
पोखरा– गण्डकीका स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे छैटौँ पटक मन्त्री नियुक्त भई कार्यभार सम्हाल्न पुगेका छन् । मनाङे र गण्डकी प्रदेशको सत्ता राजनीति पर्यायवाची झैं भएको छ । सुरुआति दिनमा लगातार तीन पटक खेलकुद मन्त्री बनेका मनाङे पछिल्लो पटक लगातार तेस्रो पटक भौतिक पूर्वाधार विकास मन्त्री बनेर जेठ २९ गते नयाँ रेकर्ड कायम गरेका हुन् ।
गण्डकीका मुख्यमन्त्री सबैको क्याबिनेटमा मनाङे छुटेका छैनन् । प्रदेशको कार्यान्वयको सात वर्षको अवधिमा मनाङेले छ पटक मन्त्री भएर रेकर्ड ब्रेक गरेका हुन् । सुरुमा एमालेका पृथ्वीसुब्बा गुरुङको क्याबिनेटबाट सरकारमा छिरेका उनी त्यसपछि बनेको कृष्णचन्द्र नेपाली पोखरेलको सरकारमा पनि छुटेनन् ।
सत्ताको अङ्क गणितको संख्याले यस्तो गर्यो छ कि ! फेरि मनाङे नै सत्ता गठन र विघटनको निर्णायक भएका छन् ।
२०७७ सालमा तत्कालीन नेकपा टुक्रिएपछि सङ्कटमा परेको पृथ्वीसुब्बा गुरुङको सरकारलाई मन्त्री बनाउनुपर्ने सर्तसहित सघाएका थिए । उनको सरकार ढल्यो, २०७८ जेठ २९ गते नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले सरकार बनाउँदा पनि उनै मनाङे अनिवार्य नै भए ।
प्रदेशको दोस्रो कार्यकालका लागि भएको चुनावमा मनाङे सर्वसम्मत निर्वाचित भएर संसदमा प्रवेश पुनः गरेका हुन् । मन्त्री बन्ने लोभमा सुरुमै कमजोर दल (एकीकृत समाजवादी, जो केन्द्रको सत्ता गठबन्धनमा भएपनि प्रदेशमा सांसदविहीन थियो) मा प्रवेश गरे । अध्यक्ष माधव नेपालले मनाङेलाई मन्त्री बनाउन निकै जोड गर्नु भएको थियो ।
खगराज अधिकारीको पहिलो क्याविनेट र सुरेन्द्रराज पाण्डेको बहुमत छँदासम्म उनी मन्त्री हुन पाएनन्, कारण दुवैले मनाङेको आवश्यकता महसुस गरेनन् । पाण्डे जब अल्पमतमा परे उनले सत्ता जोगाउन मनाङेलाई अल्पमतमै रहेका बेला मन्त्री बनाएर रणनीति बुने । त्यति हुँदा पनि उनको सरकार जोगिएन । अधिकारीले दलका नेताहरूको हस्ताक्षर सहित ३१ जना गणना गरेर मुख्यमन्त्री दाबी गरे ।
दीपकले आजै शपथ लिदै पदबहाली गरे । उनले आफूले आफ्नो ठाउँ (मनाङ) लाई हेरेर त्यहाँ विकास गर्नका लागि मन्त्री भएको दाबी गरेका छन् ।
पद बहालीपछि उनले बाध्यताका कारण आफू पटक पटक मन्त्री बन्ने अवस्था आएको दावी गरे । उनले निर्धक्कसँग भने, ‘यस्तै अवस्था आइरह्यो भने ६ पटक होइन, २० पटक पनि मन्त्री बन्नु पर्ने हुन सक्छ ।’
गण्डकी प्रदेश सरकार जानुमा सबैभन्दा ठुलो हात त माओवादीको छ नि ! मेरो के हात छ र ? मैले त सहयोग गरेकै हो त, खगराजको सरकार बन्ने बेलामा मैले, एमाले र माओवादीले हस्ताक्षर गरेको हो उनले भने ।
स्मरणीय छ, मनाङ प्रदेशसभा २ बाट दोस्रो कार्यकालमा सर्वसम्मत निर्वाचित भएका मनाङेलाई सुरुको १ वर्ष खासै वास्ता गरिएको थिएन । तर त्यसपछि भने उनको साथ अनिवार्य जस्तै बन्यो । मनाङे प्रदेशसभाको पहिलो कार्यकालमा डेढ वर्ष गरेर तीन पटक मन्त्री बने । अहिले ३ महिना नहुँदै तेस्रो पटक मन्त्री बनेका हुन् ।
नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटा ऊर्जा मन्त्री बन्नु भएको छ । उहाँले पनि आजै शपथसँगै पदबहाली गर्नु भएको छ ।
प्रकाशित मिति २०८१ जेष्ठ २९, मंगलवार १९:३४ गते