मध्यनेपाललाई धार्मिक पर्यटकीय नगरी बनाउने मेयर पाण्डेको उदघोष

मध्यनेपाललाई धार्मिक पर्यटकीय नगरी बनाउने मेयर पाण्डेको उदघोष

नवराज पहाडी

@antaranganews

२०८१ बैशाख २६ गते बुधबार ११:४८

मध्यनेपाल नगर परिसर भित्र रहेका प्रसिद्ध धार्मिक स्थलहरू ईशानेश्वर महादेव मन्दिर, मालिका मन्दिर, नाग भैरवको मन्दिर, जलपादेवी मन्दिर, जिता भयरथान मन्दिर लगायत बौद्ध गुम्बा र स्तुपाहरूलाई समेटेर नगर भित्र एक धार्मिक पद यात्रा मार्गको गुरुयोजना बनाई अगाडि बढ्ने जानकारी मेयर पाण्डेले दिनु भएको छ ।

दान स्वरुप उठेको रकम करिव एक करोड असी लाख

थान्सिङ(लमजुङ)– नेपालको मध्यभागमा अवस्थित लमजुङको मध्यनेपाल नगरपालिकाले आफ्नो नगरलाई धार्मिक पर्यटनको केन्द्र बनाउने महाअभियानको शंखघोष मालिका परिसरबाट गरेको छ । मध्यनेपाल नगरपालिका– १० को थान्सिङ स्थित मालिकादेवी मन्दिर परिसरमा आयोजित सप्ताह ज्ञान महायज्ञ एवम् धार्मिक महोत्सवको समापनमा मन्तव्य व्यक्त गर्दै सो नगरपालिकाको मेयर रमेशकुमार पाण्डेले त्यस्तो उदघोष गर्नु भएको हो । उक्त धार्मिक महोत्सवमा दानदाताहरूबाट दान स्वरुप एक करोड असी लाख रुपैयाँ संकलन भएको छ ।
धार्मिक पर्यटनको केन्द्र बन्दै गइरहेको मध्यनेपाल– १० थान्सिङ, नेटामा अवस्थित मालिकादेवी मन्दिर परिसरमा बैशाख ७ गतेदेखि १३ गतेसम्म सञ्चालन भएको ‘श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ एवम् प्रथम मालिकादेवी धार्मिक महोत्सव २०८१’ मालिकादेवीको इतिहास रुपमा सफल भएको छ ।
मध्यनेपाल नगरपालिकाका मेयर रमेशकुमार पाण्डेले मालिका परिसरमा हुने तत्कालीन, मध्यकालीन र दिर्घकालीन गुरुयोजना सहित नगरपालिका, प्रदेश, केन्द्र र अन्य दातृ निकायसंगको सहकार्यमा अघि बढ्ने बताउनु भयो । उहाँले मध्यनेपाल नगर परिसर भित्र रहेका प्रसिद्ध धार्मिक स्थलहरू ईशानेश्वर महादेव मन्दिर, मालिका मन्दिर, नाग भैरवको मन्दिर, जलपादेवी मन्दिर, जिता भयरथान मन्दिर लगायत बौद्ध गुम्बा र स्तुपाहरूलाई समेटेर नगर भित्र एक धार्मिक पद यात्रा मार्गको गुरुयोजना बनाई अगाडि बढ्ने जानकारी दिनु भएको छ । उहाँका अनुसार मध्यनेपाल नगरपालिकाको आयोजना, मध्यनेपाल नगरपालिका– १० का संयोजन तथा मालिका देवी संरक्षण तथा विकास समितिको व्यवस्थापनमा आयोजित धार्मिक महोत्सव मालिका परिसरमा यसरी रहेक वर्ष गरिने छ ।
उक्त सप्ताह ज्ञान महायज्ञ एवम् धार्मिक महोत्सवमा दानदाताहरूबाट दान स्वरुप एक करोड असी लाख रुपैयाँ संकलन भएको महोत्सवका संयोजक तथा वडानं १० का वार्ड अध्यक्ष रामचन्द्र भण्डारीले जानकारी दिनु भयो । संयोजक भण्डारीले यो धार्मिक महामहोत्सवलाई सम्पन्न पार्न दानी मनहरूबाट दिल खोलेर मालिका देवीमा अर्पण गर्नुभएको दानको एक रुपैयाँ पनि यो वा त्यो बहानामा कहीँ कतै तल माथि हुन नदिई उपयोग गरिने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
मालिका देवी उत्पन्न हुँदाको आफ्नै रोचक ऐतिहासिक लामो किंबदन्ती जनजिब्रोमा प्रख्यात छ र भनिन्छ कोइराला पारिवारकि कन्यानै मालिका देवी हुन् । यस भेगका सम्पूर्ण मानिसहरूको मन मस्तिष्कमा विराजमान सबैको आस्था र भरोसाकी केन्द्रको रुपमा मालिकादेवीको उत्पत्ती भने अलि फरक र रोचक रहेको छ । थान्सिङकोट र स्वाँरा हुँदै बेसी कोइरालाफाँटसम्म फैलिएको कोइराला वंशको थान्सिङमा पर्ने एक कोइराला परिवारमा वि.सं. १८०० पूर्व जन्म लिई करीब ७ वर्षको उमेरसम्म आफ्ना आमा बुवाको न्यानो वात्सल्य माया ममतामा हुर्कदै गरेकी एक कन्या वर्षायाममा एक दिन मध्यान्न कालमा देवदुतहरूले घर भन्दा पश्चिम दक्षिणतर्फ रहेको अनकन्टार जंगल डाँडाको टुप्पामा एक सानो गुफा भित्र अल्पिएर साक्षत देवीको रुपमा परिणत भएको बताइन्छ ।
ती देवीको नाम लिएर नयाँ कामको थालनी गर्दा सफलता पाइने, स्वच्छ मनले भाकल गर्दा पुरा हुने, देशविदेश जाँदा देवीको पूजा गरे कार्य सफल हुने र चैत्र– बैशाखमा खडेरी पर्दा पूजा गरे पानी पर्ने जनविश्वास अहिले पनि छ, जो पुग्दै आएको पनि स्थानीयको भनाइ छ । खेतीकिसानी सुरु गर्नु अघि र भित्र्याउने बेलामा देवीको विशेष पूजा गर्ने चलन स्थानीय गाउँमा हालसम्म पनि रही आएको छ । देवीप्रतिको आस्था र विश्वासकै कारण धेरै टाढा टाढादेखि देवीको पूजाको लागि भक्तजनहरू आउने गर्दछन ।
देवीस्थानको केही आफ्नै परम्परागत नियमहरू छन् जसको उल्लंघन कोही कसैले लहड र अन्धविश्वास त हो नि ! भनेर तोडेमा तत्कालै प्रतिफल देखिने गरेको हुँदा देवीप्रतिको आस्था र विश्वास जनमानसमा झन गहिरो रहेको छ । देवीको लागि चढाइने भाकल र प्रसाद परिसरभित्रै खानु पर्ने, घरमा लग्न नपाइने प्रचलन अहिले पनि छ । यति पवित्र मन्दिर, हिन्दु धर्मालम्बिहरूको आस्थाको केन्द्र, धार्मिक पर्यटन स्थलको उच्च सम्भावना बोकेको यो क्षेत्रमा केही सुधारका कामहरू गर्न सक्यौं भने मध्यनेपाल नगरपालिकाको मात्रै नभएर सिंगो देशकै धार्मिक धरोहरको रुपमा चित्रित हुनेमा कोही कसैको दुई मत नहोला ।
मालिका देवी मन्दिर घनाजंगल भित्र मनै लोभ्याउने उच्च पहाडको शिखरमा रहेको छ । मन्दिरमा पुगेपछि देखिने मनमोहक दृश्य थान्सिङ, नेटा, हाडिखोला, कोइरालाफाँट अनि बाँङ्ग्रे, भोर्लेटारका रमणीय गाउँहरू, विशाल फाँट, पाउदी, मिदिम, मादी जस्ता चर्चीत खोला नदीहरू, पर्यटकीय नगरी पोखरा, पोखराको आकर्षण माछापुच्छ«े हिमाल नै वारीपारी जस्तै देखिन्छ ।
लमजुङका अधिकांश पालिकाहरूबाट भक्तजनहरूको उक्त साताव्यापी धार्मिक महोत्सवमा सहभागिता रहेको थियो । धार्मिक महोत्सवका अवसरमा दिनहुँ होम, तुलादान लगायत साँंझ लाखवत्तीसहित सम्पन्न यस कार्यक्रममा सातैदिन नै मालिका देवीको नाउँमा भण्डारा पनि सञ्चालन भएको थियो । विशेष गरी उक्त धार्मिक कार्यक्रममा मध्यनेपाल– १० बाट देशका विभिन्न स्थानमा रहनु हुनेहरूको समेत उल्लेख्य सहभागिता रहेको थियो ।

प्रकाशित मिति २०८१ बैशाख २६, बुधबार ११:४८ गते
हजुरको प्रतिक्रिया