आज बडादशैंको विजया दशमीटीका कतिबेला के कसरी लगाउने ? आर्शीवचन सहित

आज बडादशैंको विजया दशमीटीका कतिबेला के कसरी लगाउने ? आर्शीवचन सहित

अन्तरङ्ग न्युज

@antaranganews

२०८० कार्तिक ७ गते मङ्गलबार ०५:३३

यस वर्ष गत साउन महिनामा अधिकमास परेका कारणले असोज महिनाको अन्तिमदेखि मात्रै बडादशैं सुरू भएको हो ।

विजयादशमीमा टीका लगाउँदा आर्शीवाद स्वरुप भनिने मन्त्र

बेसीशहर– बडादशैं आफैंमा शुभ पर्व हो र आज कार्तिक ७ गतेको दिन झनै शुभ मानिन्छ । बडादशैंमा लगाइने टीकाका लागि बिहानदेखि, अपराह्न मात्रै हैन साँझसम्म दिनभर नै पुरै साइतको दिन मानिन्छ । अन्य कामका लागि साइत हेर्न आवश्यक हुने भए पनि बडादशैंको विजयादशमीका दिन टीकाका लागि थप केही गरिरहन आवश्यक पर्दैन ।
यस वर्ष गत साउन महिनामा अधिकमास परेका कारणले असोज महिनाको अन्तिमदेखि मात्रै बडादशैं सुरू भएको हो ।
टाढा जानु पर्नेहरूको हकमा बिहान उठेर घामको झुल्कोमा दुर्गा बिसर्जन गरेर कलशको जलले अभिषेक गरेर आफन्तकोमा टीका लगाउन जाने चलन छ । बडादशैंमा कतिबेला टीका लगाउने भनेर कुनै अलमलमा पर्नु आवश्यक छैन । तर पनि सुनभा सुगन्ध भनेझैं शुभ साइत चाहनेहरूका लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले विजयादशीमा टीकाको उत्तम साइत यसवर्षका लागि बिहान ११ बजेर २ मिनेटका लागि तोकेको छ ।
त्यसअघि दुर्गा बिसर्जन गर्नुपर्छ, १० बजेट ३७ मिनेटमा दुर्गा बिसर्जन गर्नु उत्तम मानिएको छ ।
दुर्गा बिसर्जन गरेर मात्रै टीका ग्रहण :
हामीले घटस्थापनादेखि दशमीसम्म माता दुर्गा भवानीको नित्य पूजा गरेका हुन्छौं । त्यसका लागि पनि हरेक दिनका लागि फरक देवी र आ–आफ्नै प्रक्रिया छन् । शुरुमा घटस्थापना गरिन्छ, सप्तमीका दिन विभिन्न प्रकारका वनस्पती र फलफूलहरू अर्थात फूलपाती नवपत्रिका भित्र्याइन्छ । नवदुर्गाको पूजा हुन्छ, हातहतियार अनि यन्त्रहरूको पूजा गरिन्छ । महानवमीका दिन हवन समेत गरिन्छ । १० बजेट ३७ मिनेटमा दुर्गा बिसर्जन गर्नु उत्तम मानिएको छ ।
दुर्गा पक्ष समेत भनिने बडादशैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।
विभिन्न धार्मिक अनुष्ठान सम्पन्न गरेपछि बडादशैंका दिन नित्य पूजा गरेर आरती पुष्पाञ्जली गरेर दुर्गा बिसर्जन गर्ने प्रचलन छ । दुर्गा बिसर्जनपछि कलशको जल अत्यन्त पवित्र हुन्छ भन्ने धार्मिक मान्यता छ । दुर्गा बिसर्जन पश्चात कलश उठाएर त्यहाँको जल घरका विभिन्न स्थानहरू चुल्हाचौकामा छर्ने र शान्ति, प्रगति र उन्नतीको कामना गर्ने गरिन्छ ।
दुर्गा बिसर्जन गरेपछि मात्र विजयादशमीको टीका लागउने क्रम सुरु हुन्छ । सुरुमा कुलदेवता, पितृदेवतालाई टीका चढाउने प्रचलन छ । कतिपय ठाउँमा घरको मूल ढोकामाथि टीका लगाइदिने परम्परागत मान्यता समेत छ । त्यति गरी सकेपछि मात्र मान्यजनका हातबाट टीका लगाउने र आशीर्वाद ग्रहण गर्ने गर्दकछौं ।
दुर्गा बिसर्जनपछि कलशमा राखेको जल लिएर तयारीका साथ इष्टदेवता, कुलदेवतालाई सम्झेर जमरा काटिन्छ । दैलामाथि टीका लगाउने गरिन्छ । हाम्रो घरपरिवारमा गुरु पुरोहित भए गुरु पुरोहितबाट, नभए मान्यजनको हातबाट टीकाजमरा लगाउनु शुभ हुन्छ । त्यसपछि क्रमशः अन्य मान्यजनबाट टीका लगाउनु पर्दछ ।
टीका लगाउँदा कता फर्किनु राम्रो ?
परम्परा मान्यता अनुसार पूर्वपश्चिम टीकाको साइत हो । पूर्वपट्टि फर्केर टीका थाप्ने र पश्चिम फर्केर लगाई दिने गरिन्छ । दक्षिणतिर पितृकर्म गर्ने शास्त्रीय मान्यता भएकाले दक्षिण फर्किने चलन छैन । कतिपयले चन्द्रमा हेरेर साइतका आधारमा पनि टीका लगाइदिने र ग्रहण गर्ने दिशा तय गर्ने गर्छन् । यो वर्ष पनि टीका ग्रहण पश्चिम दिशातर्फ फर्केर गर्नु बढी फलदायी हुने भनिएको छ । लगाईदिने व्यक्ति पूर्वतर्फ फर्कने कार्य गर्नु झनै शुभ मानिएको छ ।
बडादशैंमा लगाइने टीका/जमराको महत्व :
बडादशैंको महत्वपूण प्रसाद भनेकै टीका र जमरा हो । जसलाई दुर्गाको प्रसाद मानिन्छ । बडादशैंमा टीकाको जस्तै जमराको पनि आफ्नै विशेष महत्व छ । जमराको विभिन्न आयुर्वेदिक प्रयोग पनि हुन्छ । सायद औषधीय गुणका कारण जमराका लागि जौको प्रयोग गरिन्छ । पुर्खाको कीर्तिलाई कायम राख्न कृपा मिलोस् भन्ने सदिच्छाले मान्यजन र ठूलाबडाबाट आशीर्वादका साथ टीका जमरा लगाउने परम्परा छ । यसै पर्वका माध्यमले इष्टजनसँग भेटघाट, भलाकुसारी लगायतका धार्मिक, सांस्कृतिक र सामाजिक आयामहरू त छँदैछन् ।
कार्तिक ११ गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो बडादशैं पर्व समाप्त हुन्छ । जसको नौ दिन बितिसकेको छ ।
विजयादशमीमा टीका लगाउँदा आर्शीवाद स्वरुप भनिने मन्त्र :
आयुर्द्रोणसूते श्रीयं दशरथे शत्रुक्षयं राघवे
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।
दानं सूर्यसूते बलं हलधरे सत्यंच कुन्तीसूते
विज्ञानं विदूरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।
अर्थ– द्रोणका छोरा अश्वत्थामाको जस्तो लामो आयु, भगवान् रामका पिता दशरथको जस्तो श्रीसम्पत्ति, भगवान् रामको जस्तो शत्रुपराजय, राजा नहुषको जस्तो ऐश्वर्य, पवन देवताको जस्तो तीब्र गति, दुर्योधनको जस्तो अभिमान, सूर्यका छोरा कर्णको जस्तो दानवीरता, हलधर भगवान् (कृष्णका दाइ बलराम)को जस्तो बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यनिष्ठा, धृतराष्ट्रका मन्त्री विदूरको जस्तो ज्ञान, भगवान् नारायणको जस्तो यशकीर्ति तपाईंलाई प्राप्त हुन सकोस् ।
यसैगरी लक्ष्मी स्वरुपा महिलाहरूका लागि भनिने मन्त्र :
जयन्ती मंगला काली भद्रकाली कपालिनी
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तुते ।
अर्थ– जयन्ती, मंगला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवाधात्री, स्वाहा र स्वधा यी नामले प्रसिद्ध हे जगदम्बिके ! हजुरलाई मेरो नमस्कार छ ।

प्रकाशित मिति २०८० कार्तिक ७, मंगलवार ०५:३३ गते
हजुरको प्रतिक्रिया