
लमजुङ– २५ औं विश्व क्यान्सर दिवसका अवसरमा जिल्लाका तीन पालिकामा सचेतनामूलक कार्यक्रम गरिएको छ । नेपाल अर्बुद रोग निवारण संस्थाका पदाधिकारीहरूको नेतृत्वमा जिल्लाका तीन पालिकाका एक एक स्थानमा अर्बुद रोगका विविध पक्षका साथै संस्थाका गतिविधिमा प्रकाश पार्ने कार्य माघ २२ गते गरिएको हो ।
दोर्दी गाउँपालिका, सुन्दरबजार र बेसीशहर नगरपालिकामा सो कार्य गरिएको हो । दोर्दी गाउँपालिकामा संस्थाका जिल्ला सभापति नवराज पहाडीले नेतृत्व गर्नु भएको थियो । सो पालिकामा शाखाका कोषाध्यक्ष तैमाया गुरुङ र कार्यकारी सदस्य मीनबहादुर तामाङ समेत सहभागी हुनुहुन्थ्यो । त्यस्तै सुन्दरबजारमा उपाध्यक्ष शोभा ठकुरी र बेसीशहरमा उपाध्यक्ष नवराज बरालले नेतृत्व गर्नु भएको थियो ।
दोर्दीको फलेनी मावि, हिलेबजारको हातामा सो कार्यक्रम भएको हो । दोर्दी गाउँपालिका, स्वास्थ्य शाखाको समन्वय र अर्बुद रोग निवारण संस्थाको सहभागितामा उक्त कार्यक्रम गरिएको हो । सो अवसरमा अर्बुद शाखाका सभापति पहाडीले क्यान्सर हुन सक्ने अवस्था, रोगथामका उपाय, लक्षण र उपचार विधिका साथै उपचारमा पाइने सुविधा र त्यसमा संस्थाले गर्ने सहजिकरणका बारेमा जानकारी दिनुभएको थियो । उहाँले यसवर्षको क्यान्सर दिवसको नारा ‘अद्वितीय एकता’को अर्थ समेत खुलाउँदै त्यस्तो एकता हुन सकेमा क्यान्सर रोक्न सम्भव छ भन्नु भएको थियो ।
अर्बुद रोग निवारण संस्था केन्द्रमा २०३९ सालमा स्थापना भएको हो । लमजुङमा २०५२ सालमा स्थापना भएर ०५६ सालसम्म गतिविधि भएता पनि सशस्त्रद्वन्द्व चर्केसँगै शाखा निस्कृय रहेकोमा २०८० सालदेखि पुनर्जागृत भई सचेतना र शिविरका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
उहाँले संस्थाले क्यान्सरका बारेमा सचेतना जागृत गर्ने, रोग लागिसकेपछि उपचारमा सहजीकरण गर्ने, उपचाररत विरामीका लागि नेपालमा उपचारका लागि संस्थाले चिकित्सक र सम्बन्धित अस्पतालमा सहजीकरण गर्ने गरेको उल्लेख गर्नुभयो । यसैगरी, कुनै बिरामी भारतमा उपचारमा जान चाहेमा संस्थाको सिफरिसमा पहिलो पटक नेपाल बायुसेवा निगममार्फत विरामीका लागि निःशुल्क, कुरुवा एकजनाका लागि ७५ प्रतिशत छुट हुने, दोस्रो पटक विरामीका लागि ७५ प्रतिशत र कुरुवाका लागि २५ प्रतिशत छुट, तेस्रोपटक विरामीका लागि २५ प्रतिशत छुट हुने व्यवस्था रहेको जानकारी दिनुभयो ।
उहाँले क्यान्सर वंशाणुगत कारणले पनि हुनसक्ने हुन्छ भने अन्य खानपानमा होस नगर्दा पनि हुने गरेको पाइएको बताउनु भयो । त्यसैले, सकेसम्म साकाहारी भोजन गर्नु राम्रो, मांसाहारीमा पनि रातो र पोलेको मासु नखानु बेस्, धुमपान र मद्यपानबाट टाढा रहन सुनमा सुगन्ध हुने अर्बुद संस्थाका जिल्ला सभापति पहाडीले उल्लेख गर्नुभयो ।
उहाँले क्यान्सरका बिरामीका लागि संस्थाले सरकारसँग सहजीकरण गरी एक लाख रुपैयाँ दिन थालिएको, त्यो रकम अपर्याप्त हुँदा ऐले क्यान्सरका विरामीको सकेसम्म निःशुल्क उपचार नभएमा प्रति विरामी पाँच लाख सरकारले दिन प्रवन्ध गर्नु पर्ने माग राखिरहेको समेत पहाडीले जानकारी दिनुभयो ।
सो माविका ७३ जनालाई खोप दिने लक्ष्य रहेकोमा आज ६३ जनाले खोप लगाएको दोर्दी गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख आइतमान गुरुङले बताउनु भयो । उहाँका अनुसार आज पालिकाभर ३७७ जना किशोरीहरूले खोप लगाएका छन् । उहाँले भन्नुभयो, ‘पालिकाको लक्ष्य ५१९ जनलाई खोप दिने रहेको छ ।’
दोर्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्ले सोही कार्यक्रममा खोपको सामग्री खोप कार्यकर्तालाई हस्तान्तरण गर्नु भएको थियो । साथै उहाँको नेतृत्वमा लेखा शाखाका प्रमुख लेखा अधिकृत ताराचन्द्र ढकाल र आफ्नो टिमले संयुक्त रुपमा उक्त खोप कार्यक्रमको विभिन्न केन्द्रमा निरीक्षण गरिएको सो पालिकाका वास्थ्य शाखाका प्रमुख आइतमान गुरुङले जानकारी दिनु भएको छ ।
सुन्दरबजारमा उत्साहजकन वातावरण :
सोही कार्यक्रम सुन्दरबजारमा उत्साहजकन वातावरणमा सम्पन्न भएको छ । नेपाल अर्बुद रोग निवारण संस्था लमजुङ शाखाका उपाध्यक्ष तथा HDCS नमुना सामुदायिक अस्पतालको मनोबिमर्शदाता शोभा ठकुरीले अर्बुद रोग र लमजुङमा अर्बुद संस्थाद्वारा गरिआएका कामहरूको बारेमा जानकारी दिनुभएको थियो ।
सो अवसरमा क्यान्सर र HPV खोपको बारेमा HDCS नमुना अस्पतालका स्टाफ नर्स कमला गुरुङले जानकारी गराउनु भएको थियो ।
सयपत्री आमाविको हातामा गरिएको उक्त कार्यक्रममा सो विद्यालयको वार्षिकोेत्सव भएको कारण कार्यक्रममा उल्लेख्य संख्याको सहभागिता थियो । उक्त कार्यक्रममा नेपाल अर्बुद रोग निवारण संस्था लमजुङ शाखाका सल्लाहकार द्वय बाबुराम अधिकारी, ज्ञानेन्द्र शर्मासमेत सहभागी हुनुहुन्थ्यो ।
बेसीशहरको जिल्लास्तरीय कार्यक्रममा व्यानर फ्याकियो :
बेसीशहर नगरपालिका– २ को बालकल्याण माविका गरिएको जिल्लास्तरको कार्यक्रममा नेपाल अर्बुद रोग निवारण संस्था लमजुङ शाखाको उक्त कार्यक्रम सम्बन्धि व्यानर टागिसकेपछि पनि फ्याँकेर नयाँ नाटक मञ्चन गर्ने काम भएको छ ।
नेपाल सरकारले समेत नेपाल अर्बुद रोग निवारण संस्थाको केन्द्रमा केन्द्र र जिल्ला शाखा भएका जिल्लामा शाखासँग समन्वयमा उक्त खोप कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको थियो । सोही अनुसार आफूहरूले जिल्लाको प्रदेश जनस्वास्थ्य कार्यालय र पालिकामा पालिकाको स्वास्थ्य शाखासँग सहकार्य गर्न शाखाको बैठकले नै निर्णय गरेको थियो । तर बेसीशहर नगरपालिका– २ को बालकल्याण माविका गरिएको कार्यक्रममा भने नेपाल अर्बुद रोग निवारण संस्था लमजुङ शाखाको उक्त कार्यक्रम सुरु भइसकेपछि टागिसके व्यानर पनि झिकेर फ्याँक्ने काम भएको छ । यो व्यवहारले जनस्वास्थ्य कार्यालय तथा नगरपालिकाका पदाधिकारीहरूले के गर्न खोजेका हुन् ? भन्ने प्रश्न उजागर भएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरुङको सभापतित्वमा भएको उक्त कार्यक्रममा नगरपालिकाका मेयर उपमेयरका साथै प्रमुख जिल्ला अधिकारी तथा जनस्वास्थ्य कार्यालयका कर्मचारीको समेत सहभागिता थियो । तर सोही कार्यक्रममा सहकार्य गर्न गएका अर्बुदका पदाधिकारीलाई अपमान मात्र गरिएन व्यानर समेत टाँसिसकेको व्यानरसमेत फ्याँकियो । (संलग्न यी दुई फोटा त्यस्तो निन्दीय कार्यका साक्षी छन् ।) यस घट्नाले विभिन्न ओहादा धारीहरू आफ्नो जिम्मेवारी र कर्तव्यप्रति के कति सचेत छन् भन्ने समेत उजागर हुन पुगेको छ ।
यस घट्नाले गैससप्रति स्थानीय तह तथा प्रशासनले कस्तो दृष्टि राख्छन् !? भन्ने उदांगो भएको अर्बुद शाखाका जिल्ला सभापति नवराज पहाडीले बताउनु भएको छ । उहाँले हामी त स्वयम्सेवक हौं उनीहद्रको जस्तो भत्ता खाएर कार्यक्रम गर्न गएको पनि होइन भन्दै आक्रोश पोख्नु भएको छ । यिनले गर्ने काम कस्ले देखेको छैन ? सरकारका नाउँमा गरिने उही कामका लागि लाखौं खर्चेका हुन्छन् भने हामीले त्यही काम केही हजारमा गरिआएका प्रशस्त उदाहरण छन् आक्रोशपूर्ण शैलीमा उहाँले भन्नुभयो । उहाँका अनुसार जनस्वास्थ्यका प्रमुखले समन्वय गर्ने भनेको सो कार्यालयका व्यक्तिसँग कुराकानी गरी हाम्रो संस्थाका लागि १५ मिनेट बोल्न समय दिने समेत सहमति भएको थियो ।
पहाडीले भन्नुभयो, ‘गत वर्ष हामीले एकल रुपमै क्यान्सर दिवस(माविस्तरीय वक्तृत्वकला प्रतियोगिता गरी) मनाएका थियौं, यसपटक अर्बुदको केन्द्रले यो खोप लगाउने वातावरण बनाउनका लागि हामीले धेरै पहल गरेका छौं, त्यसैको एक परिणाम हो, त्यसैले सरकारकासँग सहकार्य गर्नु पर्छ भन्ने निर्देशन गरेको हुँदा गएको हो । हामी आफ्नो निरीहता प्रदर्शन गर्न गएको होइन ।
‘तर यो सैह्य रबैया होइन ।’ पहाडीले भन्नुभयो, ‘उही परिपत्रले सुन्दरबजार र दोर्दीमा त्यस्तो सहकार्य गरियो, केही भएन, हाम्रो सहभागिताले उहाँहरू झनै खुशी र उत्साहित हुनु भएको पाइयो । बेसीशहरमात्र ……. ।’
उक्त कार्यक्रमको अर्बुदको नेतृत्व गर्नु भएको शाखाका उपसभापति नवराज बरालले जिल्लाको प्रायः ठूला मान्छे भएको ठाउँमा मैले कुनै प्रतिक्रिया दिइन । अपमान भयो भन्ने लागेपछि जनस्वास्थ्य कार्यालयका प्रमुखलाई फोनमा जानकारी गराएँ, पछि छुट्टै कार्यक्रम गर्न भनिएको थियो तर मैले त्यसको औचित्य देखिन तर आफ्ना केही कुरा राखे उहाँले भन्नुभयो ।

प्रकाशित मिति २०८१ माघ २३, बुधबार ०६:५० गते