
धुलिखेल(काभ्रे)– सहकारीको रकम अपचलन अर्थात ठगीको आरोप लगाइएका मध्ये २० जनालाई प्रहरीले पक्राउ गरेको छ । आरोपीमध्येनका ४६ जना फरार रहेको प्रहरीले बैशाख छ गते खुलासा गरेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेले विभिन्न तीन सहकारीमार्फत बचतकर्ताको रकम ठगी गरेको आरोपमा हालसम्म २० सञ्चालकलाई पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको छ ।
ठगीविरुद्ध जाहेरी परेका तीन सहकारीको अनुसन्धान सम्पन्न भई जिल्ला अदालतमा पेस गरिएको कार्यालयका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले बताउनु भयो । उहाँका अनुसार ती तीन सहकारीमध्ये गरुड सहकारीको १४ करोड, बनेपा स्थित पुण्यश्वरी बचत सहकारीको तीन करोड ८० लाख ९३ हजार ४१८ र युनिटी सहकारीको तीन करोड ५० लाख रुपैयाँभन्दा धेरै बचत फिर्ता नभएको अनुसन्धानबाट खुलेको छ ।
काभ्रेमा सात सहकारीका ६६ सञ्चालकविरुद्ध ठगीमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको सूचना अधिकारी घलेले जानकारी दिनु भयो । उहाँका अनुसार बाँकी चार सहकारीको अनुसन्धान जारी छ । उहाँले भन्नुभयो, ‘थप केही सहकारीविरुद्ध ठगीसम्बन्धी मुद्दा दर्ता गर्नका लागि अनुसन्धान भइरहेको छ ।’
जिल्लामा सहकारी ठगीबारे पछिल्ला केही महिनादेखि उजुरी तथा जाहेरी आउने क्रम बढ्न थालेको काभ्रेका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक वसुन्धरा खड्काले बताउनु भयो । उहाँका अनुसार सात सहकारीका ६६ जना सञ्चालकविरुद्ध मुद्दा परेकामा २० जनालाई पक्राउ गरिएको छ, बाँकी फरार छन् । उहाँले भन्नुभयो, ‘फरारको खोजी कार्य जारी रहेको छ, सहकारीमा भएको ठगीका उजुरी आउने क्रम जारी छ ।’
गरुड बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दम्पती बासुदेव खड्का र उनकी श्रीमती प्रतिमा पक्राउ :
पक्राउ पर्नेमा काभ्रेको बनेपा नगरपालिका– १० मा रहेको गरुड बचत तथा ऋण सहकारी संस्थाबाट २५ करोड अपचल गर्ने संस्थाका अध्यक्ष दम्पती समेत पाँच जना छन् । अध्यक्ष बासुदेव खड्का र उनकी श्रीमती प्रतिमा आचार्यलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले थुनामा राखेर अनुसन्धान गर्न आदेश दिइसकेको छ ।
अध्यक्ष खड्कालाई गत असोज १ गते जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको थियो । अदालतका प्रमुख जिल्ला न्यायाधीश राजेन्द्र नेपालको इजलासल उनीसहित पक्राउ परेका पाँच जनालाई पनि पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । सो सहकारीका बाँकी ८ जना फरार रहेको प्रहरीले जनाएको छ ।
खड्काका श्रीमान– श्रीमती मिलेर बचतकर्ताहरुको रकम हिनामिना गरेको भए पनि कानूनी र कागजी रुपमा संस्थामा संलग्न भएका आधारमा पक्राउ परेका अन्य तीन जनालाई पनि अदालतले थुनामा राख्न आदेश दिएको छ ।
सो सहकारीका उपाध्यक्ष बेदप्रसाद सिग्देल, कोषाध्यक्ष राजेश श्रेष्ठ, सचिव सलिना थापा र सदस्य दिपाकुमारी आचार्य छन् । त्यस्तै लेखा अधिकृत विदुर थापा, कर्मचारी अनु भण्डारी, कर्जा सहायक समुन सिग्देल र सेवा केन्द्र प्रमुख सरिता दाहाल फरार रहेको प्रहरीले जनाएको छ । तर खड्का दम्पतिमाथि सहकारीका कर्मचारी तथा संचालक कसैलाई पनि जानकारी नदिई एकलौटी रुपमा रकम हिनामिना गरेको आरोप छ ।
५२ जना बचतकर्ताहरुले दिएको उजुरीका आधारमा खड्का पक्राउ परेका थिए । 
युनिटी बचत तथा ऋण सहकारी संस्था लिको सञ्चालक समितिका अध्यक्ष कृष्णलाल र कोषाध्यक्ष पक्राउ :
यसैगरी, काभ्रेको बनेपा नगरपालिका– ८ को वाँख्योटोल स्थित युनिटी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समितिका अध्यक्ष कृष्णलाल शुद्दकार र कोषाध्यक्ष निरज राजवंशी पक्राउ परेका छन् । उनीहरूका विरुद्ध ३० जना बचतकर्ताले ठगी गरेको भन्दै जाहेरी दिएपछि प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।
बचतकर्ताले २ करोड ८३ लाख ११ हजार १६४ रुपैयाँ ठगीको मुद्दा दर्ता गरेको प्रहरीले जनाएको छ। दुवै जनालाई बनेपा– ८ बाट पक्राउ गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०८२ बैशाख ६, शनिबार २१:१० गते