रास्वपाका सभापति रविको मधेसमा रणनीतिक यात्रा

रास्वपाका सभापति रविको मधेसमा रणनीतिक यात्रा

अन्तरङ्ग न्युज

@antaranganews

२०८० मङ्सिर ५ गते मङ्गलबार ०८:४६

‘एउटा नागरिकताको प्रमाणीकरण हामीले विरोध गरेका थियौँ कि भन्ने किसिमको छ । त्यसलाई स्पष्ट गर्ने मौका पाएका छौँ । अर्को मधेसमा संघीयताबारे हामीप्रति प्रश्न छ, रास्वपाले संघीयताको अभ्यास गर्ने हो कि होइन ? भन्ने एक किसिमको आशङ्का छ । मधेस यात्रामा हामीले यी दुई विषयलाई प्रस्ट पार्छौँ ।’ सांसद मनिष झाले बताउनु भयो ।

संयुक्त बैठक अघि आठ जिल्लामा सम्मेलनमा भाग लिने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेस केन्द्रित हुँदै मङ्सिर ८ बाट रास्वपा मधेस प्रदेशका आठ जिल्लामा आमसभा गर्ने तयारीमा छ । पार्टी सभापति रवि लामिछाने सांसद मनिष झालाई साथमा लिएर तीन दिन लामो मधेस यात्रामा आठ जिल्लामा सभा गर्ने हुनु भएको मंसिर ५ गते खुलासा भएको हो ।
रास्वपाले पहिलो दिन बारा– पर्सा, दोस्रो दिन रौतहट– सर्लाही, तेस्रो दिन सिरहा, सप्तरी र महोत्तरीमा सभा गर्ने सांसद मनिष झाले बताउनु भएको छ । उहाँका अनुसार पहिलो दिन निजगढ र सिम्रौनगढमा सभा हुन्छ भने वीरगञ्जमा भेटघाट रहेको छ ।
उहाँले भन्नुभयो, ‘दोस्रो दिन रौतहटको गौर र चन्द्रनिगाहपुरमा सभा र सर्लाहीको लालबन्दीमा भेटघाट कार्यक्रम छ । तेस्रो दिन सिरहाको गोलबार, सप्तरीको हनुमाननगर र महोत्तरीको जलेश्वरमा भेटघाट कार्यक्रम तय भएको छ ।’
मधेस यात्राको संयोजनको जिम्मा रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले गर्नु हुने भएको छ । उहाँका अनुसार मधेस यात्रामा धनुषा जिल्लामा सभाको कार्यक्रम राखिएको छैन ।
सांसद झाले भन्नुभयो, ‘धनुषामा अहिले सभा हुँदैन । अहिले सभा गर्दा कोणसभा जस्तोमात्र हुन्छ । केही मान्छेहरूले अप्रिय राजनीतिलाई अगाडि बढाइरहेका छन् । यस्तो बेलामा हामी यो कुरामा नअल्झिऔँ । भव्यसभा पछि गरौँला भन्ने छ ।’
धनुषामा रास्वपाको प्रदेश कार्यालय उद्घाटनको कार्यक्रम मङ्सिर १४ गते बिहान राखिएको छ । रास्वपाले मधेस यात्रापछि महोत्तरीको जलेश्वरमा मङ्सिर ११, १२ र १३ गते केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्ने तयारी छ ।
रास्वपामा पदाधिकारीसहित ३९ र संघीय सांसद २१ जना छन् ।
रास्वपाले पहिलो पटक मधेसमा पार्टीका केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक गर्न लागेको छ ।
रास्वपाले आफ्नो प्रभाव विस्तार रणनीति अनुसार मङ्सिरमा मधेस केन्द्रित हुने भएको छ ।
रास्वपाले २०७९ मङ्सिरको आम निर्वाचन र २०८० वैशाखको उपनिर्वाचनमा मधेसमा अपेक्षित मत पाएको थिएन । समानुपातिकतर्फ ११ लाख ३० हजार ३ ४४ मतसहित चौथो दल बनेको रास्वपा मधेस प्रदेशमा भने आठौँ स्थानमा चित्त बुझाउनु् परेको थियो । मधेस प्रदेशका आठ जिल्लाबाट ७२ हजार ९३५ मत मात्र रास्वपाले पाएको थियो ।
मधेसमा रास्वपाका कुनै पनि उम्मेदवार प्रतिस्पर्धामा आउन सकेनन् । त्यतिमात्र हैन रास्वपाका कुनै पनि उम्मेदवारले मधेसमा ४ हजारभन्दा बढी मत कटाउन सकेनन् ।
मधेस प्रदेशका ३२ वटा निर्वाचन क्षेत्रमध्ये करिब २५ ठाउँमा मात्र रास्वपाले उम्मेदवार खडा गरेको थियो ।
झाले भन्नुभयो, ‘मधेसमा संगठन विस्तार गर्न नागरिकहरूले आग्रह गरेको छ । मान्छे पार्टी नेतृत्वबाट टीका लाएर भित्रिन चाहन्छ । रवि लामिछाने आए हामी पनि रास्वपामा जान्थ्यौँ भन्नुहुन्छ ।’
लामिछानेको मधेस यात्रामा व्यापक पार्टी प्रवेश हुने रास्वपाको अपेक्षा छ ।
झाले थप भन्नुभयो, ‘एउटा नागरिकताको प्रमाणीकरण हामीले विरोध गरेका थियौँ कि भन्ने किसिमको छ । त्यसलाई स्पष्ट गर्ने मौका पाएका छौँ । अर्को मधेसमा संघीयताबारे हामीप्रति प्रश्न छ, रास्वपाले संघीयताको अभ्यास गर्ने हो कि होइन ? भन्ने एक किसिमको आशङ्का छ । मधेस यात्रामा हामीले यी दुई विषयलाई प्रस्ट पार्छौँ ।’

प्रकाशित मिति २०८० मंसिर ५, मंगलवार २०:४६ गते
हजुरको प्रतिक्रिया