
बेसीशहर– गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले मानव स्वास्थ्य उपचारका लागि अपानइने तीन वटा पद्दति एलोपेथिक, आयुर्वेद र प्राकृतिक चिकित्सालाई समान रुपमा अघि बढाउने योजनामा सरकारको रहेको बताउनु भएको छ । उहाँले यस जिल्ला सदरमुकाम बेसीशहर स्थित प्रदेश अस्पताल लमजुङमा सुरु गरिएको सर्जिकल आइसियु सेवा र रेडियोलोजी सेवाका फागुन २५ गते उदघाटन गर्दै त्यस्तो बताउनु भएको हो ।
रेडियोलोजी सेवा गण्डकी प्रदेशमा नै यो पहिलो भएको उहाँले बताउनु भयो । उहाँले लमजुङ र पर्वतको अस्पताललाई प्रदेश सरकारले विशेष प्राथमिकताका राखेर काम गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अस्पतालमा भएको प्राविधिक टिम, अस्पताल व्यवस्थापन समितिको सक्रियता र भूगोलका आधारमा यी अस्पताल प्राथमिकतामा परेका हुन् ।’
उहाँले थप भन्नुभयो, ‘ऐले मानव स्वास्थ्य उपचारका लागि अपानइने तीन वटा विधि एलोपेथिक बाहेक आयुर्वेद र प्राकृतिक चिकित्साको पनि महत्व बढी रहेको सन्दर्भमा तीन वटै विधिलाई समान रुपमा अघि बढाउने प्रदेश सरकारको सोच र आफ्नो योजना रहेको छ ।’
आफूले पुरानै मन्त्रीले बनाएको बजेटका आधारमा आफूले काम गर्नु परेको उल्लेख गर्दै केही अस्पताललाई स्तरोन्नतिका लागि आफूले प्राथमिकतामा रोखेको जानकारी दिनुभयो । उहाँले लमजुङको अस्पतालमा आज सुरु भएको सेवालाई निरन्तरता दिन, जनशक्ति, प्रविधि लगायतमा कमी हुन नदिन विशेष ध्यान दिने समेत बताउनु भयो । उहाँले भन्नुभयो, ‘विरामीले निःशुल्क पाउने औषधि छैन भन्न मिल्दैन, स्वास्थ्यजस्तो संवेदशील विषयमा छैन भनेर छुट पाइन्न । त्यसको व्यवस्थापन जसरी पनि गर्नु पर्छ ।’
यदि नकारात्मक कुरा आयो भने त्यसले जनप्रतिनिधिको इज्जतका साथमा व्यवस्थालाई समेत असर गर्ने हुन्छ त्यसैले यस्ता विषयमा ध्यान दिन जरुरी छ मन्त्री पाठकले उल्लेख गर्नुभयो ।
उहाँले लमजुङ अस्पतालका लागि कम्तिमा अबको सय वर्ष पछिको स्थितिका लागि ध्यानमा राखी भवनको डिपिआर तयार गर्न समेत अस्पताल व्यवस्थापन समितिलार्ई निर्देशन दिनु भएको छ ।
सो कार्यक्रममा प्रजिअ बुद्धबहादुर गुरुङले प्रदेशमै पहिलो सेवा पाउने लमजुङ भएको थाहा पाउँदा गर्वको अनुभव भएको बताउनु भयो । उहाँले सेवालाई निरन्तरता दिन र गुणस्तीय बनाउने जरुरी छ भने । निःशुल्क पाइने औषधि नपाएको गुनासो बेलाबखत आउने गरेको छ, यस्तो सुन्ने स्थिति सिर्जना गर्नु भएन भन्ने उल्लेख गर्नु भयो ।
सो अवसरमा स्वागत मन्तव्य राख्दै उक्त अस्पतालका प्रमुख मेसु सुशील देवकोटाले करिब छ महिना अघि आइसियु सेवा सञ्चालन गर्न यो सेवाको आवश्यकता अनुभूति गरी सञ्चालन गर्ने सपना देखेका थियौं, आज त्यो सार्थक भएको बताउनु भयो । उहाँले यो सेवा सुरु गर्नुभन्दा पनि यसलाई स्तरयुक्त रुपमा निरन्तरता दिनु पर्ने चुनौति रहेको उल्लेख गर्दै त्यसका लागि प्रदेश सरकारको साथ सहयोग पाइरहने बताउनु भयो ।
उहाँले आइसियु सेवामा काठमाडौं महाराजगञ्ज स्थित टिचिङको सरहको सेवासुविधामा केही कमी भएता पनि सर्जिकल आइसियुमा भने त्यस अस्पतालमा उपलब्ध भए सरहको सुविधा दिनु पर्छ भन्ने आफूहरूले योजना रहेको र प्रयास भइरहेको सुनाउनु भयो । उहाँले भन्नुभयो ‘यी दुवै सेवाको परीक्षण एक महिना अघिदेखि सुरु गरेर सम्भव छ भन्ने लागेपछि आज उदघाटन गरिएको हो ।’ निकट भविष्यमा अर्थात आउँदो वर्ष अस्पतालमा सिटिस्क्यानको सेवा थप गर्नु पर्नेछ । यस अस्पतालबाट सबैभन्दा बढी रिफर हुने विरामस् सिटिस्क्यानका हुने हुँदा त्यो संख्या न्यून गर्नका लागि पनि यो सेवा थप गर्न आवश्यक छ भन्नुभयो ।
प्रदेश अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हरिजङ्ग तामाङको अध्यक्षतामा भएको उदघाटन समारोहमा उहाँले अस्पतालका समस्याहरू राख्दै सीमित स्रोत साधनका बाबजुत पनि स्तरयुक्त सेवा दिन आफूहरू लागि परेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामी अस्पतालको स्थापनाकालमा नै अधिग्रहण गरिएको ३५ रोपनी जग्गा आफ्नोमा ल्याउन लागि परेका छौं, यौटै मन्त्रालय अन्तरगत भनेर स्वास्थ्य कार्यालय वा रेडक्रसलाई अस्पतालले जग्गा दान गर्न सक्दैन’ उहाँले त्यसका लागि कानुनी उपचार खोज्न बाध्य हुनुपर्ने स्थिति नआओस् यसमा गण्डकी प्रदेश मन्त्रालयले उचिन निर्णय लिनु पर्छ भन्नुभयो ।
कार्यक्रममा प्रदेश अस्पताल, लमजुङ प्रदेशस्तरमा पहिलो भएको जानकारी दिइएको थियो । सो अवसरमा तीन व्यक्तित्व गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयका सचिव विश्ववन्धु बगाले, डा. ईशा गुरुङ र एचडिसिएचका संस्थापक निर्देशक तीर्थ थापालाई सम्मान गरिएको थियो ।
जिसस प्रमुख पूर्णबहादुर गुरुङ, एचडिसिएस नमूना सामुदायिक अस्पताल, सुन्दरबजारका प्रमुख हेमन्त श्रेष्ठ, डा. निशा गुरुङ लगायतले शुभकामना व्यक्त गर्नुभएको कार्यक्रमको सञ्चालन अस्पताल व्यवस्थापन समितिका सदस्य एवम् पत्रकार वासु थापाले गर्नु भएको थियो ।

प्रकाशित मिति २०८१ फाल्गुन २६, सोमबार ०६:४५ गते