतालमै रहेको, उपचारका लागि राख्नुपर्ने बताए । बिहे गर्ने वाचा गरेका प्रेमीको कुरा पत्याएर उनी प्रेमीसँगै इटहरी फर्किइन् ।
फूलकुमारीका अनुसार उहाँ(राई)ले मलाई बच्चा बिना नै ट्याम्पोमा राखेर इटहरी पुर्याउनु भयो । बसपार्क छेउको होटलमा कोठा लिएर राख्नुभयो । बच्चा खोइ भन्दा अस्पतालमै छ भन्नुभयो, दुई दिनपछि असार १६ गते मेरो काम छ, बस्दै गर्नु भन्दै होटलबाट निस्किनुभयो । त्यसपछि फर्किएर आउनु भएन ।’ युवती भन्छिन्, ‘उहाँले मेरो बच्चा गायब बनाई फर्केरसमेत नआएपछि मैले प्रहरीकहाँ उजुरी दिएकी थिएँ ।’
त्यसपछि फूलकुमारीले दिएको जाहेरी अनुसार प्रहरीले अनुसन्धान थाल्यो । अन्ततः भदौ १ गते ती प्रेमी र प्रसूति गराउने चिकित्सकलाई पक्राउ गर्न सफल भएको हो ।

प्रकाशित मिति २०८० भाद्र ५, मंगलवार १९:५९ गते
हजुरको प्रतिक्रिया