
बेसीशहर– लमजुङ जिल्लाका क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियू) निर्वाचनको मतदान हुने तिथि चैत ५ गते नजिकिदै गर्दा स्थिति पेचिलो बन्दै गएको छ । त्यसो त जिल्लाको कुनै क्याम्पसमा निर्वाचन नहुने भएको छ भने केहीमा विद्यार्थीहरू प्रचारमा भिडी रहेका छन् । कुनै क्याम्पसमा भने नाम फिर्ता लिन उम्मेदवारहरूले दबाब झेली रहेका छन् ।
लमजुङमा सञ्चालनमा रहेको क्याम्पस संख्या हाल छ वटा रहेको छ । ती क्याम्पसहरूका स्ववियु निर्वाचनको ताजा स्थिति :
ईशानेश्वर क्याम्पस : कोही विद्यार्थी सम्पर्कमा छैनन्
मध्यनेपाल नगरपालिका– ६ को भोर्लेटार स्थित ईशानेश्वर क्याम्पसमा स्ववियु निर्वाचन नहुने भएको छ । त्यहाँ विद्यार्थी संघ संगठनले निर्वाचनका लागि नाम ददर्ता गरेको भएता पनि कुनै पनि समूहबाट उम्मेदवारी नपरेको जानकारीमा आएको छ ।
सो क्याम्पसका प्रमुख प्रकाश खनालसँग सम्पर्क गर्दा हामीले मिलेर निर्वाचन निर्विरोध गर्नु भन्ने विद्यार्थीलाई अनुरोध गरेका थियौं तर कोही पनि सम्पर्कमा आउनु् भएन उहाँले भन्नुभयो । उहाँका अनुसार सो क्याम्पसमा ऐले पनि निर्वाचित युनियन छैन । सो क्याम्पसमा आधिकारिक मतदाता संख्या ९८ रहेको छ ।
मंगला क्याम्पस : विद्यार्थीको चासो कम
मध्यनेपाल नगरपालिका– ३ को सोतीपसल स्थित मंगला क्याम्पसमा ७० जना मतदाता रहेका छन् । यो क्याम्पसमा नेविसंघको प्यानल र अखिल क्रान्तिकारीको एकजनाको मात्र उम्मेदवारी परेको बुझिएको छ । सो क्याम्पसका प्रमुख उदयचन्द्र कँडेलले विद्यार्थीहरूमा खासै चासो या रुचि देखिएको छैन । यसअघि पनि यहाँ युनियनको निर्वाचन भएको थिएन भन्नुभयो ।
लमजुङ क्याम्पस : तीन प्यानल चुनावी मैदानमा
लमजुङको सुन्दरबजारमा रहेको एकमात्र सरकारी क्याम्पसमा तीन प्यानलको उम्मेदवारी परेको थियो । त्यसमा अखिल क्रान्तिकारीका विवेक भट्टको टिमले उम्मेदवारी फिर्ता लिएपछि दुई प्यानलका बीचमा घम्साघम्सी पर्ने भएको छ । यो क्याम्पसमा मतदाता सूचिमा ४७३ जना रहेको उल्लेख छ ।
उक्त क्याम्पसमा नेविसंघको तर्फबाट असीम वस्तीको नेतृत्वको प्यानल चुनावी मैदानमा उत्रिएको छ भने अनेरास्ववियूको तर्फबाट अनुषा परियारको नेतृत्वको टोली(प्यानल) प्रतिष्पर्धामा उत्रिएको छ ।
लमजुङ क्याम्पस नेविसंघ र अखिलका विद्यार्थी बीचमा बारम्बार मारपिट भइरहने घट्नाले विशेष चर्चामा रहने गरेको छ । यो निर्वाचनको तयारीका क्रममा यो समाचार तयार गर्दा सम्म भने झडपका खबर आएका छैनन् । मतदान हुने दिनदेखि नतिजा घोषणा हुदासम्म शान्त रह्यो भने आश्चर्य हुनेछ ।
उक्त क्याम्पसमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसकेको छ । उम्मेदवारहरू प्रचारप्रसारमा जुटेका छन् ।
मातृभूमि क्याम्पस : दबाब झेल्दै उम्मेदवारहरू
सुन्दरबजार नगरपालिका– ७ मा रहेको मातृभूमि बहुमुखी क्याम्पसमा नेविसंघ र अनेरास्ववियु(अखिल)को प्यानल दर्ता भएको हो । तर आफ्ना साथीहरूलाई अनेक प्रकारका दबाब तथा प्रलोभन देखाएर नाम फिर्ता गर्न लगाइएको र अझै पनि फिर्ता गराउने ध्याउन्नमा राजनीतिक दल रहेको अखिलकी अध्यक्ष उम्मेदवार मन्दिरा अछामीले बताउनु भएको छ । उहाँका अनुसार भोलिका दिनसम्म नाम फिर्ताको म्याद राखिएको छ । अझै पनि साथीहरूले दबाब झेलिरहनु भएको छ । उहाँले भन्नुभयो, ‘प्रतीभा परियार र मञ्जु केसीले नाम फिर्ता लिइसक्नु भएको छ । कोषाध्यक्षका उम्मेदवार अनुशा कँडेल र सदस्य उम्मेदवार रेजिनाकुमारी विकले दबाब झेल्दै गर्नु भएको छ ।’
राजनीतिक दलका नेताहरू, वडाध्यक्ष लगायतका व्यक्तिहरूले हाम्रा साथीलाई उम्मेदवारी फिर्ता गर्नका लागि दबाब दिएको स्थिति छ अछामीले थप जानकारी दिनुभयो । उहाँका अनुसार अन्य क्याम्पसमा हिजै अन्तिम नामावली प्रकाशन गरिएको छ तर हाम्रोमा भोलिसम्मका लागि नाम फिर्ता लिने समय तोकेर मानसिक दबाब दिने काम भइरहेको छ ।
यसबारेमा क्याम्पस प्रमुख रामशरण ढुंगानासँग सम्पर्क गर्दा आज बिहान सहमतिको प्रयास गरिएको थियो । भएन, अब प्रक्रिया अघि बढ्छ उहाँले भन्नुभयो । नाम फिर्ता लिने समय सकिएको हैन र ? अन्य क्याम्पसमा त हिजै अन्तिम नामावली प्रकाशन भइसकेको सुनिन्छ त ? भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, ‘पहिलो र अन्तिम नामावली बाहेक सम्बन्धित क्याम्पसले आफ्नो अनुकुल गर्न सक्ने भन्ने भएको हुँदा हामीले नाम फिर्ता लिने समय भोलिसम्मका लागि राखिएको हो ।’ उहाँले दुई प्यानल पुरै निर्वाचनमा उत्रिएको जानकारी दिनुभयो ।
उक्त क्याम्पसमा नेविसंघबाट विशाल थापाको नेतृत्वमा प्यानलले स्ववियु निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएको छ ।
स्ववियू निर्वाचनका लागि उक्त क्याम्पसमा ८३ जना मतदाता रहेका छन् ।
भक्ति आदर्श क्याम्पस : मतदाताको अन्तिम सूचि तयार हुँदै
सुन्दरबजार नगरपालिका– ९ को भोटेओडारमा रहेको भक्ति आदर्श क्याम्पसमा सर्वपक्षीय सहमतिमा आजका दिनसम्म भर्नाको अन्तिम मिति तोकिएको हुँदा आज चैत २ गते ७, ८ जना भर्ना हुन आएको स्थिति छ । यसअघिको सूचिमा ८० जनाको नाम उल्लेख भएको क्याम्पस प्रशासनले जनाएको छ ।
उक्त क्याम्पसमा नेविसंघ र अनेरास्ववियुको प्यानल चुनावी मैदानमा छ भने अखिल क्रान्तिकारीकोतर्फबाट सचिवमा मात्र प्रमिला रेग्मीले उम्मेदवारी दिएको स्थिति छ ।
सो क्याम्पसमा नेविसंघका सुशील अधिकारीको प्यानल र अनेरास्ववियुका रजिना घलेको प्यानल चुनावी मैदानमा उत्रिएको छ ।
मर्स्याङदी बहुमुखी क्याम्पस : तीन प्यानल चुनावी मैदानमा
जिल्ला सदरमुकाम बेसीशहरमा रहेको जिल्लाकै QAA मान्यता प्राप्त एकमात्र मर्स्याङदी बहुमुखी क्याम्पसमा भने जिल्लाकै सर्वाधिक ५४९ जना मतदाता रहेका छन् ।
यो क्याम्पसमा तीन प्यानल चुनावी मैदानमा उत्रिएका छन् । नेविसंघबाट पूर्णबहादुर गुरुङको प्यानल चुनावी मैदानमा छ भने अनेरास्ववियुबाट मदन विकको प्यानल खडा भएको छ । त्यस्तै, अखिल क्रान्तिकारीको तर्फबाट आयुष सुनारको टिमले चुनावी प्रतिस्पर्धा गर्दैछ ।
जिल्ला सदरमुकाममा समेत रहेको एक मात्र यो क्याम्पस भएको हुँदा यो क्याम्पसमा हुने उक्त निर्वाचनले धेरैको ध्यान खिचेको छ । वर्तमान स्ववियूमा नेविसंघको प्यानल विजयी भए पनि त्यसअघि अप्रत्यासित रुपमा अनेरास्ववियुको प्यानलले स्ववियुमा अधिपत्य कायम गरेको थियो भने यो पटकको निर्वाचन परिणाम के हुने हो ? जान्नका लागि निर्वाचन परिणाम नै पर्खनु पर्ने स्थिति छ ।

प्रकाशित मिति २०८१ चैत्र २, शनिबार १०:५८ गते