अघोषित रुपमा बन्द भएको तातोपानी (कोदारी) नाका आठ वर्षपछि मानव आवतजावतका लागि पनि खुल्दै

अघोषित रुपमा बन्द भएको तातोपानी (कोदारी) नाका आठ वर्षपछि मानव आवतजावतका लागि पनि खुल्दै

अन्तरङ्ग न्युज

@antaranganews

२०८० भदौ १४ गते बिहिबार ०८:४२

भोटेकाशी गाउँपालिका– २ बाट चीन जोड्ने चाइना बोर्डर तातोपानी स्थित तातोपानी भन्सार कार्यालयका अनुसार चीनतर्फ प्रवेशका लागि भेलि १५ गतेदेखि नाका खुलाको तयारी पुरा भएको छ ।

मानव आवतजावतका लागि ८ वर्ष पछि नाका खुला हुन लागेको हो

काठमाडौं– अघोषित रुपमा बन्द भएको तातोपानी (कोदारी) नाका आठ वर्षपछि मानव आवतजावतका लागि पनि खुल्दै छ । तिब्बतस्थित नेपाली महावाणिज्य दूतावासका अनुसार चिनियाँ अधिकारीहरूसँगको बैठकले ८ वर्षपछि सो नाका भएर मानव आवतजावतका लागि भोलिदेखि खुला गर्ने निर्णय भदौ १४ गते गरेको हो ।
महाभूकम्प २०७२ पछि एकतर्फी र अघोषित रुपमा बन्द भएको तातोपानी नाका पहिलो पटक मानव आवतजावतका लागि खुला हुने भएको हो । भोलि १ सेप्टेम्बरदेखि सो नाका सञ्चालनमा ल्याउन समझदारी भएको महावाणिज्यदूत नवराज ढकालले बताउनु भयो । उहाँका अनुसार समझादारीमा नाकाबाट यात्रुहरूको आवतजावत खुला गर्ने भनिए पनि तत्कालका लागि भने स्थानीयका लागि मात्रै नाका खुल्ने भएको हो ।
उहाँले भन्नुभयो, ‘तातोपानीको पारिपट्टीको चिनियाँ बजारसम्म पुग्नका लागि तातोपानी स्थिर अध्यगमन कार्यालयले पास वितरण सुरु गरेको छ । अध्यागमनले जारी गरेको एकवर्षे अवधिको पास पाएकाहरूले भोलिदेखि चीनतर्फ प्रवेश पाउने छन् ।’
भोटेकाशी गाउँपालिका– २ बाट चीन जोड्ने चाइना बोर्डर तातोपानी स्थित तातोपानी भन्सार कार्यालयका अनुसार चीनतर्फ प्रवेशका लागि भेलि १५ गतेदेखि नाका खुलाको तयारी पुरा भएको छ ।
‘२०७२ सालको भूकम्पछि पहिलो पटक मानव आवतजावतका लागि यो नाका खुला हुँदैछ ।’ तातोपानी भन्सार प्रमुख दयानन्द केसीले बताउनु भयो । उहाँका अनुसार अहिले खासा बजारसम्म पनि जान नदिने भन्ने छ । चिनियाँ बजारसम्म पुग्नेगरी पास जारी भइरहेको छ ।
नेपाल–तीब्बत व्यापार सहजीकरण समितिको एघारौँ बैठकले तातोपानी नाकालाई आगामी दुई महिनाभित्रै मानवका लागि समेत खुला गर्ने सहमति गरेको हो । तिब्बतमा हालै सम्पन्न बैठकमा सेप्टेम्बर महिनाभित्र नाका मानवका लागि समेत खुला गर्ने निर्णय भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीले बताउनु भयो ।
मानव आवतजावतका लागि ८ वर्ष पछि नाका खुला हुन लागेको भोटेकोशी गाउँपालिका– २ का वडाध्यक्ष कुमार श्रेष्ठले समेत जानकारी दिनु भएको छ । वडाध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘कोभिड– १९ पछि श्रमिकहरू सामान लोड गर्न गएका थिए, त्यो एकतर्फी थियो तर, भोलिदेखि अनुमति नै जारी गरेर मानव आवतजावत खुल्ला हुँदैछ ।’
२०७२ सालको महाभूकम्प पछि तातोपानी नाका पूर्ण रुपमा ४ वर्ष बन्द भएको थियो । दुवै देशले भूकम्पले क्षति पुगेको संरचना पुनर्निर्माण गरेपछि १४ जेठ २०७६ मा यो नाका वस्तु आयात निर्यातका लागि सञ्चालनमा आएको थियो ।
यसअघि चीनबाट सामग्री ल्याउन एकतर्फी सञ्चालनमा थियो ।
०७२ को भूकम्पपछि तातोपानी नाका करिब चार वर्ष पूर्ण रूपमा बन्द भएको थियो । ०७६ जेठ १६ गते नाका पुनः सञ्चालनमा आयो । तर, मानिसका लागि भने खुला गरिएन । चीनले निर्यातसमेत खोल्ने गरेन । कोभिड सुरु भएपछि उक्त नाका एकतर्फी मात्रै सञ्चालन हुँदै आएको थियो । गत ०८० वैशाख १८ गतेदेखि तातोपानी नाकाबाट आयात–निर्यात हुने गरी दुईतर्फी सञ्चालनमा आयो । तर, मानिस आवतजावत भने अझैसम्म खुला गरिएको थिएन । नेपालले मानिसका लागि समेत नाका खुला गरिनुपर्ने माग गर्दै आएको थियो ।
कोभिड– १९ पछि नाका खुल्ने र बन्द हुने पटक–पटक भएपनि यात्रु आवतजावतका लागि नाका सञ्चालनमा आएको थिएन । कोरोनाभाइरस महामारी विश्वभर फैलिए पछि २०७६ चैत ११ गते नाका पुनः बन्द भएको थियो ।

प्रकाशित मिति २०८० भाद्र १४, बिहीबार २०:४२ गते
हजुरको प्रतिक्रिया