फेसबुकबाट पत्रकारको चरित्र हत्या गर्ने जग्गा दलाल भुषाल प्रहरी नियन्त्रणमा

फेसबुकबाट पत्रकारको चरित्र हत्या गर्ने जग्गा दलाल भुषाल प्रहरी नियन्त्रणमा

एजेन्सी

@antaranganews

२०८० भदौ १५ गते शुक्रबार ०८:१६

पत्रकार गणेश पोख्रेलकाविरुद्ध भुषालले आफ्नो फेसबुक वालमा पत्रकार पोखरेलले एक लाख रुपैयाँ मागेको भन्दै पोखरेल र उनकी दिदीको फोटो राखेर चरित्र हत्या हुने खालको स्टाटस लेखेका थिए ।

टेलिफोनबाट धम्की समेत आउन थालेपछि बाध्य भएर भुषालविरुद्ध प्रहरीमा उजुरी गर्न जानु परेको पत्रकार पोख्रेलको दावी

कपिलवस्तु– सामाजिक संजाल फेसबुकमा पत्रकारविरुद्ध अपमानजनक अभिव्यक्ति लेख्ने जग्गा दलाललाई प्रहरीले पक्राउ गरी थुनामा राखेको छ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका– २ बस्ने जग्गा दलाल खडानन्द भुषाललाई प्रहरीले सो अभियोगमा भदौ १५ गते पक्राउ गरेको हो ।
सामाजिक अपराध तथा नैतिकता विरुद्धको कसुरमा मुद्धा चलाउन भुषाललाई प्रहरीले हिरासतमा राखेको हो ।
‘एउटा जग्गा देखाएर अर्को जग्गा पास गरेको प्रमाणसहित आफूले समाचार प्रकाशित गरेको’ पोख्रेलले बताउँदै आउनु भएको । उहाँले भन्नुभयो, ‘समाचारमा झुठो भए वा आफूले अनुचित ढंगबाट कहि कसैलाई जुनकुनै समयमा पनि रकम माग गरेको भए प्रमाणित गर्न चुनौती दिन्छु ।’
केही दिनअघि जग्गा किनबेचको नाममा वाणगंगाकी राधिका भण्डारीलाई ठगी गरेको विषयलाई लिएर स्थानीय अनलाइनमा पत्रकार गणेश पोख्रेलले समाचार लेखेका थिए । पत्रकार पोख्रेललाई आफ्नो जग्गाको कारोवारको विषयमा समाचार प्रकाशन गरेको भन्दै उनी निकट व्यक्तिले रातको समयमा पटक– पटक फोन गरी समाचार डिलिट गर्न धम्की समेत दिएका थिए ।
पत्रकार गणेश पोख्रेलकाविरुद्ध भुषालले आफ्नो फेसबुक वालमा पत्रकार पोखरेलले एक लाख रुपैयाँ मागेको भन्दै पोखरेल र उनकी दिदीको फोटो राखेर चरित्र हत्या हुने खालको स्टाटस लेखेका थिए ।
आफूविरुद्ध समाजिक सञ्जालदेखि टेलिफोनबाट धम्की समेत आउन थालेपछि बाध्य भएर भुषालविरुद्ध प्रहरीमा उजुरी गर्न जानु परेको पत्रकार पोख्रेलको भनाइ छ ।
पत्रकार पोखरेलको जाहेरीको आधारमा प्रहरीले उनलाई रुपन्देहीको सैनामैनामा रहेको एक होटलबाट पक्राउ गरेको इलाका प्रहरी कार्याल पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका भुषाललाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय तौलिहवा पठाइएको छ ।
पक्राउ परेका भुषाललाई सामाजिक अपराध तथा नैतिकताको विरुद्धको कसुरमा मुद्धा चलाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले आम सर्वसाधारण वा सामाजिक पद धारण गरेको व्यक्ति विरुद्धमा बिना प्रमाण चरित्र हत्या गर्ने मनसायले कुनै पनि व्यक्तिको पारिवारिक तथा सामाजिक प्रतिष्ठा माथि आँच आउने खालका कुराहरू सामाजिक सञ्जालमा लेखेमा जो कोहीलाई पनि कानुन बमोजिम कारबाही हुने जानकारी दिनुभयो ।

प्रकाशित मिति २०८० भाद्र १५, शुक्रबार २०:१६ गते
हजुरको प्रतिक्रिया