फ्लोर क्रससँगै गण्डकीका मुख्यमन्त्री पाण्डेलाई मिल्यो विश्वासको मत

फ्लोर क्रससँगै गण्डकीका मुख्यमन्त्री पाण्डेलाई मिल्यो विश्वासको मत

एजेन्सी

@antaranganews

२०८१ जेठ २८ गते सोमबार ०७:३६

मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाउने ढुक्क भएपछि बजेट नल्याइकन विश्वासको मत लिनु भएको हो । देवकोटा मुख्यमन्त्रीको पक्षमा मतदान गर्न गएपछि एमाले र माओवादीका सांसदले नाराबाजी समेत गरेका थिए ।

प्रदेशसभा बैठकमा ५९ सांसद उपस्थित थिए ।

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाउनु भएको छ । प्रदेशसभामा उहाँले राख्नु भएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा फ्लोर क्रम हुँदा ३१ मत परी विश्वासको मत मिलेको हो । जेठ २८ गते भएको मतदानमा उहाँको विपक्षमा २८ मत परेको छ ।
जेठ १६ गते संसद्को ठूलो दलको हैसियतले मुख्यमन्त्री नियुक्त भएका सुरेन्द्रराजले विश्वासको मत माग्नु भएको हो । प्रदेश सभा बैठकमा ३१ सांसदले मत दिएपछि सभामुख कृष्णप्रसाद धितालले विश्वासको मत पाएको घोषणा गर्नु भएको थियो । प्रदेशसभा बैठकमा ५९ सांसद उपस्थित थिए ।
पाण्डेलाई कांग्रेसका २७, राप्रपाका २, स्वतन्त्र सांसद राजीव गुरुङ र माओवादीबाट चुनाव लडेका नेसपा सांसद फडिन्द्र देवकोटाले मत भएका हुन् भने विपक्षमा एमालेका २२ र माओवादीका ६ प्रदेशसभा सदस्यको मत परेको थियो ।
माओवादीको चिह्न लिएर गोरखा– २ को प्रदेशसभा (क) बाट निर्वाचित नेपाल समाजवादी पार्टी (नेसपा) का फणिन्द्र देवकोटा फ्लोर क्रस गरेपछि पाण्डेले विश्वासको मत पाउनु भएको हो । देवकोटाले फ्लोर क्रस गर्दै मुख्यमन्त्रीलाई विश्वासको मत दिनु भएको हो । उहाँले आफू माओवादीको संसदीय दलमा नरहेर नेसपाकै प्रदेशसभा सदस्यको हैसियतमा रहेको दाबी गर्दै आउनु भएको छ ।
देवकोटाकै फ्लोर क्रसका कारण संविधानको धारा १६८ (३) बमोजिम सर्वोच्च अदालतको आदेशबाट मुख्यमन्त्री नियुक्त भएका पाण्डेको पद जोगिन पुगेको छ ।

उता, प्रदेशसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग देवकोटाले प्रदेश सभालाई बचाउन पार्टीको निर्णय अनुसार विश्वासको मत दिएको बताउनु भएको छ । उहाँका अनुसार १५÷१६ महिनामै चार पटकसम्म सरकार फेरबदल भएपछि गण्डकी प्रदेश सभा रहने कि नरहने भन्ने चुनौती आफूले देखेपछि मत दिएको हुँ ।
उहाँले भन्नुभयो, ‘पछिल्लो चरण हामी माननीयलाई थाहा नै नदिइ संख्या गणना गरेर सरकार फेरबदल हुनेतिर गयो । त्यसपछाडि गम्भीर शंका लाग्यो, गण्डकी प्रदेश बर्बादीतिर जाँदैछ ।’
माओवादीले ह्वीप जारी गरेको भए पनि आफू नेपाल समाजवादी पार्टीको सांसद भएको र पार्टीको निर्देशनअनुसार मत दिएको बताउनु भएको छ । माओवादीले कारबाही गर्ने चेतावनी दिएको छ नि ? भन्ने प्रश्नमा ‘एकले अर्कालाई कारबाही गर्दै जाने हो भने हामी कहाँ पुग्ने ?’ उहाँले भन्नुभयो ।
६० सदस्यीय प्रदेश सभामा पाण्डेले विश्वासको मत प्राप्त गर्न ३१ मत आवश्यक थियो ।
मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाउने ढुक्क भएपछि बजेट नल्याइकन विश्वासको मत लिनु भएको हो ।
स्मरणी छ, देवकोटा मुख्यमन्त्रीको पक्षमा मतदान गर्न गएपछि एमाले र माओवादीका सांसदले नाराबाजी समेत गरेका थिए ।

प्रकाशित मिति २०८१ जेष्ठ २८, सोमबार १९:३६ गते
हजुरको प्रतिक्रिया