दुराडाँडा(लमजुङ)– दुराडाँडामा आयोजित तेस्रो दुराडाँडा कप– २०८० फुटबल तथा भलिबल प्रतियोगिताको समापन गरिएको छ । सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाको प्रमुख आतिथ्यतामा सो प्रतियोगिताको कार्तिक ३ गते पुरस्कार वितरण गर्दै समापन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि कोइराला र आयोजक क्लबका अध्यक्ष दीपक पौडेलले संयुुक्त रुपमा विजेता खेलाडीहरूलाई नगद पुरस्कार, शिल्ड, मेडल र प्रमाणपत्र वितरण गर्नु भएको थियो । आयोजक क्लबका अध्यक्ष पौडेलले प्रतियोगितामा सुन्दरबजार नगरपालिका– ४ ले डेढ लाख रुपैयाँ प्रायोजन गरेको जानकारी दिनुभयो ।

दुराडाँडा ब्राइटर स्टार क्लबको अयोजनामा विगतको तीन वर्षदेखि उक्त प्रतियोगिता हुँदै आएको छ । प्रतियोगितामा भलिबलतर्फ सात र फुटबलमा ११ टिमले भाग लिएका थियो । भलिबल प्रतियोगितामा आयोजक क्लबले सिधा तीन सेटमा विजय हासिल गरी उपाधि जितेको हो ।

यसैगरी, फुटबलतर्फ सत्रसय युवा क्लब र नमूना युवा क्लबका बीच भएको फाइनलमा खेलको निर्धारित समयमा कुनै पनि पक्षबाट गोल हुन सकेन । थप भएको समय समेत खेर गएपछि पेनाल्टी सुट आउटमा नतिजा घोषणा गरिएको थियो । जसमा सत्रसय युवा क्लबले नमूना युवा क्लबको २ का विरुद्ध ३ गोल गरी विजयी भएको हो । सो खेलको रेफ्रीको भूमिकामा अमन दुरा(भोर्लेटार) हुनुहुन्थ्यो ।
आयोजक क्लबका अध्यक्ष दीपक पौडेलको अध्यक्षतामा भएको समापन कार्यक्रमको सञ्चालन खेलकुद संयोजक सन्तोष विकले गर्नु भएको थियो । उहाँका अनुुसार भलिबल प्रतियोगितामा रेफ्रीको भूमिका ध्रुव खनिया र भूपिन विकले निभाउनु भएको थियो ।

फुटबल प्रतियोगितामा पहिलो हुने टिमलाई नगद १५ हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै, दोस्रो हुने टिमलाई नगद साढे सात हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकको भनाइ छ । भलिबलतर्फ पहिलो हुने टिमलाई नगद १० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनुका साथै दोस्रो हुने टिमलाई नगद पाँच हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक क्लबका खेल संयोजक सन्तोष विकले बताउनु भयो । उहाँका अनुसार वडामा खेलकुदको विकास तथा आउँदो वर्षको तयारीका लागि साविक दुराडाँडा गाविसका ९ वडालाई एक एक वटा फुटबल र भलिबल समेत सो अवसरमा वितरण गरिएको थियो ।

कार्तिक १ गते सुरु भएको सो प्रतियोगिता सुन्दरबजार नगरपालिका– ४ का वडासदस्य देउबहादुर गुरुङले उदघाटन गर्नु भएको थियो । उदघाटन कार्यक्रममा समाजसेवी पूर्णभद्र न्यौपाने, हरिकृष्ण न्यौपाने, वडानं– ४ का सदस्य मीरा न्यौपाने, नमूना युवा क्लबका हरिकृष्ण खनिया, कुमार अधिकारी, विनुल भुजेल लगायतको सहभागिता थियो ।
प्रकाशित मिति २०८० कार्तिक ४, शनिबार १०:१६ गते