शान्तिको सन्देशको रचनावाचन ६५ मा डा. शुभेच्छु

शान्तिको सन्देशको रचनावाचन ६५ मा डा. शुभेच्छु

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ जेठ ३० गते बुधबार ११:०६

हरेक सिर्जना नयाँ आविष्कार हुने हुँदा पुराना र नयाँ पुस्ताका मानिस एकै ठाउँमा बसेर सिर्जना सुन्ने सुनाउने गर्ने क्रमले नयाँ आविष्कारमा बल पुग्ने प्रमुख अतिथिको धारणा ।

हरेक महिनाको अन्तिम शनिबार सो कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

काठमाडौं– शान्तिनगर उपभोक्ता समितिको धर्मशालाको सभाहलमा ‘शान्तिको सन्देश’ कार्यक्रमको ६५ औँ श्रृङखला साहित्यकार डा. रमेश शुभेच्छुको प्रमुख आतिथ्यमा भयो । हरेक महिनाको अन्तिम शनिबार आयोजना हुने सो कार्यक्रम जेठ २६ गते सम्पन्न भएको हो ।
शान्तिनगर उपभोक्ता समितिका उपाध्यक्ष गोविन्दराज भट्टराईको सभाध्यक्षता एवम् साहित्यकार डा. रमेश शुभेच्छुको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा विभिन्न विशिष्ट साहित्यकारहरूको उपस्थिति थियो । हरिप्रसाद पाण्डेय, अच्युत पौडेल चिन्तन, त्रिलोचन आचार्य, बिनोद दहाल बत्स, रामचन्द्र दहाल, रमेशप्रसाद खनाल, यदुनाथ कोइराला, दुर्गाप्रसाद अधिकारी भमरकोटे, निबन्ध आचार्य, यदुनाथ वसन्तपुरे, धरेन्द्र बरालका साथै विभिन्न विद्यार्थीहरू सभागी थिए ।
कार्यक्रममा उक्त सहभागी कविहरूका साथै देवकी खतिवडा, अनुक्रमा पाण्डे, कुमार निरौला, वासुदेव आचार्य, निष्ठा शाक्य, अमृतप्रसाद पौडेल, जमुना आचार्य, पुष्पा दाहाल, जीविका काफ्ले, रामचन्द्र दाहाल, भावना बराल, दिवाकार न्यौपाने, शिवराम घिमिरे, स्वएशा लुइटेल, इक्सन मगर लगायतका विभिन्न पुस्ताका दुई दर्जन अधिक कवि कवयित्रीले रचना वाचनु गर्नुभएको थियो ।
सहभागीका रचना वाचन र श्रवण गरी प्रमुख अतिथि शुभेच्छुले मोटामोटी त्यहाँ प्रस्तुत रचना शैलीका दृष्टिले हास्यव्यङ्ग्यात्मक र चिन्तन मूलक भएको बताउनुभयो ।
त्यसैगरी उहाँले समग्र कवितामा देशभक्ति वा राष्ट्रिय चेतना नारी चेतना, सामाजिक विकृति विसंगतिप्रति विद्रोहचेत र व्यङ्ग्यचेत रहेको बताउनुभयो । त्यस्तै लयढाँचाका दृष्टिले शास्त्रीय बद्ध, लोकलय र मुक्तलयका कविता रहेको बताउनुभयो ।
उहाँले कविताका प्रवृत्तिको विश्लेष्ण पनि गर्दै नयाँ पुस्तालाई कसरी सिर्जनालाई राम्रो बनाउने भन्ने विषयमा विभिन्न उदारहण पनि प्रस्तुत गर्नुभयो । उहाँले बत्तीसौँ शृंखलामा पनि प्रमुख अतिथिका रुपमा सहभागी भएको स्मरण गर्दै यस्ता अनुष्ठानले प्रतिभाको सिक्ने र सिकेर गरेको सिर्जना पोख्ने वातावरण दिएको बताउनुभयो । उहाँले हरेक सिर्जना नयाँ आविष्कार हुने हुँदा पुराना र नयाँ पुस्ताका मानिस एकै ठाउँमा बसेर सिर्जना सुन्ने सुनाउने गर्ने क्रमले नयाँ आविष्कारमा बल पुग्ने बताउनुभयो ।
आरम्भमै राजेन्द्र गजुरेलले स्वागत गर्दै शुभारम्भ गर्नुभएको कार्यक्रमको उद्देश्यमा गोविन्दराज भट्टराईँले प्रकाश पार्नुहुँदै सबैमा धन्यवाद ज्ञापन गर्नुभयो ।
साहित्यिक रचना वाचन कार्यक्रमका रुपमा २०७४ सालदेखि नियमित हुँदै आएको यो कार्यक्रम कोभिडका बीचमा केही समय रोकिएर पुनः सुचारु भएको आयोजकहरूले जानकारी दिए ।

प्रकाशित मिति २०८१ जेष्ठ ३०, बुधबार ११:०६ गते
हजुरको प्रतिक्रिया