ठाडोभाकाकी सर्जक धनमाया तामाङको २० औं स्मृति सभामा विविध सांगीतिक प्रस्तुति

ठाडोभाकाकी सर्जक धनमाया तामाङको २० औं स्मृति सभामा विविध सांगीतिक प्रस्तुति

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ पुस ६ गते शनिवार १०:१६

ठाडोभाका त्यस्तो गीत हो, जसमा युगल जोडीले रसरङ्ग, माया पिरतिका विषय मात्र नभइ, दिदी– भाइ, आमा– छोरा, बाबु– छोरी जस्ता नातासम्बन्धका बीचमा आफ्नो गाउँठाउँ परिवेश, परिस्थिति तथा दैनिक जीवनका समसामयिक घट्नाक्रमको वर्णन गरेर समेत गायक गायिकाहरूले गाउने गर्दछन् ।

धनमायासँग सामान्य बोलचालको बेला तथा कुराकानी गर्दा होस् वा कसैलाई आशीर्वचन दिनु पर्दा होस् ठाडोभाकामै दिने क्षमता थियो, उहाँका छिमेकी पुर्काङ निवासी ७३ वर्षीया मोहनमाया केसीले बताउनु भयो ।

सुन्दरबजार(लमजुङ)– लमजुङको मौलिक लोकभाकाका रुपमा रहेको ठाडोभाकाकी सर्जक धनमायाको २० औं स्मृति सभा विविध सांगीतिक प्रस्तुतिका साथ मनाइएको छ । सुन्दरबजार नगरपालिका– २ परेवाडाँडाकी उनको स्मृति सभा सुन्दरबजार नगरपालिकाले सुन्दरबजारको बौद्ध गुम्बाको सभाहलमा सञ्चालन गरेको हो ।
विवाह समेत ठाडोभाका गाएर गरेकी धनमायाले त्यो जमानामा पनि ठाडोभाकाको गीत रेकर्ड गराएर नयाँ पुस्तालाई हस्तान्तरण गर्दै ठाडोभाकाको संरक्षण कार्यमा विशेष योगदान दिएकी थिइन् । स्मृतिसभामा धनमायाको जीवनीमा आधारित करिब आधा घण्टाको बृत्तचित्र समेत प्रदर्शन गरिएको थियो । उनको व्यक्तित्व एवम् कीर्तित्वमा प्रकाश पार्दै श्रद्धाञ्जली मन्तव्य, ठाडोभाकाको तथा अन्य सांगीतिक प्रस्तुति लगायतका कार्यक्रम गरिएको थियो ।
धनमायाका एकमात्र छोरा जर्नेल आशबहादुर तामाङले आफ्नी आमाले लोकसंस्कृतिको संरक्षण र प्रवद्र्धनका क्षेत्रमा गरेको योगदान बारेमा प्रकाश पार्नु भएको थियो । उहाँले आमा धनमायाले ठाडोभाका गाएर आफ्नो बाबासँग विवाह गरेको र आफूले समेत आमासँग ठाडोभाका गाएको स्मरण गर्नु भएको थियो । उहाँले भन्नुभयो, ‘ठाडोभाका त्यस्तो गीत हो, जसमा युगल जोडीले रसरङ्ग, माया पिरतिका विषय मात्र नभइ, दिदी– भाइ, आमा– छोरा, बाबु– छोरी जस्ता नातासम्बन्धका बीचमा पनि गायन गर्ने गरिन्छ ।’ जसमा आफ्नो गाउँठाउँ परिवेश, परिस्थिति तथा दैनिक जीवनका समसामयिक घट्नाक्रमको वर्णन समेत गायक गायिकाहरूले ठाडोभाकामार्फत गर्ने गर्दछन् उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रमको उदघाटन गर्दै सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाले ठाडोभाका लमजुङको पहिचान भएको बताउदै यसको संरक्षणमा लाग्नु पर्ने बताउनु भयो । पचासको दशकमा प्रविधिको पर्याप्त पहुँच नहुँदाको समयमा पनि लमजुङ र आसपासका जिल्लामा यो भाकाले ख्याति कमाउन सकेको हुँदा यसको संरक्षणमा लाग्नु पर्नेमा उहाँको जोड दियो । उहाँले धनमायाका छोरा जर्नेल आशबहादुर तामाङले आफ्नी आमाको योगदानलाई उजिल्याउन गरेको प्रयासलाई अहिलेको पुस्ताले प्रेरणको रुपमा लिनु पर्ने उल्लेख गर्नुभयो ।
मेलापात, वनजंगलमा घाँस दाउरा गर्ने क्रममा वा गोठालो जाँदा होस् वा औपचारिक या अनौपचारिक कार्यक्रममा समेत ठाडोभाका गाइने गर्दछ । धनमायासँग सो गीत सामान्य बोलचालको बेला तथा कुराकानी गर्दा होस् वा कसैलाई आशीर्वचन दिनु पर्दा होस् ठाडोभाकामै दिने, बातचित समेत ठाडोभाकामा गर्ने क्षमता थियो, उहाँका छिमेकी पुर्काङ निवासी ७३ वर्षीया मोहनमाया केसीले बताउनु भयो । उहाँका अनुसार नाताले हामी माइजु– भाञ्जी थियौं, म उहाँसँग ठाडोभाका छोप्न विभिन्न ठाउँमा जान्थे । ‘त्यो जमानामा गाउँघरतिर पढ्ने, लेख्ने चलन थिएन’ उहाँले भन्नुभयो, ‘हामीले पढेनौ नपढे पनि धनमायाका बुढाबुढीलाई नै रामायण, महाभारत, कृष्ण चरित्रको कथा राम्रो आउथ्यो, तिनैका कुरा जोडेर गीत भन्दा सुनिरहुँ जस्तो लाथ्यो, त्यस्तो गाउन सक्ने क्षमतावान मान्छे एलेसम्म अर्को आफूले देखेको छैन ।’
विसं १९८७ फागुन २० गते लमजुङको बेसीशहर नगरपालिका– २ को चिसापानी, काफलस्वाँरा गाउँमा उहाँको जन्म भएको थियो । उहाँले १६ वर्षकै उमेरमा पुर्काङ चन्द्रबहादुर तामाङसँग गीत गाएरै विवाह गरी सुन्दरबजार नगरपालिका– २ मा पुग्नु भएको हो । बुबा चन्द्रबहादुर तामाङको २०४२ सालको जेठमा निधन भएको हुँदा उहाँको गीत रेकर्ड गर्न सकिएन जर्नेल आशबहादुरले बताउनु भयो । उहाँले ती दिनको स्मरण गर्दै भन्नुभयो, ‘२०५२ सालमा आमाको पहिलो पटक ठाडोभाका रेडर्क गराएको हो ।’ सिडी २०५८ सालमा बनाएको उहाँले जानकारी दिनुभयो ।
नेपाल सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरका पूर्वअध्यक्ष वरिष्ठ संगीतकार प्राज्ञ प्रदीप वमजनले धनमायाले जर्नेल आशबहादुर तामाङजस्तो छोरा पाएर आफ्नो जीवन सार्थक बनाउन सकेको बताउनु भयो । उहाँले आफ्नो जीवनलाई लोकसंगीतका क्षेत्रमा पूर्ण समर्पण गर्ने प्रतीभा जोकसैसँग नहुने हुँदा धनमायाको योगदान उत्कृष्ठ रहेको उल्लेख गर्नुभयो ।
उक्त कार्यक्रममा ठाडोभाका लोककला प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’ले धनमायाले ठाडोभाकाको संरक्षणमा खेल्नु भएको योगदानका बारेमा प्रकाश पार्नु भएको थियो । उहाँ भएर नै हामी आज कलाकार बन्ने मौका पाएका छौं धम्पुले भन्नुभयो ।
यसैगरी, ठाडोभाका लोककला प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले प्रतिष्ठानका गतिविधिका बारेमा प्रकाश पार्दै धनमायाजस्ता सर्जक भएकै कारणले आफूहरू आज ठाडोभाकाको नाउँमा प्रतिष्ठान खोलेर गतिविधि सञ्चालन गर्न पाएका छौं भन्दै प्रशंसा गर्नु भएको थियो । अध्यक्ष पहाडीले ठाडोभाकाका सर्जक देउबहादुर दुरा, पञ्चैसुब्बा गुरुङदेखि भेडीखर्के साइलासम्म सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूकै सिर्जना फुलाउनका लागि प्रतिष्ठानले प्रयास गरेको र विभिन्न पुरस्कार समेत स्थापना गरेर ठाडोभाकाको उन्नयनमा योगदान गरिआएको उल्लेख गर्नुभयो ।
सो अवसरमा अध्यक्ष पहाडीले ठाडोभाका लोककला प्रतिष्ठानको मुखपत्रका रुपमा प्रकाशित तीनवटा स्मारिका आशबहादुर तामाङलाई हस्तान्तरण गर्नु भएको थियो । उक्त अवसरमा जर्नेल आशबहादुर तामाङले ठाडोभाका गायक श्रीमान् तामाङका नातिलाई ब्लड क्यान्सरउपचारका लागि आफ्नोतर्फबाट १० हजार रुपैयाँ सहयोग रकम अध्यक्ष पहाडीलाई हस्तान्तरण गर्नु भएको थियो ।
उक्त कार्यक्रममा ठाडोभाका लोककला प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’ र प्रतिष्ठानका उपाध्यक्ष सीता दुरा, धनमायाका छोरा जर्नेल आशबहादुर तामाङ र राधा भण्डारी, गायक कदेव अधिकारी र गायिका राधा भण्डारीको जोडीले ठाडोभाका प्रस्तुत गरेर मनोरञ्जन दिएका थिए ।
त्यस अवसरमा स्थानीय तमु आमा समूहका सदस्यहरूले सामुहिक नृत्यसमेत प्रस्तुत गरेका थिए ।
सुन्दरबजार नगरपालिका– २ का वडासदस्य इन्दु अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेपाली सेनाकी धनसरा मझकोटीले गरेकी थिइन् ।

प्रकाशित मिति २०८१ पुष ६, शनिबार १०:१६ गते
हजुरको प्रतिक्रिया