
काठमाडौं– एक विशेष समारोहकका बीच ‘देशभक्त राजनेता कीर्तिनिधि विष्ट’ नामक ग्रन्थ सार्वजनिक गरिएको छ । पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा, शिक्षाविद् प्रा.डा.सुरेशराज शर्मा र महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीले यहाँका आयोजिक औपचारिक कार्यक्रमका बीच सामूहिक रुपमा साउन ५ गते लोकार्पण गर्नु भएको हो ।
सो अवसरमा समालोचक प्रा. केशव सुवेदीले सो ग्रन्थबारे समीक्षात्मक टिप्पणी गर्नु हुँदै आफ्नो मन्तव्य प्रस्तुत गर्नुभएको थियो । सो ग्रन्थ नइ प्रकाशनको १८३ औँ कृतिका रुपमा प्रकाशित भएको नइका सदस्य सचिव नरेन्द्रराज प्रसाईले जानकारी दिनुभयो । उहाँका अनुसार सो ग्रन्थमा देशभक्त राजनेता कीर्तिनिधि विष्टको व्यक्तित्व एवम् कीर्तित्वलाई थप उजिल्याउने प्रयाश गरिएको छ ।
उहाँका अनुसार नरेन्द्रराज प्रसाई तथा इन्दिरा प्रसाईबाट सम्पादित ‘देशभक्त राजनेता कीर्तिनिधि विष्ट’ नामक ग्रन्थमा पूर्वप्रधानमन्त्री विष्टको राष्ट्यि राजनीतिक योगदानको चित्र प्रस्तुत गरिएको छ ।
नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित उक्त समारोहमा सदस्यसचिव नरेन्द्रराज प्रसाईले ग्रन्थका बारेमा मन्तव्य प्रकट गर्नुभएको थियो ।
‘देशभक्त राजनेता कीर्तिनिधि विष्ट’नामक उक्त ग्रन्थमा मात्र ५८८ पृष्ठ रहेका छन् । हार्ड र सफ्ट दुईप्रकारका जिला(कभर) रहेका छन् । उक्त ग्रन्थमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीद्वय लोकेन्द्रबहादुर चन्द र माधवकुमार नेपाल, राष्ट्कवि माधव घिमिरे, शताब्दी पुरुष सत्यमोहन जोशी, सीपी मैनाली, पशुपतिशमशेर राणा, नवराज सुवेदी, अर्जुननरसिंह केसी, कमल थापा, डा. भेषबहादुर थापा, भद्रकुमारी घले, कृष्णप्रसाद भण्डारी, लोकमानसिंह कार्कीसमेत देश देशान्तरका ६९ जना स्वनामधन्य व्यक्तिहरूका लेखहरु समेटिएको नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति २०८१ श्रावण ५, शनिबार २०:५३ गते