
काठमाडौं– नेकपा(एकीकृत समाजवादी)ले स्थानीयस्तरदेखि केन्द्रसम्म आन्दोलन गर्ने तयारी गरेको छ । केन्द्रीय कार्यालय आलोकनगरमा भएको स्थायी कमिटी बैठकले जनताका आवाज उठाउने गरी आन्दोलन गर्ने निर्णय गरेको पुस ३ गते सम्पन्न बैठकले गरेको हो । बैठकले अध्यक्ष नेपालको नेतृत्वमा २४ सदस्यीय सचिवालय समेत गठन गरेको छ । सो बैठक मंसिर २६ गतेदेखि जारी थियो ।
आन्दोलनका लागि महासचिव घनश्याम भूसालको नेतृत्वमा समितिसमेत गठन भएको र समितिमा नेता जीवनराम श्रेष्ठ रहनुका साथै अन्य सदस्य थप गर्दै जाने एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले बताउनु भएको छ । उहाँका अनुसार पार्टीलाई जनतासँग जोड्नका निम्ति आन्दोलन गर्न लागिएको हो । उहाँले भन्नुभयो, ‘जनताका दैनिक समस्या, सुशासन, भ्रष्टाचारविरूद्ध जनताका चेतना वृद्धि गर्न आन्दोलन गर्न लागेका हौं, जनसंघर्षको वा आन्दोलनको माध्यमबाट पार्टीलाई निर्माण, सुदृढीकरण र विस्तार गर्न सकिन्छ भन्ने सम्झेर अबका केही महिना हामी आन्दोलन गर्दैछौं ।’
जनताका आवाज उठान गर्ने गरी स्थानीयस्तरदेखि केन्द्रसम्म आन्दोलन गर्ने र केही दिनभित्र मूल कार्यक्रम सार्वजनिक गरिने पनि उहाँको भनाइ छ । उहाँका अनुसार एकीकृत समाजवादीले आगामी निर्वाचनहरूमा पार्टीबाटै उम्मेदवार बनाउने गरी तयारी गर्ने भएको छ । खतिवडाले भन्नुभयो, ‘आगामी निर्वाचनहरूमा पार्टीको तर्फबाट एकल उम्मेदवारी दिन सक्ने गरी सबै प्रयाससहित जनतामा जाने पनि निर्णय भएको छ ।’
सचिवालय गठन :
सोही बैठकले नेकपा (एकीकृत समाजवादी)ले २४ सदस्यीय सचिवालय गठन गर्दै नेताहरूको जिम्मेवारी तोकेको छ । अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा सचिवालय गठन गरिएको महासचिव घनश्याम भूसालले बताउनु भयो । उहाँका अनुसार एकीकृत समाजवादीले सम्मानित नेता झलनाथ खनाललाई स्कुल विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।
यसैगरी, संगठन विभाग प्रमुखमा बेदुराम भुसाल, महासचिव घनश्याम भुसाल अनुगमन तथा मूल्याङ्कन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । विदेश विभाग प्रमुखमा प्रमेश हमाल, राजकीय मामिला विभाग प्रमुख घनेन्द्र बस्नेत, मोर्चा फाँट प्रमुखमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई जिम्मेवारी दिइएको छ ।
जगन्नाथ खतिवडालाई सङ्घीय तथा प्रादेशिक मामिला प्रमुख, उपाध्यक्ष प्रकाश ज्वालालाई प्रचार विभाग प्रमुख, उपाध्यक्ष जयन्ती राईलाई अखिल नेपाल महिला सङ्घ समाजवादीको इन्चार्ज तोकिनु भएको महासचिव घनश्याम भूसालले जानकारी दिनुभयो । उहाँका अनुसार उपाध्यक्ष भानुभक्त जोशीलाई सुदूरपश्चिम प्रदेश इन्चार्ज, उपाध्यक्ष धर्मनाथप्रसाद साहलाई मधेस प्रदेश इञ्चार्ज, उपाध्यक्ष गङ्गालाल तुलाधरलाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ ।
उपमहासचिव राजेन्द्र राईलाई कोशी प्रदेश इन्चार्ज, उपमहासचिव रामकुमार भट्टराईलाई कार्यालय सचिव, उपमहासचिव गरिमा शाहलाई संसदीय इन्चार्ज, उपाध्यक्ष मेटमणि चौधरीलाई लुम्बिनी इञ्चार्जको जिम्मेरी सुम्पिएको छ ।
यसैगरी, सचिव श्रीनाथ बराललाई गण्डकी इन्चार्ज, सचिव चन्द्रबहादुर शाहीलाई कर्णाली इन्चार्ज, युवा विभाग इन्चार्ज लक्ष्मण केसी र विद्यार्थी विभाग इन्चार्जको जिम्मेवारी रामकुमारी झाँक्रीले लिनु भएको छ ।
संविधान संशोधन कार्यदल :
यसैगरी, सो बैठकबाट नेकपा एकीकृत समाजवादीले संविधान संशोधनका लागि सुझाव संकलनसहित प्रतिवेदन पेस गर्न प्रकाश ज्वालाको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको छ ।
सो कार्यदलको सदस्यमा गरिमा साह, गणेश विक, बलदेव चौधरी, रामचन्द्र यादव, घनप्रसाद गौतम र राजन राई चयन हुनु भएको छ ।
तत्काल कुनै पार्टीसँग एकता नगर्ने :
नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठकले तत्काल कुनै पनि कम्युनिष्ट पार्टीसँग एकता नगर्ने निर्णय गरेको छ । राष्ट्रिय ऐजेण्डाहरूमा सहकार्यको सम्भावना सधैं जीवित रहे पनि पार्टी एकताको सम्भावना नरेहको बैठकबाट पार्टी यस्तो निस्कर्षमा पुगेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताउनु भयो ।
पार्टीको धारणा सार्वजनिक गर्दै उहाँले भन्नुभयो, ‘हालको अवस्थामा अन्य कुनै पनि कम्युनिष्ट पार्टीहरूसँग एकीकरण गर्ने अथवा पार्टी एकता गर्ने आजको सम्भावना नरहेको तर सहकार्यको सम्भावना सधैं जिवितै रहेको हुँदा विभिन्न राष्ट्रिय एजेण्डामा सहकार्य गर्न तयार छौं तर पार्टी एकताको नाममा कुनै पार्टीसँग एकीकरण गर्ने सम्भावना नरहेको पार्टीको धारणा छ ।’
स्मरणीय छ, एकीकृत समाजवादीले गत असार २० गते सम्पन्न महाधिवेशनबाट अध्यक्षमा माधबकुमार नेपाललाई चयन गरेको थियो ।

प्रकाशित मिति २०८१ पुष ४, बिहीबार ०७:५७ गते