
काठमाडौं– उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूले धेरै कामको नतिजा निकाल्न नसके पनि त्यसका आधारहरू धेरै तयार गरेको बताउनु भएको छ । उहाँले मन्त्री बनेको १०० दिन पुगेको अवसरमा गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी जेठ ३२ गते त्यस्तो बताउनु भएको हो ।
उहाँले भन्नुभयो, ‘यो सय दिनमा हामीले आधार मात्रै बनायौं । धेरै ठूलो केही गर्न सकेको होइनौं तर केही गर्ने आधार चाहिँ हामीले बनाएका हौं ।’ उपप्रधान तथा गृहमन्त्री रविले हिजो मात्र पार्टीको दोस्रो स्थापना दिवसको सन्दर्भमा पार्टी पंक्तिलाई सुनाएका पंक्ति दोहोर्याउँदै आफू सरकारमा भए पनि सत्ता अरुले नै चलाएका छन् भन्नुभयो । उहाँले सय दिनको यो अवधिमा देशलाई नराम्रो हुने केही काम नगरेको भन्दै आफूले भ्रष्टाचारलगायत विभिन्न प्रकारका फाइल खोल्न चाहे पनि सत्ता पक्षबाट असहयोग भएको संकेत समेत गर्नु भएको छ । उहाँले भन्नुभयो, ‘सय दिनको अवधिमा आफूले देशलाई नराम्रो हुने केही काम गरेको छैन, नेपाली जनताको कसम खाएर शपथ लिएर बसेको सय दिनमा मैले यो देशलाई नराम्रो हुने, यहाँका जनतालाई नराम्रो हुने एउटा पनि काम गरिनँ ।’ उहाँका अनुुसार सरकार फेरिँदा पनि सत्ता फेरिँदैन । उहाँले भन्नुभयो, ‘नेपालमा सरकारमा त हामी छौं । सत्तामा त के–के छ, के–के छ ? त्यो सत्तालाई तोड्न अलिकति गाह्रो चाहिँ हुन्छ ।’
सिंहदरबार आम नागरिकका लागि खुला :
अब सिंहदरबार आम नागरिकका लागि खुला भएको बताउँदै सिंहदरबार प्रवेशका लागि पहुँचवाला हुनु नपर्ने उहाँले बताउनु भयो । तर प्रवेश पासको नयाँ व्यवस्थाले पुरानो प्रणाली भने तत्काल नहट्ने गृहमन्त्रीले जानकारी दिनुभयो ।
त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने अध्यागमनका कर्मचारीहरूलाई छुट्टै पोशाकको व्यवस्था गरिएको, गृहले कन्ट्रोल एण्ड एक्सन रूम निर्माण गरेको, सिडिओ.लगायतले वितरण गरिने प्रवेश पासलाई सुरक्षणयुक्त, प्रविधिमैत्री र प्रभावकारी बनाउन तयार भएको नयाँ आवागमन अनुमति प्रणाली सञ्चालनका लागि कार्यविधि स्वीकृत भएको उहाँले जानकारी दिनुभयो ।
गाँजा औषधिजन्य प्रयोगका लागि खुला :
उहाँले गाँजाको औषधिजन्य प्रयोगका लागि एक महिना भित्र आवश्यक कानूनी प्रबन्ध गर्ने जानकारी दिदै भन्नुभयो, ‘औषधिजन्य प्रयोजन र औद्योगिक प्रयोजनका लागि गाँजाको लिगलाइजेशनका लागि हामीले बनाउनुपर्ने नीति बनाउनुपर्ने हुन्छ । त्यसका लागि एक महिनाको समय भनेर हामी भनिसकेका छौं, गृह मन्त्रालयले एक महिना भित्र त्यसको एउटा राम्रो कानूनी प्रावधान निर्माण गर्नेछ, निर्देशिका तयार गर्नेछ ।’
२४१ व्यक्तिगत सुरक्षाकर्मी फिर्ता :
गृहमन्त्री लामिछानेको सय दिनको उपलब्धिमा सय दिनको कार्यकालमा २४१ जना व्यक्तिगत सुरक्षाकर्मी (पीएसओ) फिर्ता गर्न सफल भएको बताउनु भयो । तीमध्ये नेपाल प्रहरीतर्फ १०७ जना र सशस्त्र प्रहरी बल, नेपालतर्फ १३४ जना रहेको उहाँको भनाइ छ ।
यसैगरी, चार हजार ७९२ जना फरार अभियुक्त पक्राउ परेको, एक हजार ५५६ वर्ष आठ महिना १६ दिन कैद र ५२ करोड २८ लाख साठ्ठी हजार २३४ रुपैयाँ जरिबाना असुलीका हुनुका साथै न्याय निरुपण र अदालतका फैसला कार्यान्वयनमा महत्त्वपूर्ण योगदान पुगेको उहाँले आफ्नो प्रतिवेदनमा उल्लेख गर्नु भएको छ ।
सो अवधिमा सीमाबाट हुने अवैध ओसारपसार नियन्त्रण गर्न सीमा गस्तीलाई व्यापक एवं प्रभावकारी रूपमा परिचालन गरिएको भन्दै नेपाल प्रहरीले एक अर्ब ४३ करोड ९७ लाख ५८ हजार बराबरको र सशस्त्र प्रहरी बल नेपालले ४७ करोड ८७ लाख ७९ हजार ५०० गरी कुल एक अर्ब ९१ करोड ८५ लाख ३७ हजार ६ सय बराबरको सामान भन्सार कार्यालय र राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको बताइएको छ ।
आफ्ना कुराहरू राखिसकेपछि पत्रकारका प्रश्नहरूलाई निर्मम प्रश्न गर्नका लागि भने पनि कुनै जवाफ नदिई कार्यक्रमस्थलबाट बाहिरिनु भएको थियो ।
वृहत् जनकपुरको ९ हजार बिघा जग्गा अतिक्रमित :
वृहत् जनकपुरको ९ हजार बिघा जग्गा अतिक्रमित भएको बताउँदै कारबाहीको दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । उहाँले भन्नुभयो, ‘जाँदाजाँदै तपाईंहरूलाई एउटा कुरा जानकारी गराऔं । वृहत् जनकपुरको ९ हजार बिघा जग्गा अतिक्रमण भएको पाइएको छ । यसविरुद्ध केही दिनमै बिग अपरेशन प्रहरीले गर्दैछ ।’
सो अवसरमा गृहमन्त्री रविले पत्रकारलाई निर्ममभन्दा निर्मम प्रश्न गरिराख्न आग्रह गर्नु भएको थियो । अब बोलेर होइन, आफ्ना कामले जवाफ दिने सोचमा आफू रहेको सुनाउनु भएका गृहमन्त्री रविले तर कार्यक्रमको अन्त्यमा पत्रकारको एउटा पनि प्रश्न नसुनी कार्यक्रम हलबाट बाहिरिनु भयो । उहाँले भन्नुभएको थियो, ‘आगामी दिनमा तपाईंहरूको निर्ममभन्दा निर्मम प्रश्नहरू रहुन् । तपाईंका विश्लेषण कडाभन्दा कडा रहुन् । यो के भएको, कसो भएको चुनौतीका साथ भन्नुहोला ।’

प्रकाशित मिति २०८१ जेष्ठ ३२, शुक्रबार १९:५९ गते