सामाजिक जागरणको आन्दोलन : हलो क्रान्ति

सामाजिक जागरणको आन्दोलन : हलो क्रान्ति

विजयराज न्यौपाने

@antaranganews

२०८१ साउन ११ गते शुक्रबार ०८:३०

‘ब्राम्हणको हलो जोत आन्दोलन’लाई व्यापक बनाउन र सर्वसाधारणहरूको समेत सहभागिता र समर्थन प्राप्त गर्नका लागि लमजुङ, दुराडाँडाको धुवाँआउने ठाँटीमा २००४ सालदेखि २००६ सालको प्रारम्भसम्म पुराण वाचन गरिएको थियो ।

समाजलाई यसरी अग्रगमनको दिशामा हिँडाउन तत्कालीन घोर अन्धकारमय समाजमा मिर्मिरे उज्यालो ल्याउन लागेका सम्पूर्ण योध्दाहरू पूजनीय छन्, वन्दनीय छन् ।

तत्कालीन अशिक्षा, अन्धविश्वास, कुसंस्कार, कुमान्यताले जकडिएको यथास्थितिको समाजमा नवीन चेतना, सामाजिक परिवर्तनको तरङ्ग मच्चाउने एक अभियान थियो– हलो आन्दोलन अर्थात हलो क्रान्ति । भित्री मूल ध्येय निरङ्कुश, एकतन्त्रीय राणाशासनको विरुद्ध विसं २००६ साल साउन ११ गते छेडिएको हलो आन्दोलन वास्तवमा एक राजनीतिक, सामाजिक एवम् आर्थिक तथा शैक्षिक आन्दोलन थियो । यस मुलुकमा आन्दोलनको मिर्मिरे उज्यालो ल्याउने केन्द्रीय तारा थिए– पण्डित तोयनाथ अधिकारी ।
उनीसहित नेपाली सामाजिक आकाशमा चम्चमाउने उज्याला चारतारा थिए– पं. तोयानाथ अधिकारी, ले. शेषकान्त अधिकारी, मु. हरिभक पौडेल, राजनेता श्रीकान्त अधिकारी । यिनै तारा वरिपरि अन्य ताराहरू पनि मिर्मिरे उज्यालो ल्याउन चम्चमाइरहेका थिए । आज यस आन्दोलनको परिचर्चा गर्दै यसको वास्तविकता बुझी खुला र उदार समाज निर्माणमा बल पुर्याउँदै सर्वोदयका लागि व्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिई निःस्वार्थ ढङ्गले अभिप्रेरित हुँदै सामाजिक जागरणका लागि सङ्कल्पित हुने दिन पनि हो । यस किसिमको सामाजिक जागरण ल्याउने काम अभियानकै रूपमा निरन्तर चलिरहनु पर्दछ पनि ।
‘ब्राम्हणको हलो जोत आन्दोलन’लाई व्यापक बनाउन र सर्वसाधारणहरूको समेत सहभागिता र समर्थन प्राप्त गर्नका लागि लमजुङ, दुराडाँडाको धुवाँआउने ठाँटीमा २००४ सालदेखि २००६ सालको प्रारम्भसम्म पुराण वाचन गरिएको थियो । नैतिक, चारित्रिक उत्थानसहित जनचेतना जगाउने, प्रजातन्त्र प्राप्तिका लागि बल पुर्याउने, आफ्नो काम आफै गरी स्वावलम्बी बन्ने बनाउने उद्देश्यले पुराणका माध्यमबाट समाज परिवर्तनका लागि चालिएको एक सांस्कृतिक अभियान थियो पुराण वाचन । चारजना पण्डित वाचक रहेको यस महापुराण अभियानमा आधुनिक ढङ्गले पुराणको मर्मलाई व्यावहारिकतामा ढालेर मानवीय ढङ्गले उदारतापूर्वक प्रवचन दिने सम्झाउने मूल पण्डित तोयनाथ अधिकारी थिए । उनको प्रवचन समावेशी समाज निर्माणमा बल पुग्ने किसिमको हुन्थ्यो भन्ने बुझिन्छ ।
छुवाछुतको भेद रहेको तत्कालीन समाजमा दलितले पुराण वाचन सुन्नु हुँदैन भनी दलितहरूलाई हेय र तिरस्कार गर्दै एकथरी यथास्थितिका पक्षमा रहेका मानिसले हेरे तर पं. तोयनाथले शास्त्रीय आधारमै व्याख्या गरेर सुन्न हुन्छ, उसले पनि आफूलाई सुनेका कुरा ग्रहण गर्दै सही बाटोमा हिँडाउन सक्छ भनी अनुमति दिएका थिए भन्ने बुझिन्छ । आज हामी समावेशीकरणको नारा उठाएका छौँ भने त्यति बेलाको पुराण वाचनमा समावेशीतालाई जोड दिइएको थियो । झट्ट हेर्दा धार्मिक, साँस्कृतिक अभियान वा अर्कोतिर कृषि क्रान्ति जस्तो देखिए पनि यो निरङ्कुश राणा–तन्त्रका बिरुद्ध छेडिएको सुनियोजित आन्दोलन थियो ।
यस आन्दोलनलाई शास्त्रीय ढङ्गले हेर्ने, प्रतिवाद गर्ने काम शास्त्रीसम्मको अध्ययन सकेर बनारसबाट गाउँघर फर्केका सामाजिक अभियन्ता पं. तोयनाथ अधिकारीको आवास नगिच अर्चलेनी बाटेगरा, दुराडाँडामा सर्वप्रथम उनैको नेतृत्वमा ब्राह्मणद्वारा हलो जोतिएको थियो । त्यतिबेला ब्राह्मणले हलो जोत्नु हुँदैन भन्ने मान्यता थियो । यस किसिमको यथास्थितिमा प्रगतिवादी सोच लिएर शास्त्रीय ढङ्गले उठ्ने सवालहरूको प्रतिवाद पं. तोयानाथले गरे भने कानुनी ढङ्गले उठ्ने सवालहरूको जवाफ दिन र प्रतिरक्षा गर्न जागिरे जीवन भोगाइबाट खारिएका ले. शेषकान्त अधिकारी, मु. हरिभक्त पौडेल तम्तयार थिए भने व्यावहारिक पाटोबाट आएका अड्चनहरूलाई केलाउने र प्रतिवाद गर्ने जिम्मा हरिदास अधिकारी मुखियाले लिएका थिए ।
हलो आन्दोलन छेड्नु केही समय अगाडि हरिदासको निधन भएकाले उनैका सुयोग्य सुपुत्र नवयुवा श्रीकान्त अधिकारीले पछि उक्त स्थान ग्रहण गरे र नवयुवाहरू समेत आकर्षित हुँदै उनीसँग जुरुक्क उठे । हलो जोत्ने ब्राह्मण तोयनाथ लगायत अन्य ब्राह्मणहरूद्वारा धर्ती, गोरु र हलोका सामानहरूको पूजागरी हलो जोतिएको घटनाले बन्द समाजमा ठूलै भुकम्प गएको जस्तो धक्का महसुस गरियो । समाजमा ठूलो वहस चल्यो । समाज रूपान्तरणको पक्षमा र यथास्थितिको रक्षामा दुई फ्याकमा समाज बाँडिन गयो । समाजको ठूलो हिस्सा भने परिवर्तनकै पक्षमा उभियो । कविता पनि पक्ष र विपक्षमा छेडछाड गरेर लेखिए । यथास्थितिको आडमा टाँसिएको तत्कालीन राणा सरकारले ठूलै धक्का महसुस गर्यो र आन्दोलनका अगुवाहरूलाई जेलमा कोच्यो तर उनीहरूले जेलमै विद्रोह गरे । आखिर विना सर्त जेलमुक्त गर्न सरकार वाध्य हुनु पनि पर्यो ।
यो आन्दोलनको लहर छिमेकी जिल्लाहरू तनहुँ, कास्की, गोरखा, धादिङ, गुल्मी, अर्घाखाँची आदि हुँदै पश्चिम नेपालभर फैलिन गयो । राणाशासनको जग यसै अभियानले हल्लायो । सचेत परिवर्तनकारी नवयुवाहरू श्रीभद्र शर्मा, तनहुँ; पूर्णप्रसाद ब्राह्मण, गोरखा; केवलपुरे किसान, धादिङ; काशिनाथ गौतम अर्घाखाँची आदिको नेतृत्वमा जिल्ला जिल्लामा आन्दोलन चर्किदै गयो र एकतन्त्रीय हुकुमी शासनका विरुद्धमा जनमत तयार बन्दै गयो र सार्थक पनि भयो ।
समाजलाई यसरी अग्रगमनको दिशामा हिँडाउन तत्कालीन घोर अन्धकारमय समाजमा मिर्मिरे उज्यालो ल्याउन लागेका सम्पूर्ण योध्दाहरू पूजनीय छन्, वन्दनीय छन् । यस आन्दोलनको विचार–वीज नै पं. तोयानाथ अधिकारी थिए भने वीज उमार्नका लागि वातावरण तयार पार्ने मुख्य नायकहरू ले. शेषकान्त, मु. हरिभक्त, श्रीकान्त लगायत सबै उत्तिकै पूजनीय र वन्दनीय छन् । वास्तवमा भन्ने हो भने यी योद्धाहरू हाम्रो समाजका विभूति हुन् । सरकारले निश्पक्ष ढङ्गले मूल्याङ्कन गरी हलो आन्दोलन जस्ता समाजिक अग्रगामी आन्दोलनलाई पाठ्यक्रममा समेत राखेर सामाजिक शिक्षा दिलाउनु अत्यावश्यक देखिन्छ । सिर्जनात्मक ढङ्गले प्रगतिवादी सोच लिएर समाज परिवर्तनका लागि अमूल्य योगदान पुर्याउने सामाजिक अभियन्ताहरूलाई राष्ट्रिय विभूति घोषणा गरी सम्मान प्रकट गर्न राज्य चुक्नु हुँदैन रु। के नेता के जनता व्यक्तिगत तुच्छ स्वार्थ त्यागेर समाज उत्थानमा लाग्न हलो आन्दोलन दिवसले हामी सवैलाई प्रेरणा देओस् । अस्तु !
सन्दर्भ सामग्रीहरू :
अधिकारी जीवनः हलोक्रान्ति, २०४८ ।
न्यौपाने विजयराज न्यौपाने ः लमजुङको साहित्यिक इतिहास, २०६८
शर्मा सोमकान्त ः हलो क्रान्तिका जनक पं. तोयानाथ अधिकारी,२०६७ ।
सुवेदी हंसपुरे ः नेपालको सांस्कृतिक परिवेशमा हलो क्रान्ति, २०५९ ।

प्रकाशित मिति २०८१ श्रावण ११, शुक्रबार ०८:३० गते
हजुरको प्रतिक्रिया