दुई दिने निःशुल्क अर्बुद रोग (क्यान्सर) र आँखा शिविर सञ्चालनको तयारी

दुई दिने निःशुल्क अर्बुद रोग (क्यान्सर) र आँखा शिविर सञ्चालनको तयारी

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ मङ्सिर १ गते शनिवार ०७:५२

सो शिविर नेपाल अर्बुद रोग निवारण संस्था, लमजुङ शाखाको आयोजना, नमूना सामुदायिक अस्पतालको व्यवस्थापन र लायन्स इन्टरनेशनल डिस्ट्रिक– 325 E को प्राविधिक सहयोगमा सञ्चालन गरिने भएको हो ।

सुन्दरबजार स्थित एचडिसिएस नमूना सामुदायिक अस्पतालमा उक्त शिविर सञ्चालन गरिने भएको हो ।

बेसीशहर– लमजुङमा दुई दिने अर्बुद रोग (क्यान्सर) र आँखा शिविर सञ्चालन गर्ने निर्णय गरिएको छ । सो शिविर एचडिसिएस नमूना सामुदायिक अस्पताल सुन्दरबजारमा मंसिर २१ र २२ गते दुई दिन सञ्चालन गर्ने निर्णय कार्तिक ३० गते गरिएको हो ।
सो शिविर नेपाल अर्बुद रोग निवारण संस्था, लमजुङ शाखाको आयोजना, नमूना सामुदायिक अस्पतालको व्यवस्थापन र लायन्स इन्टरनेशनल डिस्ट्रिक– 325 E को प्राविधिक सहयोगमा सञ्चालन गरिने भएको हो । त्यसका लागि त्रिपक्षीय सहमति भएको नेपाल अर्बुद रोग निवारण संस्था, लमजुङ शाखाका सभापति नवराज पहाडीले बताउनु भएको छ । उहाँका अनुसार शिविरमा महिला स्त्रिरोग विशेषज्ञद्वारा क्यान्सरको परीक्षण गरिने छ । उहाँले भन्नुभयो, ‘शिविरमा मूलतः महिलामा हुने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा पुरुषमा हुने मुख र फोक्सोको क्यान्सरलाई प्राथमिकताका साथ परीक्षण गरिने छ ।’
यसैगरी, आँखा शिविरमा आँखाको सबै प्रकारका रोगको परीक्षण गरिने छ भने मोतिया विन्दूको शल्यक्रियाका लािग पनि निःशुल्क हुने प्रवन्ध गरिने भएको छ । यो निर्णय भएसँगै शिविरलाई उपलब्धीपूर्ण बनाउन तयारी समेत थालिएको अर्बुद शाखाका सभापति पहाडीले जानकारी दिनुभएको छ ।

उक्त शिविर सञ्चालनका लागि प्राविधक सहयोग गर्ने लायन्स क्लबका सदस्य समेत रहनु भएका नेपाल अर्बुद रोग निवारण संस्थाका आजीवन सदस्य रामवावु अधिकारीले लायन्स क्लबसँगको आवश्यक सम्पर्क, समन्वय एवम् व्यवस्थापन कार्यमा भूमिका निभाई रहनु भएको छ ।
शाखा अधिवेशनको निर्णय :
नेपाल अर्बुद रोग निवारण संस्था, लमजुङ शाखाको पहिलो अधिवेशन यही मंसिर १४ गते यहाँ हुने भएको छ । शाखाका सभापति नवराज पहाडीको अध्यक्षतामा कार्तिक ३० गते बसेको बैठकले सो निर्णय गरेको हो ।
आउँदो माघमा हुने संस्थाको राष्ट्रिय सभामा भाग लिन सहजताका लागि शाखा अधिवेशन गर्नु पर्ने केन्द्रको निर्देशन अनुसार शाखा अधिवेशन गर्ने निर्णय गरिएको शाखाका सचिव राजकुमार भण्डारीले बताउनु भएको छ । उहाँका अनुसार संस्थाको जिल्लामा २६ जना आजीवन सदस्य छन् । उहाँले भन्नुभयो, ‘शाखा अधिवेशन प्रयोजनका लागि यही मंसिर ५ गतेसम्म सदस्यता खुला गरिएको छ । संस्थाको आजीवन सदस्यता शुल्क दुई हजार पाँच सय रुपैयाँ रहेको छ ।’

प्रकाशित मिति २०८१ मंसिर १, शनिबार ०७:५२ गते
हजुरको प्रतिक्रिया