कोटीहोम समापनमा गणतन्त्रभित्र हिन्दू राज्य घोषणा हुनुपर्नेमा जोड

कोटीहोम समापनमा गणतन्त्रभित्र हिन्दू राज्य घोषणा हुनुपर्नेमा जोड

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ असार १ गते आईतबार ०७:५८

कोटीहोममा करिब नौ करोड रुपैयाँ संकलन भएको कोटीहोमका संकल्पकर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिजी महाराजले बताउनु भयो । उहाँका अनुसार कोटीहोमको सबै हिसावकिताव असार भित्रै फरफारक गरिने, पत्रकार सम्मेलन र सार्वजनिक सुनुवाई गरेर आयव्यय सार्वजनिक गरिने छ ।

कोटीहोममा करिब साढे ४० लाख भक्तजन सहभागी भएको आयोजकको दावी छ ।

पोखरा– श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ समापन भएको छ । कोटीहोम समापनमा गणतन्त्रभित्र हिन्दू राज्य घोषणा हुनुपर्नेमा जेठ ३१ गते जोड दिइएको हो ।
सो अवसरमा ६१ दिन लामो कोटीहोममा करिब साढे ४० लाख भक्तजन सहभागी भएको आयोजक मानव सेवा फाउण्डेशनले जनाएको हो । कोटीहोम समापनसँगै भागवत मञ्जरी राधिका दासीको भावविह्वल हुँदै भव्य बिदाई गरिएकोछ । दासीले जेठ १७ देखि समापनसम्म श्रीमद्भागवत कथा वाचन गर्नुभएको थियो ।
कोटीहोममा करिब नौ करोड रुपैयाँ संकलन भएको कोटीहोमका संकल्पकर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिजी महाराजले बताउनु भयो । उहाँका अनुसार कोटीहोमको सबै हिसावकिताव असार भित्रै फरफारक गरिने, पत्रकार सम्मेलन र सार्वजनिक सुनुवाई गरेर आयव्यय सार्वजनिक गरिने छ । उहाँले भन्नुभयो, ‘कोटीहोमको केही आम्दानी मानव सेवा फाउण्डेशन, छोरीको घर र मानव कल्याणमा लगाइने छ, समापन कार्यक्रममा कोटीहोम सम्पन्न गर्न सघाउने सबैप्रति आभार व्यक्त गर्दछु ।’
समापनमा कोटीहोमका सहसंयोजक युवक लामिछानेले गणतन्त्रभित्र हिन्दू राज्य घोषणा हुनुपर्नेमा जोड दिनु भयो । उहाँले मामाघर अनाथ आश्रम बनाउनका लागि पाँच लाख, कोटीहोमका लागि एक लाख २५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्नु भएको थियो । उहाँका अनुसार कोटीहोममा आयोजित रक्तदानमा नौ सय छ युनिट रगत संकलन भएको छ ।
सम्पन्न कोटीहोममा हालसम्मकै ठूलो धनराशि पुरस्कार भएको राष्ट्यि भजन प्रतियोगिता तथा वक्तृत्वकला सञ्चालन भएको थियो । त्यस्तै, जेठ २६ गते पूर्णाहूति भएको हवनमा चार सय ब्राम्हणद्वारा एक करोड ५० लाख हवन भएको प्रचारप्रसार संयोजक लोकराज ढकालले बताउनु भयो । उहाँका अनुसार कोटीहोम सफल भएको भन्दै पोखराका कृष्णराज अधिकारीले आठ मिनेट २५ सेकेण्ड लामो शंखघोष गर्नु भएको थियो ।
कोटीहोमका अवसरमा एक सय ३५ जनाको चौरासी पूजा, एक सय २० जनाको तुलादान, पाँच सय २५ जनाको ब्रतवन्ध, एक सय ४६ जनाको नवग्रह शान्ति, १४ जनाको काल सर्प योग पूजा, पाँच जनाको अर्क विवाह, अष्ट महादान चार, पितृको अर्चना ३३, लघु रुद्री पाँच, अति रुद्री १८, विवाह एक, गुन्यू चोली पाँच, लाखवत्ती सेवा २२ अन्य पूजा ४५ जनाले गरेको, कोटीहोमको हवन पूर्णाहूतिमा २१ करोड दीप प्रज्ज्वलन गरिएको थियो । अधिकारीले शंखघोषसँगै हिन्दूराष्ट् नेपालको समेत उद्घोष गर्नु भएकोथियो । यसैगरी, तालबाराही मन्दिरमा एक हजार आठ नरिवल अर्पण गरिएको थियो ।
हवन कुण्डमा वैशाख १९ गते बिहान ७ बजेर १५ मिनेटमा यज्ञ कुण्डमा अग्नि प्रवेश गराइएको थियो । त्यसअघि ६ बजेर ४५ मिनेटमा विधिवत् रूपमा अग्नि मन्थन गरिएको थियो । त्यस्तै, ७ बजेर १९ मिनेटमा अग्निमा समीधा दान र ८ बजेर ५ मिनेटमा अग्नि कुण्डमा आहुति प्रदान गरी शुरु भएको थियो ।
कुण्डमा तीन, तीन जना ब्राम्हणले हरेक दिन भगवती गायत्री मन्त्र विधिबाट हवन गरेका थिए । कोटीहोममा एक सय आठ भागवत महापुराण पाठ परायण, चार वेद पाठ परायण, सप्तचण्डी, अति रुद्री, मन्त्र जपलगायतमा ब्राम्हणले पाठ गरेको प्रचारप्रसार संयोजक ढकालले उल्लेख गर्नुभयो । उहाँका अनुसार कोटीहोममा भागवत मञ्जरी राधिका दासी, अन्तर्राष्ट्यि कथा वाचिका देवी प्रतिभा, अनुराधा पाण्डे, व्यासाचार्य प्रशान्त कृष्ण परांकुश, वाचन प्रवीण पं. दिनबन्धु पोखरेल, युवा दार्शनिक चैतन्यकृष्ण महाराजलगायत साधु सन्तले महायज्ञमा कथा वाचन गरेका थिए ।
कोटीहोम पोखरा– १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर र स्थानीयको जग्गामा वैशाख १७ देखि जेठ ३१ सम्म सञ्चालन भएको थियो । यसअघि कोटीहोम जेठ २६ गते समापन हुने भनिए पनि भक्तजनको चापका कारण समयावधि थप भई ३१ गतेसम्म सञ्चालन भएको हो ।

प्रकाशित मिति २०८२ असार १, आईतवार १९:५८ गते
हजुरको प्रतिक्रिया