
बुटबल– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध थोपरिएको राजनीतिक प्रतिशोधपूर्ण मुद्दाको थुनछेक बहस माघ ११ गते पनि सकिएन । रुपन्देही जिल्ला अदालतमा जारी थुनछेक बहसले १३ गते पनि निरन्तरता पाउने भएको छ ।
आज रवि लामिछानेको तर्फबाट बहस गर्दैगर्दा समय अभावका कारण नसकिएपछि १३ गते पुनः बहस हुने अदालतका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिनु भयो । उहाँका अनुसार आज पनि श्रीमती र अधिवक्ताको रोहबरमा १३ गते हाजिर हुने गरी आदेश आएको छ । न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा बहस भएको थियो ।
रूपन्देही जिल्ला आदलतमा आज सहकारी पीडितकातर्फबाट समेत बहस सकिएको छ । जिल्ला न्यायाधिवक्ता प्रेम पौडेल, सहन्यायाधिवक्ता गोकर्ण घिमिरेलगायतका सरकारी वकिलले बहस गर्नु भएको थियो । सहकारी पीडितको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गरेका थिए ।
आज रास्वपा सभापति रविका तर्फबाट तीन जना वकिलहरू वरिष्ठ अधिवक्ता सुशिल पन्त, सुरेन्द्र थापा र सञ्जय गोलेले बहस गर्नु भएको हो । उहाँहरूले बहस गरेको भए पनि रविकै पक्षबाट १३ गते थप आठजना वकिलहरूले बहस गर्ने तयारी छ । यसैगरी, अधिवक्ताहरू सुरज बस्नेत, सुनीता राउत र पशुपति भण्डारीले पनि बहस गर्ने तयारी छ ।
रवि पक्षका वकिलहरूले बहस गर्न सकेपछि जबाफी बहस हुनेछ । त्यसपछि न्यायाधीशले थुनछेकका लागि आदेश दिने कानुनी व्यवस्था छ ।
हिजो सरकारी वकिल र सहकारीपीडित जाहेरवालाका तर्फबाट गरी ११ जनाले बहसमा भाग लिएका थिए ।

प्रकाशित मिति २०८१ माघ ११, शुक्रबार २०:३३ गते