विकासको नयाँ सम्भावना खोज्दै र नयाँ रेखा कोर्दै मर्स्याङ्दी गाउँपालिका

विकासको नयाँ सम्भावना खोज्दै र नयाँ रेखा कोर्दै मर्स्याङ्दी गाउँपालिका

अन्तरङ्ग न्युज

@antaranganews

२०८० भदौ ८ गते शुक्रबार ०९:५५

मर्स्याङ्दी जलविद्युत कम्पनी लि.को अध्यक्ष चयन भएपछि संविधानसभा सदस्य घलेले त्यसको अवधारणका बारेमा जानकारी दिनु हुँदै पालिकामा ४५ घरधुरी रहेको र त्यसमा कम्तिमा पनि तीन हजार घरपरिवारलाई ग्रुपमा समावेस गर्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो ।

‘मर्स्याङ्दी ग्रुप’को सेयर ५० हजार रुपैयाँदेखि र बढीमा ३० लाखसम्म लगानी गर्न सक्ने बनाइने

भूलभूले(लमजुङ)– मर्स्याङ्दी गाउँपालिकाले आफ्नो क्षेत्रमा विकासको नयाँ सम्भावना खोज्दै र नयाँ रेखा कोर्ने क्रममा जुटेको छ । त्यसका लागि केही दिन अघि मात्र स्थापना गरेको ‘मर्स्याङ्दी ग्रुप’को परिचालन गरी पालिकाभित्र विकासको सम्भावना खोज्ने जमर्को गाउँपालिकाले गरेको छ । त्यसका लागि एक भेला गाउँपालिकाको सभाकक्षमा भदौ ८ गते गरिएको छ ।
संविधानसभाका सदस्य जमिन्द्रमान घलेको प्रमुख अतिथ्यतामा सो भेला भएको हो । भेलाले भेलाले मर्स्याङ्दी जलविद्युत कम्पनी लि. गठन गर्ने निर्णय गरेको छ । कम्पनी सञ्चालक समितिको नेतृत्व अर्थात अध्यक्ष जमिन्द्रमान घलेलाई नै चयन गरेको छ । समितिको सदस्यहरूमा चेतबहादुर गुरुङ, मनिप्रसाद गुरुङ, पुर्णबहादुर गुरुङ र टीकाराम भण्डारी चयन हुनु भएकोछ ।
प्रमुख सल्लाहकार हेमजङ गुरुङ र सल्लाहकारहरूमा बमबहादुर भण्डारी र चन्द्रलाल गुरुङ चयन गरिएको छ ।
सो कम्पनीले छिट्टै मर्स्याङ्दी– २ स्थित किचेखोला साना जलविद्युत आयोजना शुरु गर्ने तयारी गरेको भेलामा जानकारी दिइएको छ ।
सो क्रममा मर्स्याङ्दी जलविद्युत कम्पनी लि.को अध्यक्ष चयन भएपछि उहाँले त्यसको अवधारणका बारेमा जानकारी दिनु भएको थियो । उहाँले कम्पनीलाई विधिवत् दर्ता गरी कानुनसम्वत् रुपमा पारदर्शी ढंगबाट सञ्चालन गरिने बताउनु भयो । उहाँले गु्रपमा एक जनाले कम्तिमा सेयर ५० हजार रुपैयाँदेखि र बढीमा ३० लाखसम्म लगानी गर्न सक्ने बनाउने, आउँदो साधारणसभामा किचेें विद्युत आयोजना निर्माणको न्यूनत्तम लागत, निर्माण अवधि, क्षमता आदि बारेमा जानकारी दिने बताउनु भयो ।
उहाँले पालिकामा ४५ घरधुरी रहेको र त्यसमा कम्तिमा पनि तीन हजार घरपरिवारलाई ग्रुपमा समावेस गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।
यसैगरी, पालिकाका अध्यक्ष एवम् ‘मर्स्याङ्दी ग्रुप’का तदर्थ समन्वय समितिको संयोजक अर्जुन गुरुङले ग्रुपको अवधारणका बारेमा प्रकाश पार्नु हुँदै किचें जलविद्युत आयोजना पछि पेट्रोल पम्पको निर्माण, कंक्रिड उद्योग सञ्चालन, लेकका खर्कहरूमा जाडीबुटी खेती, पर्यटकीय सम्भाबनाको खोजी र विकास लगायतका कार्य गर्ने बताउनु भयो । उहाँले ससानो पूँजी संकलन गरेर रोजगानी र समृद्धिको यात्रा सफल बताउने उल्लेख गर्नु भयो ।
शेयर सदस्यहरूको पहिलो भेला मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष एवम् ‘मर्स्याङ्दी ग्रुप’का तदर्थ समन्वय समितिको संयोजक अर्जुन गुरुङको अध्यक्षतामा गरिएको थियो ।

सो भेलामा मर्स्याङ्दी ग्रुपका सेयर सदस्य संख्या दुई सयको सहभागिता रहेको सो गाउँपालिकका अध्यक्ष अर्जुन गुरुङका स्वकीय सचिव सरोज गुरुङले बताउनु भयो । उहाँका अनुसार उक्त ग्रुपमा कुल सेयर सदस्य संख्या आजका दिनसम्म ४५० पुगेको छ ।

प्रकाशित मिति २०८० भाद्र ८, शुक्रबार २१:५५ गते
हजुरको प्रतिक्रिया